Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

स्थानीय तहको एपबाट रकम भुक्तानी गर्न मिल्ने

काठमाडौँ, भदौ २२ गते ।

सरकारले स्थानीय तहबाट प्रदान गरिने सेवाहरू वापतको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने सुविधासहितको स्थानीय तहको मोबाइल ‘एप’ प्रयोगमा ल्याएको छ ।

‘एन्ड्रोइड’ प्रयोगकर्ताले ‘गुगल प्लेस्टोर’ र ‘आइओएस’ प्रयोगकर्ताले ‘एप स्टोर’बाट ‘डाउनलोड’ गर्न सकिने ‘स्थानीय तहको एप’ मा स्थानीय तहका प्रदान गरिने सेवा, कार्यक्रम, परियोजना, ऐन, नियम, वडाहरूको विवरण, महत्वपूर्ण स्थान परिचय, आपतकालीन नम्बर, सुझाव तथा गुनासो पेश गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दाहोरो संवाद लगायतका सूचना सजिलै प्राप्त गर्न सकिने जनाइएको छ ।

सो उक्त एपबाट कोभिड–१९ का सूचना समेत प्रवाह गरिनेछ । सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठका अनुसार, यसअघि ४३३ स्थानीय तहले आफ्नो गाउँ तथा नगरको नामबाट प्रयोगमा ल्याइएका मोवाइल ‘एप्लिकेशन’को ठाउँमा एउटै ‘एप’बाट सुविधा लिन सकिने छ । ‘स्थानीय तहको एप’ डाउनलोडपछि गाउँपालिका तथा नगरको नाममा रहेका छुट्टाछुट्टै एपहरू स्वतः सञ्चालनमा रहने छैनन् । नयाँ ‘एप्लिकेसन’ सम्पूर्ण स्थानीय तहको फरक पहिचान हुने गरी तयार पारिएको जनाइएको छ ।

सूचना प्रविधि विभागले आइतबारबाट ‘स्थानीय तहको एप’ नामको ‘एप्लिकेसन’ प्रयोगमा ल्याएको हो । गत वर्षमा प्रयोगमा भएका उक्त एपहरूको स्तरोन्नति र नयाँ सुविधा थप गरी तयार सूचना प्रविधि विभागले जनाएको छ । गाेरखापत्र