Loading... आजः ५ बैशाख २०८१, बुधबार । Wednesday 17th April 2024

यसपालीको तीज सुनसान र खल्लो

काठमाडौँ |

कोरोनाले गर्दा भीडभाड गर्ने माहोल छैन । काठमाडौं उपत्यकामा लागेको निषेधाज्ञाको दोस्रो दिन हिन्दु महिलाहरुले हरितालिका तीज । यो वर्ष पोहोरजस्तो भेला भएर नाचगान गर्ने अवस्था भएन । तीजको १ महिनाअगाडि नै दर खाने कार्यक्रम पनि भएन ।

सबैले घरभित्र थुनिएर सिमित आफन्तबीच तीज मनाए । धेरैले माइतीको आँगन टेक्न पाएनन् । तर, महामारीको त्रासबीच पनि रमाइलो गर्नेहरुले भने रमाइलो गर्न छोडेनन् । केवल यसको शैली र मात्रामात्र फरक रह्यो ।

महामारीबीचको तीज कस्तो रहृयो त ? अधिकांशको एउटै जवाफ, ‘यसपालीको तीज खल्लो भयो ।’

अभिनेत्री दीपिका प्रसाईंको यो वर्षको तीज पति दीवाकर भट्टराईसँगै बित्यो । यो उनको बिहेपछिको दोस्रो तीज । माइती जान पाइनन् । ब्रत बसेकी थिइन् । समूह भेला गरेर नाचगान सम्भव नभएपछि उनले घरैमा तीजका गीत बजाएर कम्मर मर्काइन् । दुवैजनाले फोटो पनि खिचे । यो वर्षको तीज खल्लो भएको दीपिका बताउँछिन् । ‘यसपालीको तीज अघिल्लो सालभन्दा खल्लो भयो । अरुबेला एकदम रमाइलो हुन्थ्यो,’ उनले सुनाइन्, ‘यसपाली दर खाने कार्यक्रम पनि भएन । यस्तो अवस्थामा बाहिर निस्कनु पनि भएन ।’

अघिल्ला तीजहरुमा साथीसंगीसँग भेटघाट गरेर रमाइलो गर्थिन् दीपिका । यसपाली ती ‘क्षण’हरु मिस भएको उनी बताउँछिन् । ‘घरमा हामी दुईबाहेक कोही तेस्रो व्यक्ति पनि छैन । त्यसैले सुनसान भयो, यो तीज,’ उनले बताइन् ।

कुनैबेला तीजको सिजनमा म्युजिक भिडियोबाटै लाखौं कमाउने मोडल करिश्मा ढकाल यो तीज सुनसान भएको बताउँछिन् । ‘तीज पहिलाको जस्तो भएन । पहिला त धेरैजना हुन्थ्यौं । यसपाली त आमा, म बुवा र दाइहरुसँग बसेर मनाइयो,’ उनले भनिन्, ‘परिवार भेला हुँदा पनि यतिको रमाइलो हुँदो रहेछ भन्ने भएको छ ।’

तीजमा करिश्मा कहिल्यै घरमा बस्न पाउँदिन थिइन् । स्टेज कार्यक्रमका लागि विदेशमै हुन्थिन् सधैं । अघिल्लो वर्ष पनि उनी दुबईमा थिइन् । यो वर्ष कोरोनाले परिवारसँग तीज मनाउने मौका जुराइदिएको उनी बताउँछिन् । अघिल्लो तीजमा ६० वटा तीज गीतमा अभिनय गरेकी करिश्माले योपटक जम्मा १२ वटा तीज गीतमा अभिनय गरिन् ।

गत वर्ष गायिका राधिका हमाल तीज कार्यक्रममा गाउँदै दर्शक नचाउँदै हुन्थिन् । यसपटक त्यो माहोल बनाउन सम्भव नभएको उनी बताउँछिन् । यसपाली उनले भर्चुअल तीज मनाइन् । ‘धेरै साथीहरुसँग मेसेन्जरमा भिडियो कल गरेर मनाइयो । गाउँदेखि दिदीबहिनीसँग यसरी भेटघाट भयो । तीजको शुभकामना आदनप्रदान गरियो । नाचगान भएन । भर्चुअल तीजको नयाँ अनुभव गरियो,’ उनले बताइन् ।

पोहोरको तीज मिस भएको उनी बताउँछिन् । ‘मिस त भइहाल्दो रहेछ । यात्रा गर्दै तीज मनाइन्थ्यो । त्यो सम्झना त भइहाल्छ तर त्यो सम्झना सम्झेर दुखी हुनु हुँदैन,’ उनी सुनाउँछिन्, ‘बाँचेपछि त नाचिन्छ । नाच्नलाई अर्को वर्ष छँदैछ ।’

यसपटकको तीजमा दर्जन बढी गीत सार्वजनिक गरेकी उनी यसपालीको तीज पोहोरजस्तो नभएको बताउँछिन् । ‘धेरै दर्शकसँग कार्यक्रम गरेर मनाएजस्तो त भएन । यसपटक पनि नराम्रो भएन । अरु दिदीबहिनी नाचेको देखिएन । व्यस्त मन्दिर पनि सुनसान देखियो,’ उनले सुनाइन्, ‘जे होस् कोठाभित्र बसेर आनन्दको तीज मनाइयो ।’

अभिनेत्री स्वस्तिमा खड्का तीजमा प्रायः सुटिङमै व्यस्त हुन्थिन् । उनी खासै तीज मनाउँदिनन् । ब्रत पनि बस्दिनन् । यसपालीको तीज घरमै बितेको उनी सुनाउँछिन् । ‘म त्यस्तो तीज मनाउँदिनँ पनि । केही नगर्नेभन्दा पनि तीजको दिन तीजको भाइभ्स आउँथ्यो, यसपाली केही भएन,’ उनले सुनाइन् ।

अभिनेत्री वर्षा सिवाकोटी पनि खासै तीज मनाउँदिनन् । यसपाली कोभिडले गर्दा घर छिमेक तीजमा पनि सुनसान भएको उनले बताइन् ।

८ वर्षदेखि तीजको ब्रत बस्दै आएकी अभिनेत्री केकी अधिकारी योपटक पनि ब्रत बसिन् । आमासँग दर पकाइन् । उनको घरमा नाचगान भएन, छिमेकीकै नाचगान हेरेर रमाइलो गरिन् । यसपाली तीजले धेरै कुरा सिकाएको उनी बताउँछिन् । ‘खुशी त आफैंभित्र हुन्छ नि । आफैंभित्र पनि रमाउन सकिन्छ भनेर सिकाएको जस्तो लाग्छ यो तीजले । यो समय सँधै रहँदैन, कटेर जान्छ । अर्कोपटक घरबाट निस्कन पाउँ, मनको डरबाट निसक्न पाउन भन्ने कामना छ,’ उनले भनिन् ।

यसपालीको तीज ऐतिहासिक भएको केकी बताउँछिन् । यो तीज जीन्दगीभरको लागि यादगार रहने उनको भनाई छ । ‘योपटकको तीज जिन्दगीभरको लागि यादगार तीज हुन्छ होला । अरुबेलाको तीज त बिर्संदै गइन्छ होला । योचाहिँ ऐतिहासिक तीज हुन्छ । योपटक पशुपति पनि सुनसान देखियो । खल्लो पनि लाग्यो,’ उनले भनिन् ।

अभिनेत्री वर्षा राउत अन्य तीजमा मन्दिर गएर पुजा गर्थिन् । यसपटक मन्दिर जान सम्भव भएन । ‘मन्दिरमा पूजा गर्न जान्थ्यौं । त्यहाँ नाचगान हुन्थ्यो । यसपाली त्यो मिस भयो,’ उनले सुनाइन् । कोभिडकै कारण माइत पनि जान पाइनन् । घरमै बसेर पुजा गरिन् । नाचगान भने नभएको उनी बताउँछिन् ।

केही समय अगाडि युट्युबबाट हटाइएको तीज गीत ‘नो ब्रत प्लिज’ पनि टोलटोलमा घन्कियो । दिदीबहिनीहरुले यो गीतमा कम्मर मर्काएको पनि देखिन् गायिका सोफिया थापाले । यसरी महिलाहरुले आफ्नो गीतमा नाचेको देख्दा निकै खुशी लागेको उनी बताउँछिन् ।

हुन त यो गीत सार्वजनिक गरेपछि उनलाई अनेक आक्षेप लगाउनेहरु पनि थिए । उनले फेसबुकबाट बिहानै सबैलाई तीजको शुभकामना व्यक्त गर्दै आफू हिन्दु महिला नै बताइन् । ‘धेरैले मलाई मुस्लिम भन्नु भयो । तीजै नमान्ने भन्ने नसोचुन् भनेर फेसबुकबाट तीजको शुभकामना दिएँ,’ उनले सुनाइन् ।

उनले तीजको अघिल्लो दिन आमासँग बसेर दर खाइन् । तीजमा घरमा नाचगान भयो । नाचगानमा आमालाई साथ दिइन् सोफियाले । ‘आमा तीजको दिनमा मन्दिर जानु हुन्थ्यो पहिला । म कतै जान्दिन थिएँ । म आफ्नै अनुसारले मनाउँछु । मनाउँदिन भन्ने होइन,’ उनले भनिन्, ‘यसपाली सबै घरभित्र बस्नु पर्‍यो । अलिकति खल्लो भयो । म ब्रतचाहिँ बस्दिनँ ।’

स्रोत : इ कान्तिपुर