Loading... आजः २ बैशाख २०८३, बुधबार । Wednesday 15th April 2026
ताजा खबर
  

कोरोना जित्नेहरु समाजसँग हार्ने डरमा

कर्णालीमा थपिए ८, निको भए ५

सुर्खेत ।
विश्वमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसले मान्छेको स्वास्थ्य र विश्वको अर्थतन्त्रलाई मात्र छिया–छिया बनाएन । मान्छेको मनलाई समेत छिया–छिया बनाएको छ । कोरोनाले छुने हो कि भन्ने डरले संयमता अपनाउँदा अपनाउँदै पनि अचानक छोएको कोरोनालाई जित्नेहरु पनि समाजसँग हार्ने डरले थर–थर भएका छन् ।


जेठको अन्तमा भारतबाट आएका सुर्खेत चौकुनेका ३३ वर्षिय पुरुषले कोरोनालाई जिते । कोरोना जितेपछि नयाँ जीवन पाएकोमा खुसीले गद्गद् भएका उनी जब आफ्नो गाउँमा फर्के तब समाजले उनलाई स्वीकार्न सकेन । उनले कोरोना जितेको र अहिले आफू कोरोना संक्रमित नभएको बताएपनि घर छिमेकमै रहेको पसलमा चाउ–चाउ किन्न पाएनन् । आफूले कोरोना जितेकोले यसबाट सचेत हुनुपर्ने तर खासै डराउनु नपर्ने बताउँदै आएका ती युवालाई आफ्नै छिमेकीले समेत उनी कोरोना पोजेटिभ होलान् झैँ गरे । कोरोना जितियो तर गाउँ समाजको मन जित्न सकिएको छैन, उनले भने ।

यस्तै सुर्खेतको वीरेन्द्रनगर ९ का ५४ वर्षिय पुरुष कोरोनालाई जितेपछि घर फर्किए । उनी घरमा पुगेपछि २५ दिन सेल्फ क्वारेन्टाइनमा समेत बसे । अहिले उनी पूर्ण रुपमा स्वस्थ छन् । उनलाई देख्दा समाजका कोहीले कोरोना जितेर आएको भन्दै आँखाको इशारामा कुरा गर्ने गर्दछन् भने कोहीले सञ्चो भएकोमा बधाई पनि थिए । उनी सामान किन्नका लागि पसलमा जाने हो भने पनि फरक व्यवहार गर्ने गरेको उनको अनुभव छ ।

यसैगरि दैलेखको आठबीस नगरपालिका ६ का एक युवकले पनि कोरोना जिते । कोरोना जित्नका लागि आफ्नो आत्मबल बढाउनु पर्ने र दैनिक कार्यमा ध्यान दिन सक्ने हो भने त्यत्ति गारो नहुने भएपनि समाजको मन जित्न भने गा¥हो हुने उनको अनुभव छ । अस्पतालबाट डिस्चार्ज भई घर गएर २३ दिन होम क्वारेन्टाइनमा बसेपछि मात्र उनी घर बाहिर आएका थिए । तर पनि उनलाई कोरोना नै छ कि भनेर उनी बाहिर निस्किँदा छिमेकीको पसल नै बन्द हुनुले उनको मन नराम्रोसँग कुँडियो । आफूले देखे भोगेका कुराहरु समाजमा सचेतनाका रुपमा बाँड्न चाहेको भएपनि समाजले उनलाई त्यो अवसर नै प्रदान गर्न सकेन । उनले भने, ‘म मात्र होइन मेरो घरपविार समेत समाजका हेलाको पात्र जस्तै बनेका छन् ।’

यी त उदाहरणीय पात्रहरु मात्र हुन् । कोरोना जितेर घर फर्केकाहरु समाज जित्न नसक्ने डरले पिरोलिएका छन् । कोरोना संक्रमित भएर निको भएकाहरु मात्र होइन सबै सचेत हुनु पर्ने र सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्न आवश्यक रहेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोभिड –१९ फोकल पर्सन डा. प्रदीप न्यौपानेले बताए । कसैले पनि कसैलाई भेदभाव गर्न नहुने डा. न्यौपानेको भनाई छ ।

यसैगरि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ८ जना नयाँ संक्रमित पुष्टि भएको छन् । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको परीक्षणमा ५ जना र दैलेख अस्पताल दैलेखमा भएको परीक्षणमा ३ जना नयाँ संक्रमित पुष्टि भएका हुन् । नयाँ ८ जनासँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २ हजार ६५ पुगेको छ ।


यसैगरि पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् । हालसम्म कर्णाली प्रदेशमा निको भइ डिस्चार्ज हुनेको संख्या १ हजार ९१३ पुगेको छ । कर्णाली प्रदेशमा सक्रिय विरामीको संख्या १४६ रहेको महाशाखाले जनाएको छ ।