कर्णालीका ७ जिल्लामा निषेधाज्ञा
सुर्खेत ।
गत साउन ३२ गतेदेखि जुम्लाबाट सुरु भएको निषेधाज्ञा अहिले कर्णालीका ७ जिल्लामा पुगेको छ । कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढेको भन्दै कर्णाली प्रदेशका ७ जिल्लामा हाल निषेधाज्ञा लगाइएको हो । प्रदेशका १० जिल्लामध्ये सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, मुगु, जाजरकोट र रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको आदेश जारी गरेका छन् ।
जुम्ला, मुगु, कालीकोट र दैलेखमा जिल्लाभर निषेधाज्ञा छ भने सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको मुसीकोट, आठविसकोट, सानीभेरी र जाजरकोटको भेरी नगरपालिकामा निषेधाज्ञा लागू भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार साउन ३२ देखि जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । यस्तैै मुगु र जाजरकोटमा भदौ १५ गतेसम्म, दैलेख र कालिकोटमा १० गतेसम्म, सुर्खेतको वीरेन्द्रनगरमा १२ गतेसम्म र रुकुम पश्चिमका तीन स्थानीय तहमा भदौ १४ गतेसम्म निषेधाज्ञा छ ।
निषेधाज्ञा अवधिभित्र स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारीजस्ता अत्यावश्यक सेवा तथा व्यवसाय सञ्चालन गर्न दिइएको छ ।






