Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

गंगामायाको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन अपिल

काठमाडौँ  ।

सत्याग्रही गंगामाया अधिकारीको स्वास्थ्य जोखिममा रहेको भन्दै सरकारलाई संवेदनशील हुन अपिल गरिएको छ । ३० जना नागरिक अगुवाहरूले अधिकारीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारसँग अपिल गरेका हुन् ।

गंगामायाको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन अपिल

वीर अस्पतालको शैय्यामै सत्याग्रहमा रहेर वर्षौंदेखि आफ्ना छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गरिरहनुभएकी अधिकारीको स्वास्थ्य वीर अस्पताललाई कोरोना उपचार केन्द्रका रूपमा विकास गरेपछि संकटमा परेको हो । उहाँको जीवन नै जोखिममा पर्ने गरी उहाँलाई कोरोनाका बिरामीसँगै राखेकोमा नागरिक अगुवाहरूले आपत्ति जनाएका छन् । नागरिकले संयुक्त अपिल प्रकाशन गर्दै अधिकारीलाई तत्काल त्यहाँबाट अन्यत्र सारेर जीवनरक्षा गर्न माग गरेका छन् ।

यसरी अपिल गर्नेमा पूर्व–प्रधानन्यायाधीशत्रय केदारनाथ उपाध्याय, कल्याण श्रेष्ठ, सुशीला कार्की हुनुहुन्छ । यसैगरी, पूर्वसभामुख एवं अधिकारकर्मी दमननाथ ढुंगाना, नागरिक अगुवा केदारभक्त माथेमा, शम्भु थापा, डा. वीरेन्द्र मिश्र, डा.गौरी शंकरलाल दास, चरण प्रसाईं, प्रा.कपिल श्रेष्ठ, चाँदनी जोशी, डा. विपिन अधिकारी हुनुहुन्छ ।

यसैगरी, अधिकारकर्मी भक्त विश्वकर्मा, लिली थापा, सावित्री श्रेष्ठ, इन्द्र अर्याल, दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल, देवी सुनुवार, महामुनिश्वर आचार्य, बाबुराम गिरी, आशिकराम कार्की, गणेश मण्डल, बद्रीप्रसाद भुसाल, सुमन अधिकारी, राजुप्रसाद चापागार्इं, राजन कुइँकेल, अनिता थपलिया, ओम प्रकाश सेन ठकुरी, विकास बस्नेत हुनुहुन्छ ।

निर्दोष नाबालक छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई न्यायको कठघरामा ल्याई दण्डित गरिनुपर्ने भन्ने माग राखी गंगामाया र उहाँका श्रीमान् नन्दप्रसाद अधिकारीले २०६८ माघ २२ गतेदेखि आमरण अनशनसहितको सत्याग्रह सुरु गर्नुभएको थियो । हत्यामा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिइनु हुँदैन भन्ने उहाँहरूको माग थियो ।

अनशनको ३३४औं दिनमा नन्दप्रसादको २०७१ असोज ६ गते निधन भएको थियो । सोही आमरण अनशनको ३५९औं दिनमा सरकारबाट गंगामाया अधिकारीको न्यायको माग पूरा गराउन सहजीकरण गर्ने, जीवनभर स्वास्थ्य उपचार तथा सुरक्षाको प्रत्याभूति गर्ने प्रतिबद्धता जारी भएको हुँदा आमरण अनशन स्थगत भएको थियो । यद्यपि, सरकारले सत्याग्रहका माग पूरा नगरेको हुँदा गंगामाया अधिकारी वीर अस्पतालमै आमरण अनशन बस्दै आउनुभएको छ ।