Loading... आजः ९ बैशाख २०८१, आईतवार । Sunday 21st April 2024

पर्यटकीय नजरमा समृद्ध कर्णाली

साविकको कर्णाली भन्दा आज प्रादेशिक रुपमा निर्माण भएको कर्णाली फरक छ । साविक कर्णाली अञ्चलमा भएका ५ जिल्लाहरुसँग भेरीका सुर्खेत, दैलेख र जाजरकोट तथा राप्तीका सल्यान र आधा रुकुम (पश्चिम रुकुम) मिलेर कर्णाली प्रदेश बनेको छ । देशा संघीयताको सूरुवातसँगै कर्णालीलाई गुमनाम बनाउन नखोजिएको होइन । तर साविक मध्यपश्चिम (बाँके, बर्दिया बाहेक) का जनताले गरेको आन्दोलनको अगाडी घुँडा टेक्न बाध्य भएको तत्कालिन सरकारले सबै भन्दा कान्छो प्रदेशको रुपमा कर्णाली प्रदेशको निर्माण ग¥यो । तत्कालिन रुपमा ६ नं. प्रदेशको रुपमा नाम दिइएपनि कर्णाली प्रदेश सभाले ‘कर्णाली’ नामाकरण र राजधानी सुर्खेतको वीरेन्द्रनगर घोषणा गरेपछि कर्णाली प्रदेशले पूर्णता पाएको हो ।


कर्णाली भन्ने वित्तिकै दुई प्रकारले अथ्र्याउने गरिन्छ । एउटा कर्णाली भोक, रोग र गरिबी तथा पछौटेपन हो भने अर्को कर्णाली सभ्यता हो । संघीयताको अभ्यास गर्दै जाने क्रममा कर्णाली सम्भावना हो भन्ने उपमा पनि जोडिएको छ । अर्कोतर्फ विश्वका ठूला–ठूला शहरहरु नदीसंग जोडिएको छन् । एथेन्स वा मेसोपोटोमिया होस् वा रोमन सभ्यता नै किन नहोस् । यस्तै नेपालको पुरानो सभ्यता कर्णाली हो र यो कर्णाली नदीसंग जोडिएको छ । कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृतिसंग जोडिएको छ । दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रूकुम (पश्चिम भाग) र सल्यान जिल्लाहरु समेटिएको कर्णाली आफैमा भरिपूर्ण छ । भरिएको गाग्रीबाट सिधैँ पानी पिउन मिल्दैन । भरिएको गाग्रीमा भएको पानी पिउनका लागि लोहोटाको सहायता लिनुपर्दछ । जसले गर्दा हामीलाई पानी पिउन सजिलो बनाइदिन्छ । हो, कर्र्णालीमा भएका अनगिन्ती सम्भावनाहरुलाई उपयोग गर्नका लागि लोहोटाको जोरजुट्याम गर्नुपर्दछ । जसका लागि स्थानीयदेखि प्रदेश र संघीय जनप्रतिनिधिहरु अनि साथमा आम कर्णालीवासी एकढिक्का भएर लाग्नुको विकल्पै छैन । २४,४५३ वर्ग किमीमा फैलिएको कर्णाली सानो छैन ।

हामीले कर्णालीलाई समृद्ध बनाउने लक्ष्य लिएका छौ । त्यसका लागि कर्णालीमा भएका प्राकृतिक, संस्कृतिक र ऐतिहासिक कुरालाई आधुनिक प्रविधिको प्रयोग गरेर उपयोग गर्न सक्ने हो भने पुग्छ । कर्णाली प्रदेशको एकमात्र लक्ष्य भनेको विकास, पूर्वाधार र परिवर्तन हो । कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्छ । कर्णालीमा भएका कर्णाली, भेरी, तिला जस्ता नदीहरुलाई सिंचाइँ तथा जलविद्युतमा प्रयोग गर्ने हो भने नेपाल त के अन्य देशहरुलाई समेत विद्युत बेच्न पुग्छ । जसले गर्दा एकातिर कर्णाली विद्युतमा आत्मनिर्भर हुन्छ भने अर्कोतिर आर्थिक उपार्जनमा पनि अगाडि बढ्छ । पर्याप्त विद्युत भएको खण्डमा विभिन्न कलकारखानाहरु समेत खोल्नका लागि सहजता हुन्छ । कर्णालीमा पर्यटनको विकास र प्रवद्र्धन गर्नका लागि प्रदेश सरकारले ४० सथानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास र विस्तार गरिरहेको छ भने नीजि क्षेत्रबाट पनि विविध कार्यहरु भइरहेका छन् । कर्णाली प्रदेशमा क्षेत्रीय पर्यटन सूचना केन्द्रको स्थापना गरेर यहाँका पर्यटकीय स्थललाई विभिन्न माध्यमबाट देश विदेशमा चिनाउने कार्यहरु भइरहेका छन् । जसले गर्दा पनि कर्णालीले पर्यटनको क्षेत्रमा फड्को मार्न सक्छ ।

कर्णाली भौगोलिक दृष्टिले विकट देखिएको छ । तर त्यही विकटता भित्र सिलाजीत छन् । त्यही विकटता भित्र बहुमूल्य रत्नहरु छन् । त्यही विकटता भित्र पर्यटनका अथाह सम्भावनाहरु छन् । त्यसलाई उपयोग गर्नका लागि दीर्घकालिन योजना बनाउनु आवश्यक छ । आयस्रोतको अर्को मुख्य आधार भनेको पर्यटन पनि हो । कर्णालीमा पर्यटकको मन लोभ्याउने अथाह चिजवस्तुहरु छन् । प्रकृतिले दिएका ताल तलैया छन् । हिमाल छन् । डाँडाकाँडा छन् । मैदान परेका उपत्यका छन् । छाँगा छन् । झरना छन् । त्यसका साथै कर्णाली प्रदेश प्राकृतिक स्रोतसाधनले धनी छ । नेपालको पर्यटन प्रवद्र्धनको हिसाबले ‘भर्जिन’ क्षेत्र हो यो । समृद्ध कर्णाली प्रदेश बनाउन पहिलो र सजिलो विकल्प भनेको पर्यटन नै हो । नेपालकै सबैभन्दा ठूलो ताल राराजस्ता मनोरम प्राकृतिक स्थलहरूले कर्णाली भरिभराउ छ । चीनको स्वशासित क्षेत्र तिब्बतस्थित पवित्र तीर्थस्थल कैलाश मानसरोवरको प्रवेशद्वार कर्णाली प्रदेश नै हो ।

नेपालकै आर्कषक पर्यटकीय गन्तव्य हो– कर्णाली प्रदेश । तर, यहाँका पर्यटकीय गन्तव्यका लागि एकातिर आवश्यक पूर्वाधार तथा सेवासुविधालाई पर्यटकमैत्री बनाउने गरी प्रवद्र्धन गर्न सकिएको छैन भने अर्कातिर पर्यटकीय प्रवद्र्धनका लागि हुनुपर्ने प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसारको कमी छ । त्यसलाई उपयोग गर्ने तर्फ हामी अर्काको भर परेर हुँदैन । अब आफै आत्तिनु पर्ने बेला आयो । तात्तिनु पर्ने बेला आयो । कर्णाली प्रदेशमा मुगुको रारा ताल, रारा राष्ट्रिय निकुञ्ज, विश्वकै अग्लो स्थानमा रहेको छायाँनाथ मन्दिर, डोल्पाको शेगुम्बा र फोक्सुडो ताल, वाला त्रिपुरा सुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गमथलो सिञ्जा उपत्यका, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै मन्दिर, कालीकोटको रास्कोट, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पातल छहारा छन् । त्यस्तै हुम्लाको लिमी उपत्यका, सबैभन्दा पुरानो हाल्जी गुम्बा, रलिङ गुम्बा, याल्वाङ गुम्बा, खार्पुनाथदेखि मानसरोवर कैलाशको पैदल यात्रा, सल्यानको कुपिन्डेदह, रुकुमको स्यार्पुदह, जाजरकोटको ठाकुरजी दह, दैलेखमा ज्वाला, दुल्लु दरबार, नेपाली भाषाको पहिलो शिलालेख, श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र कोटिला पञ्चतिर्थस्थल पनि कर्णालीमै छन् । श्रीस्थान र नाभिस्थानमा रहेको कहिल्यै ननिभ्ने ज्वाला कर्णालीको अर्को जीवन्त परिचय हो । जसको अनुसन्धान, अन्वेषणले कर्णालीलाई विश्वसामु परिचित गराउन सक्छ । विश्व सम्पदामा सूचिकृत हुनका लागि ‘क’ वर्गमा परेको भूर्तिका बाइस देवल, दैलेख गढी, दुल्लुको कीर्ति खम्बा यहा“का पर्यटकीय स्थल हुन् भने पञ्चदेवललगायत नेपालका विभिन्न जातिका ३२ थरको उद्गमस्थललगायत प्रमुख पर्यटकीय सम्पदाहरू कर्णालीमै छन् । सर्वाधिक उचाइमा रहेको मानव वस्ती डोल्पाको छार्का भोट आकर्षणको अर्को गन्तव्य हो । कर्णाली नदीमा राफ्टिङदेखि सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा प्याराग्लाइडिङजस्ता पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।

यसका लागि पर्यटकमैत्री यात्रा र बसोबासका लागि प्रदेश सरकार ठोस कार्यक्रमसहित उचित प्रबन्ध मिलाउन क्रियाशील रहेको छ । यस अभियानअन्तर्गत, यातायात, होटल व्यवसाय, पथप्रदर्शन सेवा, अतिथि सत्कार, पदयात्रा, साहसिक यात्रा, होमस्टेसम्बन्धी स्थानीयलाई प्रोत्साहित गर्ने कार्यहरु गर्ने हो भने एकातिर रोजगारको श्रृजना हुन्छ भने अर्कोतिर पर्यटनको विकास । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा तालको विशेषता भनेकै छिन–छिनमा पानीको रङ परिवर्तन हुनु हो । यहाँ नेपालमा कतै नपाइने स्नो ट्राउट प्रजातिको माछा पाइन्छ ।

यसैगरि हिन्दूहरूको तिर्थस्थलका रुपमा प्रख्यात मानसरोवर जाने प्रमुख स्थान हुम्लामा पर्दछ । यो जिल्ला कला संस्कृति, प्राकृतिक सौन्दर्य, जडिबुटी, ताल तथा मनोरम दृष्यहरूको थलो पनि हो । वरीपरी हिमाल बीचमा समथर भूभाग । बस्तीको मध्य स्थानमा चन्दनाथ मन्दिर । नजिकै बगिरहेको तिला नदी, यो हो जुम्लाको स्वरुप । संसारकै सबैभन्दा उच्च स्थानमा धान फल्ने जिल्ला हो, जुम्ला । यही जिल्लाको सिञ्जाबाट खस भाषाको उत्पत्ति भएको हो । जुम्लामा काञ्जिरोवा, पातारासी, वाक्की जस्ता हिमाल, पञ्चदेवल, तातोपानी, पाण्डु गुफा, विराज दरवार, चन्दनाथ मन्दिर, भैरवनाथ मन्दिर, कनकासुन्दरी मन्दिर हेर्न लायक छन् । प्राकृतिक सौन्दर्य, जडिबुटीका साथै कला र संस्कृतिमा पनि धनी छ जुम्ला । नेपालकै सबैभन्दा गहिरो तथा दोस्रो ठूलो ताल डोल्पाको फोक्सुण्डो पनि कर्णालीमै छ । दैलेखका मारुनी, गर्रा, दमाह, हुड्के, पैसरीजस्ता मौलिक नाचहरूले कर्णालीको संस्कृतिलाई पनि जीवन्त राखेका छन् ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत । सुर्खेतको काँक्रेविहार दोस्रो लुम्बिनीका रुपमा परिचित छ । सुर्खेतमा गढी, देउती बज्यै, बुलबुले ताल र घण्टाघर लगायतका पर्यटकीय स्थल छन् । सुर्खेत विमानस्थलको क्षमता अभिवृद्धि गर्न सके यहा“ पनि पर्यटकीय गतिविधि बढ्ने निश्चित छ । यसैगरि कर्णाली प्रदेशमै रहेको जाजरकोट जिल्लामा प्राकृतिक विविधता मात्र नभएर कला–संस्कृति जीवन्त रुपमा पाइन्छन् । अमूल्य जडीबुटी, निरन्तर बगिरहेको भेरी नदी, ऐतिहासिक दरबारले जाजरकोटको परिचय थेगिरहेको छ । खुँडा, दमाहा, मयुरजस्ता मौलिक नाचको विरासत पनि छ यहाँ । भेरी नदी हुँदै कर्णाली चिसापानी पुलसम्मको साहसिक जलयात्रा निकै रोमाञ्चकारी हुने देखिए पनि त्यसलाई व्यावसायिक रुपमा निर्माण गर्न अब लामो समय लगाउनु हँुदैन । भेरी नदीमा भर्खरै सुरु भएको राफ्टिङ र परीक्षण उडानमा सीमित प्याराग्लाइडिङलाई व्यवसायिक बनाउन सके त्यसले पर्यटकीय चहलपहल बढाउने छ । यसैगरि कालिकोटको जैविक विविधतालाई पनि कम आँक्न मिल्दैन । यहाँका देवल तथा मष्टका थानहरू धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण रहेका छन् ।

रुकुम मगर बाहुल्यको जिल्ला हो । त्यसैले मगर संस्कृति र जीवनशैली अवलोकनका लागि यो जिल्ला जीवन्त छ । रुकुममा जिगरे मन्दिर, पुपाल लेक स्थानीय पर्यटकीय स्थल हुन् । यहाँ बहुमूल्य जडिबुटी यार्चागुम्बा पाइन्छ । सिस्ने हिमाल, ढोरपाटन आरक्षण क्षेत्रको ६० प्रतिशत भाग रुकुममा पर्छ । परम्परागत कृषि पेशामा आधारित रहेको सल्यानमा नेपालकै उत्कृष्ट खुकुरी निर्माणका रुपले प्रख्यात रहेको छ । कुपिण्डेदह यहाँको धार्मिकस्थलको रुपले प्रसिद्ध छ ।

यसका साथै सांस्कृतिक अध्ययन र ऐतिहासिक तथा पुरातात्विक अध्ययन अनुसन्धानका लागि समेत कर्णाली प्रदेशलाई प्रवद्र्धन गर्न सकिन्छ । कर्णाली प्रदेश सरकारले यस प्रदेशमा कृषि पर्यटन, जडीबुटीकेन्द्रित पर्यटन, संस्कृति केन्द्रित पर्यटनजस्ता बहुविधागत कार्यमूलक पर्यटनको गन्तव्यस्थलका रूपमा पनि यस प्रदेशलाई विकास गर्न सक्छ ।

कर्णाली जडिबुटीको खानी हो । कर्णालीमा भएका जडिबुटीहरुको पहिचान, संरक्षण र संकलन तथा यसको प्रशोधन गर्न सक्ने हो भने विश्वको ध्यान कर्णालीमा केन्द्रित गर्न सकिन्छ । जसले गर्दा कर्णालीलाई समृद्धिको शिखरमा पु¥याउन सकिन्छ । कर्णालीमा नाचिने ढालनाच, हुड्के नाच, गर्रा, पैसेरी, ह्यूफा, मारुनीदेखि भोसी र यहाँका पञ्चेबाजाहरु पनि पनि अमूल्य छन् । तिनीहरुको प्रचार प्रसार गर्न सक्ने हो भने पनि कर्णालीमा पर्यटनको अथाह सम्भावना छ ।

अर्को तर्फ कर्णाली आफैमा नेपाली भाषाको उद्गमस्थल भएकोले यहाँ भाषा र साहित्यको विकास गर्न सकिन्छ । जसले गर्दा विश्वमा रहेका विद्वानहरु समेत कर्णालीमा आउन सक्छन् । कर्णालीले एकातिर पर्यटकीय विकास गर्न सक्छ भने अर्काेतर्फ विश्वमा चिनिन सक्छ । कर्णाली मुलुक समृद्धिको मुहान बन्न सक्छ । कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो, जहाँ सम्भावनाले अवसर दिएको छ । रोजगारी दिएको छ । बाँच्ने आधार दिएको छ । लगानीका अभावमा कर्णालीका थुप्रै सम्भावनाले टुलुटुलु हेरिरहेका छन । यस अर्थमा हेर्दा अब कर्णालीमा आएर दुःखका गीत होइन समृद्धिका गीत लेख्न बाध्य बनाउने अवस्था श्रृजना गर्नु अहिलेको आवश्यकता हो । जसका लागि केवल सरकारको भर परेर मात्र केही हुन सक्दैन । आम नागरिकदेखि सरोकारवालाहरु सबै एक भएर अगाडी बढ्ने हो भने असम्भव केही छैन ।