Loading... आजः १४ चैत्र २०८२, शनिबार । Saturday 28th March 2026
ताजा खबर
  

चलचित्रकर्मीलाई राहत बाड्दै विकास बोर्ड

काठमाडौं ।

चलचित्र विकास बोर्डले नेपाली चलचित्रकर्मीहरूलाई राहत वितरण गरिरहेको छ । कोरोना भाइरसले विगत ६ महिनादेखि बेरोजगार बनेका २ सय प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारका दरले वितरण गरेको हो । बोर्डका अनुसार सबैभन्दा धेरै चलचित्र प्राविधिक संघलाई १० लाख रुपैयाँ वितरण गरिएको छ । धेरै आर्थिक समस्यामा परेका प्राविधिकलाई प्राथमिकताका आधारमा उक्त रकम वितरण गरिएको हो ।

चलचित्रकर्मीलाई राहत बाड्दै विकास बोर्ड

नृत्य संघले पनि ५ लाख रुपैयाँ राहतस्वरूप बोर्डबाट लगेको बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी दिनुभयो । कलाकार संघले बोर्डबाट राहतस्वरूप बजेट लगिसकको छ । कलाकार संघका अनुसार यसअघि ४५ कलाकारले ५ हजारका दरले राहत लगेकोमा ३५ जनालाई दिने तयारी भइरहेको संघले जनाएको छ ।

चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का भन्नुहुन्छ, ‘राम्रै नाम चलेका कलाकारहरूले नै समस्या भयो भनेपछि थप ३५ जनालाई वितरण गर्दै छौं ।’ नाम चलेकै राम्रै कलाकारले पाँच हजार रुपैयाँ राहत थाप्नुपर्ने अवस्था आएको भन्दै खड्काले तत्काल चलचित्र क्षेत्रलाई खोलेर पुरानै अवस्थामा फर्काउनुपर्नेमा उहाँ जोड दिनुभयो ।

द्वन्द्व संघले भने कागजी प्रक्रिया नपुगेकाले बोर्डले उपलब्ध गराउने सहयोग प्राप्त गर्न सकेको छैन । ‘पारदर्शी हुन आवश्यक छ । नीतिगत निर्णयभन्दा बाहिर गएर काम गर्न सकिँदैन,’ बोर्ड अध्यक्ष दाहालले भन्नुभएको छ, ‘प्रत्येकका बैंक खातामै पैसा पठाउनुपर्ने भएकाले सम्बन्धित व्यक्तिको बैंक खाता नम्बर र संघले आवश्यक कागजात जुटाएपछि राहत दिन्छौं ।’

दशँै नजिकिँदै जाँदा चलचित्रकर्मीलाई आर्थिक संकट थपिँदै गएको छ । घरघाडा तिर्नुपर्ने, घर जानुपर्ने तथा स्कुलले बच्चाको शुल्कसमेत एकैपटक पठाउँदा आर्थिक संकट चुलिएको प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताउनु भएको छ ।