Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

राजश्व कार्यालय सुर्खेतमा : न भौतिक दुरी न सुरक्षा सामग्री

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको आन्तरिक राजश्व कार्यालयमा न सामाजिक दुरी कायम छ न आधारभूत स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग भएको छ । उक्त कार्यालयमा अहिले थेगिनसक्नु भीड छ । राजश्व कार्यालयमा आउने सेवाग्राहीहरुले कोरोनाबाट बच्नका लागि गर्नुपर्ने स्वास्थ्य सुरक्षामा ध्यान नदिएपछि कार्यालयमा काम गर्ने कर्मचारीहरु समेत त्रसित छन् ।


आन्तरिक राजश्व वीरेन्द्रनगरमा विहान १० बजेलगत्तै सेवाग्राहीको भीड लाग्ने गर्दछ । साँघुरो ठाउँमा रहेको कारण यहाँ दूरी कायम गराउन पनि निकै गाह्रो छ । कार्यालयसँगै जोडिएको कृषि विकास बैंकको राजश्व संकलन काउन्टर छ । राजश्व जम्मा गर्नेहरु न लाइनमा लाग्छन् न कुनै टोकन सिष्टम नै छ । दूरी कायम गराउने तर्फ पनि बैंकका कर्मचारीहरुले कुनै चासो नै देखाउँदैनन् ।

‘लाइन बसेको १५ मिनेट भइसक्यो, अझै कतिबेलासम्म बस्नुपर्ने हो ठेगान छैन,’ एक सेवाग्राहीले भने । ‘२ मिनेटमा भाइरस सर्छ, यहाँ दूरी कायम पनि छैन, यहाँ कसैलाई भए सबैलाई लाग्छ तर सरकारलाई कर भए पुगिहाल्यो’ लेकबेशी नगरपालिका ९ बाट आएका लाल बहादुर घर्ती कड्किए ।


उनी प्रतिनिधि पात्र मात्र हुन् । सबैको भनाइ उस्तै छ । सबै गत आर्थिक वर्षको कर तिर्न आएका हुन् । नतिरी पनि हुँदैन । भोलि सरकारले करकै विषयलाई लिएर कारबाही गर्ला कि भन्ने चिन्ता पनि छ ।

कमसे कम दुरी कायम गराएर सेवा दिएको भएपनि हुने । त्यस आन्तरिक राजश्व कार्यालय सुर्खेतले त्यसो पनि गर्न सकेको छैन । कर्णाली प्रदेशका दैलेख र सुर्खेत उच्च जोखिममा रहेका जिल्ला हुन् । यसरी भौतिक दुरी कायम नगर्ने हो भने कोरोनाबाट निम्तिन सक्ने खतरा भने भयावह हुन सक्छ ।