Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

बलात्कारको झुठो आरोप लगाउने युवतीलाई कैद सजाय

युवती भने फरार

सुर्खेत ।
आफूलाई बलात्कार गरेको आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । तत्कालिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका प्रमुख रामबाबु भनिने रामप्रसाद गुप्तालाई बलात्कारको आरोप लगाउने युवतीलाई एक महिना कैद र एकहजार पाँचसय रुपैया जरिवानासहितको फैसला गरेको हो । यहीँ भदौ १४ गते अदालतले कैद र जरिवाना दुवै सजाय हुनेगरी फैसला गरेको सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिनुभयो ।

‘जबरजस्ती करणी जस्तो गम्भीर आरोप लगाएर कसैको जीवनमाथि खेलवाड गरिएकाले अदालतले कैद र जरिवानाको फैसला गरेको छ’ श्रेस्तेदार बास्कोटाले भन्नुभयो, ‘पीडित भनिएकी युवतीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ (क) अनुसार फैसला भएको हो ।’ कैद सजाय फैसला भएकी युवती सुर्खेत बराहतालकी १८ वर्षीय युवती हुन् ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका प्रमुख गुप्ताले कार्यालयमै गत असोज २८ र ३० गते बोलाएर बलात्कार गरेको भन्दै ति युवतीले गत मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजूरी दिएकी थिइन् । युवतीले जागिर लगाइदिने भन्दै गुप्ताले यौन शोषण गरेको वकपत्रमा उल्लेख गरेको र उक्त वकपत्र नै झुठो भएको ठहर गर्दै अदालतले फैसला गरेको बास्कोटाको भनाई छ ।

अदालतले फैसला गरेपनि युवती भने फरार रहेको अदालतले जनाएको छ । फैसला भएदेखि पीडित भनेएकी युवती सम्पर्कमा नआएको र कैद भुक्तान तथा जरिवाना असुल गर्न पक्राउका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाउन लागेको श्रेस्तेदार बास्कोटाले जानकारी दिनुभयो ।