Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

आज हरितालिका तीज

सुर्खेत  ।

हिन्दू नेपाली महिलाहरूले शुक्रबार महत्वपूर्ण चाड तीज मनाउँदै छन् । यो पर्वमा भदौ महिनाको शुक्ल पक्षको प्रतिपदाका दिन आफ्ना चेलीबेटीहरूलाई बोलाई द्वितीयाको दिन आफ्नो सामथ्र्यअनुसार मिठा–मिठा खाद्यवस्तुहरू तयार गरिन्छ र प्रेमपूर्वक उनीहरूलाई खुवाइन्छ । भाद्र महिनाको शुक्लपक्षको तृतीयाको दिन तीज हो । प्रतिपदाबाट पञ्चमीसम्मका दिनलाई समन्वितरूपमा तीज भने पनि खास तीजचाहिँ यसै दिनलाई मानिन्छ । यो दिन महिलाहरू निराहर व्रत बस्छन् ।

फाइल फोटो

भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।

साउने संक्रान्तिदेखि तीजको रौनक सुरु हुने भए पनि कोरोना संक्रमणका कारण यो वर्ष तीजलगायत अन्य पर्व खुलेर मनाउन पाइएको छैन । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण  चाडपर्वदेखि सबै कुरा अस्तव्यस्त छन् । समुदायमा कोरोना फैलिएपछि धेरैजसो स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

तीजमा खासगरी भगवान् शिवको आराधना गरिन्छ । यसको अर्को पक्ष नाचगान र मनोरञ्जन हो । नेपालका प्रायः सबै समुदायका महिलाहरूले मनाउने साझा पर्वका रूपमा विकास भइरहेको पर्व हो तीज । बहुसांस्कृतिक पर्वका रूपमा विकसित भइरहेको तीज हिन्दू महिलाहरूमा मात्र सीमित नरही सबै धर्म–जातिका महिलाहरूले मनाउने साझा पर्वका रूपमा विकसित भइरहेको छ । नेपालीहरूका ठूला चाड दशैँ र तिहारपछिको तेस्रो ठूलो चाडका रूपमा स्थापित हुँदै गएको छ यो पर्व ।

यो चाड मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै–कुनै प्रान्तमा पनि मनाउने गरेको पाइन्छ । तीजमा तीजसम्बन्धी गीतको चर्चा पनि हुने गर्दछ । तीज गीतमार्फत आफ्ना मनका भावना पोख्ने पर्वको रूपमा परिचित छ । तर, पछिल्ला समयमा भने तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो कि भन्ने चिन्तासमेत थपिएको छ ।

प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई आफ्नो पति पाऊँ भनी पहिलो पटक ब्रत बस्नुभएको थियो । सोही मान्यताअनुसार पति नभएकाले राम्रो पति र विवाहितले पतिको दीर्घायुको कामना गर्दै व्रत बस्ने प्रचलन रहिआएको छ । यस दिन बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको पूजा आराधना गर्ने प्रचलन छ ।

तीजको दिन बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरलगायत देशभरमा शिवालयहरूमा विगतका वर्षमा महिला ब्रतालुको ठूलो भीड लाग्ने गरेको भए पनि यो वर्ष भने कोरोना संक्रमणका कारण विगत केही महिनादेखि देशभरका अधिकांश मठ मन्दिर बन्द गरिएका छन् ।

यसपालीको हरितालिका तीजमा बाहिर नगई घरभित्रै उपबास बसेर मनाउने तयारीमा रहेको बताउनुहुन्छ, अनामनगरकी स्थानीय विष्णु पौड्याल । गतवर्ष घरमै दिदीबहिनी बोलाएर तीजको दर खुवाए पनि यो वर्ष भने त्यस्तो नगरेको उहाँ बताउनुहुन्छ । देशभर कोरोनाका संक्रमित दिन प्रतिदिन बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गर्नु सकारात्मक रहेको उहाँको तर्क छ ।

ज्यो. पं. भरतमणि मरासिनीले मन्दिर जान नपाए पनि घरभित्रै पूजाआराधना गरेर यस पर्वलाई मनाउन सकिने बताउनुभयो । ‘भगवानको आराधना जहाँ गर्दा पनि हुन्छ मन्दिर नै जानुपर्छ भन्ने छैन’, उहाँले भन्नुभयो ।

देशव्यापी रूपमा कोरोना महामारीको प्रकोप तीव्र फैलिँदै गएकाले विगतका वर्षहरूमा जस्तै सामूहिक नाचगान र भेला नगरी जहाँ छौं, त्यहीँ सुरक्षित रहेर  फोन, भाइबर, फेसबुक, इमो, ह्वाटसप, जूमलगायतका प्रविधिको माध्यमबाट पर्व मनाऔँ । यसको अरु विकल्प छैन । नेपाली महिलाहरूको महान् पर्व तीजको अवसरमा सम्पूर्ण महिला दिदी बहिनीमा हाम्रो  तर्फबाट पनि हार्दिक मंगलमय शुभकामना ।