Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

‘चन्द्रविन्दु’ हाइकु कृति बिमोचन

बाँके |

आधुनिक प्रविधिको प्रयोग गरी हरिचन्द्र ढकालको ‘चन्द्रविन्दु’ कृति बिमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजना र हाइकु केन्द्र बाँकेको समन्वयमा चन्द्रविन्दुको विमोचन, विशेष हाइकु वाचन कार्यक्रम र हाइकु प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कोरोना भाईरसका कारण उत्पन्न परिस्थितिले गर्दा जुम प्रविधिबाट नेपाली साहित्यका अग्रज व्यक्तित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले कृतिको विमोचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सनत रेग्मीले कृतिकारलाई बधाई दिदैं हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले विषम परिस्थितिमा पनि महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गरे ।

‘चन्द्रविन्दु’ हाइकु कृति बिमोचन

कार्यक्रममा शुभकामना मन्तब्य दिदैं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राडा जिवेन्द्रदेव गिरिले पश्चिम क्षेत्रमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले गर्दै आएका विभिन्न गतिविधिहरु आफैमा महत्वपूर्ण रहने गरेको बताउँदै संस्थागत सक्रियताको प्रशंसा गरे ।

अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले हाइकु केन्द्र बाँके, पूर्णिमा साहित्य प्रतिष्ठान र संस्थाका अध्यक्ष महानन्द ढकालको योगदान रहेको बताउँदै हाइकुका महारथी उपस्थित रहेको कार्यक्रममा आफु उपस्थित हुन पाउँदा खुशी व्यक्त गरे ।

‘चन्द्रविन्दु’ कृतिको वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका नेपाली विभाग प्रमुख खोपीराम वलीले समिक्षा गर्दै कृतिले नेपालको अहिलेको अवस्थालाई चित्रण गरेको बताए । यसले नेपालको आर्थिक, राजनितिक, युवा, तथा अन्य वर्गीय क्षेत्रमा परिरहेका समस्या उजागर गर्न खोजेको छ । साहित्यका माध्यमबाट यो समाज कस्तो छ ? के बन्नुपथ्र्थो ? के गर्दा राम्रो हुन्छ ? भन्ने खालको सन्देश दिएको छ । यस हाइकु संग्रहमा १८८ हाइकु समेटीएको छ ।

चन्द्रविन्दुका लेखक हरिचन्द्र ढकालले हाइकु प्रकाशनका लागि सहयोग गर्ने पूर्णिमालाई धन्यवाद दिदैं प्रविधिको माध्यमबाट कृति विमोचन देश बिदेशका सम्पूर्ण हाइकुविज्ञहरुको उपस्थितिमा गर्न पाउँदा खुशि व्यक्त गरे । सशस्त्र प्रहरी निरिक्षकको रुपमा रहेर देश सेवा गरिरहेका ढकालले हतियार चलाउने हातले कलम चलाएको कुरा उल्लेख गर्दै यहाँहरुको सल्लाह र सुझावको अपेक्षा गरिरहने बताए । साथै आगामि कृतिको रुपमा कविताको उपविधाको रुपमा अगाडि आएको साइनो र लघु कथाको पुस्तक बजारमा आउने समेत बताए ।

हाइकुका अभियन्ताहरु प्रा.डा. रामकुमार पाण्डे, प्रा. पुष्कर लोहनी र चेतनाथ धमलाले पूर्णिमाले ऐतिहासिक हाइकु विशेषांक प्रकाशन गरेर हाइकुको इतिहासमा थप योगदान दिएको बताए । कार्यक्रममा प्रज्ञा सभा सदस्य हरि तिमिल्सिना, पूर्णिमाका सल्लाहकार सागर गैरेले शुभकामना दिएको कार्यक्रममा सात प्रदेशका (धनकुटे कान्छा, विनित ठाकुर, रमेश प्रभात, सरस्वती श्रेष्ठ सरु, टिकाराम उदासी, डा. पूर्ण भण्डारी पंकज, आर्त अकुलिन) हाइजिनहरुले पाँच पाँच वटाको दरले हाइकु वाचन गरे । यसरी पूर्णिमा मार्फत हाइकु वाचन गर्न पाउँदा खुशी व्यक्त गरे ।

हाइकुको प्रशिक्षण दिदैं लेक प्रसाद निरौलाले हाइकुका संरचना र सैद्धान्तिक पक्षहरुका बारेमा प्रशिक्षण गरेका थिए । झण्डै नौ दर्जन सर्जकहरु उपस्थित रहेको कार्यक्रममा हाइकु लेख्दा प्राकृतिक शब्दमा जोड दिनुपर्ने बताए ।

संस्थाका अध्यक्ष महानन्द ढकालले नव सर्जकहरुलाई प्राथमिकता दिदैं पूर्णिमा साहित्य प्रतिष्ठानले भाषा साहित्यका लागि निरन्तर काम गरिरहेको बताए । हाइकु केन्द्रका अध्यक्ष तथा पूर्णिमाका कोषाध्यक्ष बद्रि ढकालले स्वागत मन्तव्य दिएको कार्यक्रमको संचालन संस्थाका सचिव पुष्कर रिजालले गरेका थिए ।