Loading... आजः २२ माघ २०८२, बुधबार । Wednesday 4th February 2026
ताजा खबर
  

वीरेन्द्रनगर ‘नगर’ पालिका

देशमा संघीयता आइसकेपछि २०७३ सालमा भएको स्थानीय तहको नयाँ संरचनाबाट वीरेन्द्रनगर नगरपालिकाको कार्यक्षेत्र पनि फराकिलो भयो । कार्यक्षेत्रको विस्तारसँगै यहाँको जनसंख्यादेखि नगरपालिकाले गर्नुपर्ने कार्यहरुमा समेत जिम्मेवारी थपियो । कुनै समयमा गाउँ विकासका बासिन्दा हौं भन्नेहरु नगरवासी हुन पाएकोमा मख्ख भए । आफूलाई नगरवासी बताउँदा गर्व गर्नेहरुले नगरपालिकाबाट ठूलै आशा, भरोसा र विश्वास राखेका थिए । जुन स्वभाविक पनि थियो ।


स्थानीय तहको निर्वाचन भएपछि नागरिकले करिब २० वर्षको अन्तरालमा जनप्रतिनिधि पाए । करिब दुई दशक कर्मचारी संयन्त्रले संचालन गरेको स्थानीय तहमा जनप्रतिनिधि आएपछि जनताका समस्याहरु समाधान हुने कुरामा जनतामा आशा पलाउनु स्वभाविकै हो । कर्मचारीहरुले हाम्रा गुनासाहरु सुनेनन् । हाम्रा समस्याहरु बुझेनन् । हाम्रा आवश्यकताहरुलाई प्राथमिकिकरण गरेनन् । कर्मचारीले आफ्नो जागिर पकाए । आफ्नो मनोमानीले काम गरे । उनीहरु जनमैत्री बन्न सकेनन् । यस्तै आवत दोषहरु नपाएका होइनन्, कर्मचारीहरुले । तर एकातिर देशले संघीयताको अभ्यासको सुरुवात र अर्कोतिर आफ्नै हातले मतदान गरेर निर्वाचित गरेका जनप्रतिनिधिहरु । जनताले आशा पनि किन नगरुन् ?

राजनीतिक युद्धका कारण थिलथिलो बनेको देश । विकासको छायाँबाट पछाडि परेका गाउँहरु । नगर सदरमुकाम केन्द्रित स्थानीय शासन । एउटा सिफारिसका लागि सदरमुकाममा धाउनु पर्ने बाध्यता । संघीयतासँगै बनेका स्थानीय सरकार । जसले सिंहदरबार नै जनताको घरदैलोमा पु¥याउने कार्य गर्ने भएका कारण एकातिर जनताले पाउनु पर्ने सेवा सुविधाहरुमा सहजता आउने र अर्कोतिर विकासका क्षेत्रमा क्रान्ति नै हुने भयो भन्ने लाग्यो । तर परिणाम भने त्यसो हुनसकेन । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका पुरानो नगरपालिका पनि हो । भौगोलिक दृष्टिले विश्लेषण गर्ने हो भनेपनि वीरेन्द्रनगर नगरपालिका सुगम क्षेत्रमै पर्दछ । यस नगरपालिकामा पछि गाभिएका केही पहाडि भू–भाग बाहेक अन्य क्षेत्रको भौगोलिक अवस्था समथर मैदान नै छ । वीरेन्द्रनगर नगरपालिकालाई साँच्चिकै सुन्दर नगर बनाउने योजनाका साथ चुनावको मैदानमा उत्रिएका नेताहरुले जनताका अगाडि गरेका बाचाहरु पूरा गर्नेतिर लागेको भए निर्वाचन भएको तीन वर्षमा यसको स्वरुपमा परिवर्तन आउन थालिसक्ने थियो । निर्वाचन भएको तीन वर्ष वितिसकेका छन् । तीन वर्षको दौरानमा वीरेन्द्रनगर नगरपालिकाले जनताका लागि के – के काम गर्न सक्यो यो मुख्य विषय हो । यसको विश्लेषणका लागि पहिले भौतिक विकासको क्षेत्रलाई आंकलन गर्नै पर्छ । नगरपालिकाले आप्mनो कार्यक्षेत्र भित्रको सडकको काममा माखो मार्न सकेन । जनताको आँखामा छारो हाल्नका लागि अहिले वीरेन्द्रनगर भित्रका सडकहरु खोतल्ने कार्य भइरहेको छ । चाहे हटियाचोकको ठाडो बाटो होस्, चाहे दैलेख रोड होस् । चाहे देउतीबज्यै – चौखेढुङ्गाको बाटो होस्, चाहे नगरपालिका अगाडिको बाटो होस् अथवा चक्रपथ नै किन नहोस् । ती बाटाहरु निर्माण कार्यको थालनी अहिले गरेपनि निर्वाचनमा जनतालाई ढाँट्न र छल्नका लागि थालिएका हुन् भन्ने कुरा जनताले राम्रोसँग मूल्याङ्कन गरेका छन् ।

खानेपानीको क्षेत्रमा नगरपालिकाले माखो मार्न सकेन । सरसफाइको कुरा गर्ने हो भने हिजो कर्मचारीका पालामा पनि यत्तिको सरसफाइ थियो नै । जनप्रतिनिधि विहिन अवस्थामा र जनप्रतिनिधि आइसकेपछि कुनै फरकता नहुनुले जनतामा निराशा छाउने नै भयो । स्थानीय सरकारको रुप धारण गरेर कर्मचारीलाई तलब खुवाउनु र सुकिला मुकिला बन्नु मात्र जनप्रतिनिधि बन्नु हो भने त पंक्तिकारको बुझाइमा फरक परेको होला । तर जनप्रतिनिधि भइसकेपछि जनताका लागि कार्य गर्नुको साटो उल्टै सरकारी सम्पत्तिको दोहान गर्नु मात्र हो भने यी जनप्रतिनिधिहरुको औचित्य के ?

नगरपालिकाले आफ्नै सम्पत्तिको सुरक्षा समेत गर्न सक्दैन भने नगरवासीको सुरक्षा गर्छ भन्नु हाम्रो मुर्खता जस्तै भएको छ । शक्ति र सत्ताको आडमा जे गरेपनि हुने हो भने यस्ता जनप्रतिनिधिहरुबाट जनताले के आशा गर्ने ? नगरपालिका भित्र रहेको सरकारी जग्गालाई नै अवैधानिक रुपमा अपचलन गर्ने जनप्रतिनिधिहरुले कानूनको पालना गरेका छन् कि धज्जी उडाएका छन् ? त्यसको मूल्याङ्कन अब आउने निर्वाचनमा जनताले गर्ने नै छन् । तिमीहरुलाई आजीवन जनप्रतिनिधि बनाइएको होइन । केवल पाँच वर्षको परीक्षण कालका लागि पठाइएको हो । तिमीहरुले गरेका कार्यको लेखा परीक्षण गर्ने अधिकार जनताको हातमा छ भन्ने कुराको हेक्का राखेर बसे हुन्छ । विकास गर्नका लागि तिमीहरुलाई कस्ले रोक्यो ? नगरपालिकाले आर्जन गरेको स्रोत र साधनलाई नै सही ढंगले परिचालन गर्न नसक्नुको कारण के हो ? एउटा सिफारिस गरेको शुल्क तिर्नका लागि एउटा किसानले ऋण निकाल्नु पर्ने अवस्थाको सिर्जना गर्नेहरुले त्यो किसानलाई समयमै मल, विउको व्यवस्थापन गर्न सक्दैनौ भने तिमीहरुको नैतिकतामा प्रश्नचिन्ह खडा हुन्छ कि हुँदैन ? सत्ता र शक्तिको आडमा नगरपालिकाको जग्गा वितरण हुन्छ भने तिमीहरुको नियत माथि प्रश्नचिन्ह खडा हुन्छ कि हुँदैन ? कर्णाली प्रदेश स्थापनार्थ भएको आन्दोलनमा ज्यान गुमाउने शहिदहरुको सम्मानमा एउटा चोकको नामाकरण गर्न सक्दैनौ भने ति शहिदप्रति तिमीहरुबाट अपमान भएको छ कि छैन ?

कर्णाली आफैमा नेपाली भाषाको उद्गमस्थल हो । साहित्यको भण्डार हो । संस्कृतिको खानी हो । पर्यटनको अथाह सम्भावना भएको भूमि हो । त्यसको विकास गर्नका लागि तिमीहरुका हात काँप्छन् भने नेपाली भाषा र साहित्य तथा संस्कृति र पर्यटनको गफ दिँदा अलिकति पनि संकोच लाग्छ कि लाग्दैन ? २०७२ सालदेखि पालमुनी बसेका बाढी पीडितहरुलाई देखेर दया पलाउँछ कि पलाउँदैन ? यस्ता यावत प्रश्नहरुको उत्तर आउँदो निर्वाचनमा जनताले तिमीहरुलाई सोध्ने छन् ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देखाइ पन्छिन पाउने अवस्था छैन भन्ने कुराको ख्याल रहोस् । कोरोनाको परीक्षणदेखि लकडाउनको अवस्थामा बाँडिएका राहतहरुको समेत जनप्रतिनिधिहरुले हिसाव किताब बुझाउनु पर्नेछ । हातमा सुनका औठी लगाउनेहरुलाई १५ किलो चामल र छाक टार्नका लागि साँच्चिकै राहतको आशा गर्नेहरुलाई ५ किलो चामल दिँदा तिम्रा हातहरु थरथराएनन्, किन ? गर्नु पर्ने कामहरु एकातिर थुप्रो लागेर बसिरहेका छन् । जनतालाई देखाउन गरिएका सडक स्तरोन्नतीका कारण जुनसुकै बेला पनि भयानक दुर्घटना हुन सक्ने जोखिमको निर्माण गर्नु जनता प्रतिको उत्तरदायित्व छ कि आफ्नो पद र प्रतिष्ठाको सम्मानको लागि मात्र हो भन्ने कुरालाई पुष्टि गर्दछ । त्यसैले नगरवासीको सवाल भनेको यो वीरेन्द्रनगर नगरपालिका हो कि ‘नगर’ पालिका हो ?