Loading... आजः १७ मंसिर २०७७, बुधबार । Wednesday 2nd December 2020

औषधी आपूर्ति गर

विश्व यतिबेला कोरोना भाइरसको महामारीको चपेटामा छ । एकातिर कोरोनाको औषधी नै पत्ता लाग्न सकेको छैन भने अर्कोतिर अन्य रोगका लागि चाहिने औषधी अभावका खबरहरु दिन प्रतिदिन बाहिर आइरहेका छन् । कर्णाली प्रदेशको राजधानीमा समेत औषधी अभाव भएको छ । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएका औषधीहरुको अभाव भएको हो । नागरिकहरुले निःशुल्क रुपमा पाउनु पर्ने औषधीहरु पनि नीजि औषधी पसलबाट किन्नु पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भएको छ । यसले गर्दा नागरिकहरु मर्कामा परेका छन् ।

नेपाल सरकारले विभिन्न स्वास्थ्य संस्थाहरुबाट ३५ प्रकारका औषधीहरु निःशुल्क रुपमा उपलब्ध गराउने भएपनि औषधी अभाव रहेको भन्दै कर्णालीको राजधानी वीरेन्द्रनगरका कतिपय स्वास्थ्य संस्थाहरुले सामान्य औषधी समेत नीजि स्वास्थ्य संस्थाहरुमा किन्न पठाइरहेका छन् । वीरेन्द्रनगरका स्वास्थ्य चौकीहरुमा गर्भ निरोधक औषधीदेखि परिवार नियोजनका अस्थायी साधनहरु समेतको अभाव हुनु लज्जाजनक हो । एउटा प्रदेशको राजधानीमा त यस्तो अवस्था छ भने यस प्रदेशका अन्य जिल्ला तथा ग्रामीण क्षेत्रको अवस्था कस्तो होला आंकलन गर्न सकिन्छ ।

मान्छेलाई नभई नहुने अत्यावश्यक वस्तु भित्र पर्ने औषधीको आपूर्ति गर्नका लागि सरकार र सरोकारवाला बेलैमा चनाखो हुनु पर्दछ । अब विस्तारै दशैं तिहार जस्ता चार्डपर्वहरु नजिकिँदै छन् । चार्ड पर्वको समयमा हुने खानपानका कारण समेत मानव स्वास्थ्यमा समस्या आउने गर्दछ । अर्कोतिर गर्मी जाँदै र जाडो आउँदै गरेकोले मौसम मानव स्वास्थ्य प्रतिकूल अवस्थामा छ । यस्तो अवस्थामा औषधीको भण्डारण नहुने हो भने त्यसबाट निम्तिन सक्ने महामारी भयानक हुन सक्छ । त्यसैले औषधीको आपूर्तिमा सरकारको ध्यान जाओस् । जनता स्थानीय सरकारको भर पर्ने र स्थानीय सरकार प्रदेश सरकारको भर पर्ने अनि प्रदेश सरकारले संघीय सरकारलाई दोष दिने स्थितिको सिर्जना हुन दिनु हुँदैन । औषधी खरिद प्रक्रिया अनुसार तीनै तहका सरकारहरुले आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्न आवश्यक छ ।