अत्याधिक रक्तश्रावका कारण सुत्केरीको ज्यान गयो
सुर्खेत ।
अत्याधिक रक्तश्राव भएपछि दैलेखमा एक सुत्केरीको ज्यान गएको छ । उपचार नपाएपछि ठाटीकाँध गाउँपालिका–१ सिराडी निवासी २३ वर्षीया पार्वती शाहीको ज्यान गएको परिवारले बताएको छ । पहिलो सन्तानको रुपमा छोरी जन्माएकी शाहीको अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा भर्ना गरिएको थियो । तर त्यहाँ उनको उपचार हुन नसकेपछि उनको ज्यान गएको हो ।सुत्केरी भइसकेपछि अत्याधिक रक्तश्राव भएर उनको मृत्यु भएको आफन्तले बताए।
अत्याधिक रक्तश्रावका कारण उपचारमा ढिलाइ हुँदा उनको निधन भएको हो । अत्याधिक रक्तश्राव हुँदा पनि स्वास्थ्य केन्द्रको लापरवाहीले उनको मृत्यु भएको आफन्तको दावी छ । अत्याधिक रक्तश्राव भएपनि स्वास्थ्य केन्द्रले समयमै रेफर नगर्दा ज्यान गुमाउनु परेको शाहीका आफन्तले बताएका छन् ।
आफन्तले गाउँपालिकासँग हेलिकप्टर वा अन्य साधन व्यवस्था गरिदिन हार गुहार गर्दा पनि सुनुवाइ नभएको मृतक पार्वतीका जेठाजु टेकबहादुर शाहीले बताए । गाउँपालिकाको एम्बुलेन्स बिग्रिएर थन्किएका कारण निजी सवारी साधनको व्यवस्थापन गरेर पार्वतीलाई कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि लिईएको थियो । तर उनलाई शुक्रबार राती १२ बजे मात्रै अस्पतालले मृत घोषणा गरेको थियो ।
अहिले बच्चाको अवस्था भने सामान्य रहेको छ ।
अछाम माइती घर भएकी पार्वतीको एक वर्षअघि ठाटीकाँध गाउँपालिकाका कर्णबहादुर शाहीसँग विवाह भएको थियो । पार्वतीका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । पार्वतीको मृत्यु भएपछि उनका आफन्तले गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन् । स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज लक्ष्मी रावतले आवश्यक सामग्री र डाक्टर नहुँदा उपचारमा कठिनाइ भएकाले सुत्केरी बचाउन नसकिएको बताइन् ।






