विद्युत कार्यालय सुर्खेतको चरम लापरवाही
सुर्खेत ।
नेपाल विद्युत प्राधिकरणको वितरण शाखा सुर्खेतले चरम लापरवाही गरिरहेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विद्युत लाइन झ्याप्प–झ्याप्प आउने जाने प्रक्रियाको समेत समाधान गर्न नसक्ने प्राधिकरणले विद्युत महशुलमा भने चरम लापरवाही गरेकोले उपभोक्ताहरु मारमा परेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्र बाहेक बाहिरका बस्तीहरुमा विद्युत त्यति धेरै खपत हुँदैन । कसैले पंखा, फ्रिजलगायतका सामग्रीहरु चलाए पनि प्रायःजसो विद्युतको उपभोक्ताहरुले बत्ति बाल्ने मात्र गर्दछन् । तर कार्यालयमा बसेर मिटर अंकको अनुमान गरेर विद्युत प्राधिकरणको वितरण कार्यालय सुर्खेतले दुईवटा बल्ब बालेको पनि १५ हजारसम्म महशुल असुल गर्ने गरेको छ ।
वीरेन्द्रनगर ११ का दलबहादुर थापा विद्युतको महशुल बझाउनका लागि इ–सेवामा जाँदा एक महिनाको महशुल १९ हजार आएपछि उहाँ अचम्मित हुनुभयो । त्यसपछि उहाँ विद्युत कार्यालयमा पुग्नुभयो । आफ्नो घरको मिटरमा भएको अंक नोट गरेर विद्युत कार्यालय पुग्नुभएका थापाले जम्मा ९० रुपैयाँ महशुल भुक्तानी गर्नुप¥यो । सबै ग्राहकहरु थापा जस्तै सचेत छैनन । त्यसैले विद्युत कार्यालयले गरेको लापरवाहीले उपभोक्ताहरुले आर्थिक तथा मानसिक र भौतिक रुपमा समेत दुःख पाउनु परेको छ ।
विद्युतको मिटर रिडिङ गर्न नजाने अनि कार्यालयमा बसेर अन्दाजका भरमा बिल काट्ने कार्यको अन्त्य नभएसम्म उपभोक्ताले यो हैरानी खेप्नु परेको छ । पछिल्लो समयमा कोरोना भाइरसको महामारीको कारण देखाएर विद्युतका कर्मचारीहरु मिटर रिडिङ गनै नै जाँदैनन् ।
यता नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्र प्रमुख टंकराज गिरीले कोरोना महामारीका कारण मिटर रिडिङ गर्न समस्या भएकोले गतवर्ष यही समयको महशुललाई आधार मानी विलिङ्ग गर्ने गरेको बताउनु भएको छ । उच्च व्यवस्थापनकै निर्णय अनुसार त्यसो गरिएको उहाँको दावी छ । गतवर्ष सोही अवधिको खपतलाई आधार मानी विलिङ गर्ने भनि परिपत्र भएको हुँदा सोही बमोजिम गरिएको गिरीले बताउनु भयो । उहाँले भन्नुभयोे, ‘जसका कारण कतिपय ग्राहक वर्गहरुको बिलिङमा फरक पर्न गएको हो तर त्यसरी फरक फरेको हकमा असारमा रिडिङ गरि सोही अनुसार सच्चाई सकिएको छ ।’
प्रमुख गिरीका अनुसार मिटर रिडिङ भए पश्चात कम्प्यूटरमा म्यानूअल्लि अंक पोष्टिङ गर्दा भूलबस गलत अंक पोष्टिङ हुन गइ विल रकममा फरक पर्न जान्छ । यो जिम्मेवारीबाट पन्छिने खेलो मात्र हो । कोरोना महामारीको विषम परिस्थितिमा अति आवश्यक विद्युत सेवा सञ्चालन गर्न लकडाउन, निषेधाज्ञा, सिल, आंशिक सिललगायतका कारणले हुन गएका कमी कमजोरीलाई लापरवाहीको रुपमा नलिईदिन वितरण केन्द्र सुर्खेतले अनुरोध गर्दै यस्ता कमी कमजोरीलाई आगामी दिनमा सुधार्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।







