Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सुर्खेत मालपोतमा लेखापढी गर्ने २ जना पक्राउ

सुर्खेत ।
सुर्खेत मालपोत कार्यालय परिसरमा लेखापढी गर्नेहरु मध्ये २ जनालाई प्रहरीले पक्राउ गरेको हो । मालपोत कार्यालयमा भीड गराएको भन्दै सुर्खेत प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अत्यधिक भीड हुने कार्यालयमा जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागु गरेर सेवा दिन निर्देशन दिएपनि सेवाग्राहीलाई भीड गराउने लेखापढी व्यवसायीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले बताउनु भयो ।

कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य तथा सुरक्षाका मापदण्ड नअपनाएर मालपोत कार्यालय परिसरमा सेवाग्राहीको भीड गराएकोले बाध्य भएर उनीहरुलाई पक्राउ गरिएको एसपी भट्टले बताउनु भयो ।

पक्राउ परेका लेखापढी व्यवसायीको नाम भने प्रहरीले खुलाएको छैन् । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी साझेदारी अन्तरगत मालपोत कार्यालय परिसरमा बसेका लेखापढी व्यवसायीहरूलाई नेपाल टेलिकमको पश्चिमतर्फको क्षेत्रमा व्यवस्थापन गरिएको थियो । तर अटेरी गरेर मालपोत कार्यालय परिसरमा आएको कारण पनि पक्राउ गर्नु परेको एसपी भट्टले बताउनु भयो ।

पक्राउ परेका व्यक्तिलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पठाउने भट्टले बताउनु भयो । संक्रामक रोग ऐन, २०२० अनुसार आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा एकसय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।