Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

पितृकार्य गर्न देऊ

यही भाद्र १७ गतेदेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध सुरु भइसकेको छ । हिन्दुहरुले कुनैपनि शुभ कार्य गर्नुभन्दा पहिले आफ्ना पूर्खाहरुको सम्झनामा पितृहरुलाई तर्पण दिने गर्दछन् । यसले गर्दा दिवंगत आत्माबाट आसिरवाद पाइने मान्यता रहेको छ । हरेक वर्ष दशैं भन्दा अगाडि गरिने यो कार्य यस वर्ष असोजको महिनामा मलमास (अधिकमास) परेको कारण दशैं आउनु भन्दा एक महिना अगाडि नै गर्नु परेको छ । यसको आफ्नै विधि र नियम छन् । सोह्रश्राद्धको समापन पश्चात नवरात्र सुरु हुने गर्दथ्यो । तर यस वर्ष भने नवरात्रका लागि एक महिना नै पर्खिनु पर्ने भएको छ । यो ज्योतिषशास्त्रको गणित फल अनुसार यस्तो परेको हो । कतिपय वर्षहरुमा यस्तो हुने गर्दछ ।


विश्वमा फैलिएको कोरोना महामारीको कारणले व्यापार व्यावसायदेखि विभिन्न उद्योग कलकारखानाहरु अनि मान्छेको दैनिकी समेत निकै असहज बनेको छ । यस्तो अवस्थामा स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन जरुरी छ । नत्र व्यक्ति, परिवार, समाजसमेत प्रभावित हुने कुरालाई आम नागरिकहरुले बुझ्नु जरुरी छ । केवल सरकारको भरमा परेर वा सरकारले गरिदेला भन्ने तर्फ भन्दा पनि आफ्नो लागि आफैले सतर्कता अपनाउन जरुरी छ ।

तर यता वीरेन्द्रनगर नगरपालिकाले भने विज्ञप्ति नै निकालेर निकै अभद्र सूचनाको सम्प्रेषण गरेको छ । यसले गर्दा एकातिर धर्मको मर्ममा ठेस पुगेको छ भने अर्कोतिर खुला बजार, व्यापाक नागरिकहरुको ओहोरदोहोर, अटोमा कोचाकोच यात्रुहरु, बैंकदेखि सरकारी कार्यालयहरुमा हुने भीडले स्वयम् नगरपालिकालाई नै गिज्याएको छ । पितृकार्य गर्दा स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर गर्न सकिन्छ भन्ने कुरालाई मध्यनजर नगरि नगरपालिकाबाट ठाडो हस्तक्षेप गरि बाध्यकारी र निषेधात्मक रुपमा सोह्रश्राद्ध गर्नबाट बञ्चित गराउनु, ब्राह्मणदेखि यजमानसम्मलाई क्वारेन्टाइनमा राख्ने र उनीहरुकै खर्चमा पिसिआर परीक्षण गर्ने जस्ता डर देखाएर नगरपालिकाले आफ्नो दायित्वबाट पन्छिन मिल्छ । पितृकार्य रोक्नेहरुले २ जनाको सिट क्षमता भएको अटोमा ६ जनालाई यात्रा गराउनबाट रोक्नु पर्छ कि पर्दैन ? भीडभाड नगर्न, सचेत रहन, स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन र सावधानीपूर्वक पितृकार्य गर्न भन्नुको साटो निषेधको खेल खेल्नु पक्कै पनि राम्रो होइन । त्यसैले सावधानी अपनाएर पितृकार्य गर्नमा वीरेन्द्रनगर नगरपालिका बाधक नबनोस् ।
भाद्र १९ गते शुक्रबार सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित सम्पादकीय