नेपाली भुमि माथि अर्को आक्रमण
सुर्खेत |
हुम्लाको नाम्खा गाउँपालिका–६ मापर्ने लाप्चामा रहेको भूमि चीनले आफ्नो भएको दाबी गरेको छ । सीमा अनुगमनका लागि त्यहाँ पुगेका हुम्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोलीसँग चिनियाँँ सेनाले लाप्चा क्षेत्र आफ्नो भएको दाबी गरेको हो । चीनले नेपाली भूमिका भवन बनाएको खबरपछि अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी सहितको टोली अनुगमनका लागि लाप्चा पुगेको थियो । तर अनुगमन टोलीलाई चिनियाँँ सेनाले नक्सा नै देखाएर लाप्चाक्षेत्र आफ्नो भएको दाबी गरेको हो ।

अनुगमनमापछि सदरमुकाम सिमकोट फर्किएका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाका अनुसार चिनियाँँ पक्षले लाप्चा क्षेत्रभन्दा एक किलोमिटर नेपालतर्फको भूमिसमेत आफ्नो भएको दाबी गरेको छ । चिनियाँ सेनाले वार्ता गर्ने भए नेपालतर्फ जाआँै भनेपछि अनुगमन टोली फर्किएको लामाले बताए । ‘यो हाम्रो भूमि हो, वार्ता गर्ने भए सीमानामा जाऔँ भन्यो’ अध्यक्ष लामाले भने, ‘भूमि हाम्रो हो भन्ने प्रमाण नभेटिएपछि केही समयमै हामी फर्कियौँ ।’
नेपाल–चीन सीमानमा पर्ने सीमास्तम्भ (११ नम्बर पिल्लर) नभएका कारण लाप्चा क्षेत्र आफ्नो भन्ने दाबी गर्न नसकेको उनको भनाइ छ । ‘हाम्रो १२ नम्बर पिल्लर र ११ नम्बर पिल्लर लाप्चामै हो,’ लामाले भने, ‘अहिले ११ नम्बर पिल्लरको नाम निसानी छैन । १२ नम्बर चाहिँ यथावत छ । ११ नम्बरको पिल्लर नहुँदा भवन बनाएको क्षेत्र उता पर्छ कि यता पर्छ भनेर दाबीका साथ भन्न सक्ने अवस्था छैन ।’
लाप्चा क्षेत्रमा के कसो भइरहेको छ भनेर नेपाल सरकारको तर्फबाट अहिलेसम्म कुनै खोजी नभएको बताए । ‘लाप्चा क्षेत्र पहिले देखिनै हामीले प्रयोग गथ्र्यौैँ, २०६६ सालमा बाटोसमेत बनाएका छौँँ’ अध्यक्ष लामाले भने, ‘पहिले चीनले दाबी गरेको थिएन, भवन बनाएपछि त्यो क्षेत्र आफ्नो भएको दाबी ग¥यो ।’ चीनले नेपाली भूमिमा एकतर्फी रुपमा भवन बनाएको खबरपछि हुम्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोलीस सीमा अनुगमनका लागि त्यहाँ गएको थियो । अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, नाम्खा गाउँपालिकाका अध्यक्ष लामा, नयाँ भैरवी दल गुल्मका गुल्मपति प्राज्ञ बस्नेत, सशस्त्र प्रहरी नायब निरीक्षक मोहन बस्नेत, राष्ट्रिय अनुसन्धानका डीएसपी सञ्जीव चौधरी लगायत लाप्चा पुगेको थिए ।
जहाँ नेपालले २०६६ सालमै सडक खनेको थियो
चीनले आफ्नो दाबी गरेको लाप्चा क्षेत्रभने बर्षाैदेखि नेपालले प्रयोग गर्दै आएको पाइएको छ । स्थानीयले भने लाप्चा क्षेत्र नेपाली भूमि भएको दाबी गर्दै नेपाल–चीन सडकसमेत बनाइ सकेको छन् । सीमाबाट २०६६ सालमा नेपालले सडक खनेको छ । चीनतर्फबाट डोजर र एक्साभेटर ल्याएर नेपालतर्फ सडक खनिएको हो । नेपाली टोलीले चीनले अहिले भवन बनाएको क्षेत्रभन्दा उता साढे दुई किलोमिटर चीन तर्फबाट बाटो खन्न सुरु गरेको थियो ।
‘दुई ट्रक सेना आए, फोटो खिच्न दिएनन्’
गाउँपालिका प्रमुख लामाका अनुसार प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली लाम्चा सीमामा रहेका प्रहरीसँग सामान्य कुराकानी गरेर निर्माणाधीन भवनस्थल गएका थिए । उनीहरु भवन पुग्दा नपुग्दै चिनियाँँ सेनाको टोली आइपुग्यो । ‘हामी भवन नजिक पुगेका मात्रै थियौँ,’ उनले भने, ‘उताबाट दुई ट्रक सेना आइहाले । यो चिनियाँँ भूमि हो, यहाँ तपाईंहरु बस्न पाउनुहुन्न भन्दै गइहाल्न भने ।’ हामीसँग पनि उक्त भूमि हाम्रो हो भन्ने कुनै आधार नभएकोले निरीक्षण मात्रै गरेर फर्किएको उनले बताए ।
त्यहाँ भएको सामान्य छलफलमा चिनियाँँ सुरक्षा अधिकारीहरुले नेपाली टोलीसँग उक्त भूमिहरु चीनकै भएको र चीनकै भूमिमा भवन बनाएको दाबी गरेका थिए । लाप्चा क्षेत्रमा आफूहरुलाई फोटोसमेत खिच्न नदिएको गाउँपालिका अध्यक्ष लामाले बताए ।
चीनले बनायो ११ वटा भवन
लाप्चा क्षेत्रमा चीनले ११ वटा भवन निर्माण गरीसकेको छ । व्यवसायिक प्रयोजनका लागि ति भवनहरु बनाएको हो । ‘चीनले पहिले बनाएको दुइवटा ब्लकको भवन प्रयोग गरेको थिएन । अहिले त नयाँ नौ वटा भवन पनि बनाएछ,’ गाउँपालिका प्रमुख लामा भन्छन्, ‘अहिले प्रयोगमा ल्याउने हिसाबले बनाएको भनेको छ । भवन लगभग बनाइसकेको छ । भवन वरिपरी कम्पाउन्ड र सोलार पनि जोडी सकेछ ।’ नेपाली टोलीले चिनियाँँ सुरक्षा अधिकारीको टोलीलाई भवन किन बनाएको भनेर सोधेको थियो । उनले भने, ‘हामीले यो के प्रयोजनको लागि बनाएको भनेर सोध्दा व्यापारिक प्रयोजनको लागि बनाएको भन्थ्यो, आन्तरिक कुरा थाहा हुने कुरा भएन ।’ तर चीनले भवन बनाएको र सीमा स्तम्भ हराएको विषय नापी विभागलाई कुनै जानकारी छैन ।
विभागका सूचना अधिकारी दामोदर ढकालले चीनले सीमा मिचेको, सीमा स्तम्भ नभएको विषय थाहा नभएको बताए । चीनले हुम्लामा सीमा मिचेर भवन बनाएकोबारे गृहमन्त्रालय पनि बेखबर छ । गृहमन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछाने भन्छन्, ‘खै कहिलेको घटना हो केही थाहै छैन । पिल्लर नै नहुने अवस्था आउँदा त हामीलाई थाहा हुनुपर्ने हो ।’






