Loading... आजः ५ जेष्ठ २०८१, शनिबार । Saturday 18th May 2024

विदशेबाट आउनेलाई क्वारेन्टिनमा राख्ने होटलको सूची सार्वजनिक

काठमाडौं।

विदेशबाट चार्टर्ड उडानमार्फत् स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि सरकारले होटलको सूची र मूल्य सार्वजनिक गरेको छ।

पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका होटलमा ३ हजार ५०० बेड क्षमता छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत रमा घिमिरेका अनुसार सामान्यदेखि ५ तारेसम्मका होटलको सूची सार्वजनिक गरिएको छ।

सार्वजनिक गरिएका होटलहरुमा पाँच तारे होटलमा एक दिनको एकल ९ हजार र २ जना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति ६ हजार तोकिएको छ। यस्तै ४ तारे होटलमा एक दिनको एकल ८ हजार र २ जनाको हकमा प्रतिव्यक्ति ५ हजार ५ सय तोकिएको छ।

यस्तै ३ तारे तथा डिलक्स रिसोर्टमा एक जनाको ६ हजार र २ जनाको हकमा प्रतिव्यक्ति ५ हजार, २ तारेमा एकल ५ हजार र २ जना भएमा प्रतिव्यक्ति ३ हजार ५ सय तोकिएको छ।

१ तारेमा एकल ४ हजार र २ जना भएमा प्रतिव्यक्ति २ हजार ५ सय तथा पर्यटकस्तरको होटलमा एकल २ हजार ८ सय र २ जना भएमा प्रतिव्यक्ति एक हजार ८ सय शुल्क तोकिएको छ।

पर्यटकस्तरको होटलका लागि दिनको ४ पटक दिइने खानाको मेनु पनि तोकिएको छ। पर्यटकस्तरको होटलले क्वारेन्टिनमा बस्ने व्यक्तिलाई बिहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ। तारे होटलले खुवाउने खाना आफ्नै ढंगको हुनेछ।

जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यही भदौ २ गते कोभिड–१९ विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टिनमा बस्ने व्यक्तिलाई राख्न होटल सूचीकृत गर्ने निर्णय गरेको थियो।

सोही निर्णयका आधारमा पर्यटन विभागले बिहीबार क्वारेन्टिन प्रयोजनार्थ होटलको विवरण र मूल्य जिल्ला प्रशासन कार्यालय काठामाडौंलाई उपलब्ध गराएको थियो।

पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नसक्ने क्षमता भएका होटललाई क्वारेन्टिनका रूपमा प्रयोग गर्न सूचीकृत गरिएको जानकारी दिए।

होटल व्यवसायी महासंघ, होटल एसोसियसन तथा व्यवसायीसँग छलफल गरेर क्वारेन्टिन होटलको सूची सार्वजनिक गरिएको उनको भनाइ छ।

पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिने छ।