Loading... आजः ४ बैशाख २०८३, शुक्रबार । Friday 17th April 2026
ताजा खबर
  

८७ वर्षिय हजुरआमालाई निको भयो कोरोना

सुर्खेत ।
दैलेख महाबु गाउँपालिका १ कि ८७ वर्षिय एक हजुरआमा विरामी भएपछि उच्च रक्तचाप हो कि भन्ने शंकाले उहाँकी बुहारीले अस्पतालमा लैजानु भयो । अस्पताल लगेपछि उहाँलाई कोरोना पोजेटिभ देखियो । त्यसपछि भने उहाँकी बुहारीलाई चिन्ता लाग्यो । यो उमेरकी सासुआमालाई यस्तो रोग लागेकोले सेवा नै गर्न नपाइने हो कि भन्ने लागेको उहाँकी बुहारीले बताउनु भयो ।


तर पछिल्लो पटक गरिएको परीक्षणमा सासुआमाको रिपोर्ट नेगेटिभ आएपछि उहाँको खुसीको सिमा नै रहेन । ‘तातोपानी, अदुवा, टिमुर तथा बेसार पानी पनि खुवाएँ’ उहाँकी बुहारीले भन्नुभयो ।

‘कोरोना लागेमा मरिन्छ भन्ने सुनेकाले अब यसैका कारण मरिन्छ कि भन्ने डर थियो तर धेरै बाँचेका छन् तपाईंलाई केही हुँदैन भन्दै डाक्टरहरुले पनि हौसला दिए । मैले पनि आत्मबल बढाए र बाँचे’ ८७ वर्षिया हजुरआमाले खुसी हुँदै भन्नुभयो । ‘म बुढि त बाँचे तपाईंहरु त सञ्चो हुनुहुन्छ, चिन्ता नगर्नुहोस् मेरो आर्सिरवाद छ’ भन्दै उहाँ अस्पतालबाट बाहिरिनु भएको थियो । ‘रोग लाग्न नदिनु राम्रो हो तर रोग लाग्दैमा मरिहालिन्छ भन्नु हुँदैन’ हजुरआमाको कथन थियो ।

उहाँ अस्पताल आउँदा अन्य रोगको पनि समस्या थियो तर फर्किदा पूर्ण निको हुनुभएको प्रदेश अस्पताल सुर्खेतका डा. लोकराज कँडेलले बताउनु भयो । ‘सुरुमा हामी समेत डराएका थियौ । उमेर पनि निकै भएको र अन्य रोग समेत भएकाले हामीलाई पनि चुनौति थियो तर डा. प्रदीप न्यौपानेको निगरानीमा उपचार गरियो र उहाँ निको हुनुभयो हामी पनि असाध्यै खुसी छौ’ डा. कँडेलले भन्नुभयो ।