Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

मरणासन्न अवस्थामा प्रहरीले उद्धार गरेकी महिला भन्छिन्– परपुरुषसँग लागेको आरोपमा श्रीमान्‌ले दिसासमेत खुवाए

हुम्ला |

परपुरुषसँग लागेको आरोपमा श्रीमान् र गाउँलेले कुटपिट गरिरहेको अवस्थामा उद्धार गरिएकी हुम्ला सिमकोटकी एक महिलाले आफूलाई दिसासमेत खुवाइएको बताएकी छिन्। निर्घात कुटपिट भइरहेको अवस्थामा सिमकोट गाउँपालिका–७ ओख्रेनाकी २३ वर्षीया एक महिला र पुरुषलाई शुक्रबार दिउसो प्रहरीले उद्धार गरेको थियो।

मरणासन्न अवस्थामा प्रहरीले उद्धार गरेकी महिला भन्छिन्– परपुरुषसँग लागेको आरोपमा श्रीमान्‌ले दिसासमेत खुवाए
गाउँलेले ती महिला र पुरुष दुवैलाई मोसो दलेर जुत्ताको माला लगाइ बाँधेर कुटपिट गरेका थिए। उनीहरुलाई गाउँ घुमाउँदै गर्दा पुगेको प्रहरीले शुक्रबार दिउसो १ बजे उद्धार गरेको थियो। दुवै जनालाई आफ्नो श्रीमानले काठले दिसा टिपेर खुवाएको ती महिलाले बताइन्।

बिहान ८ बजेबाट उनीहरुलाई कुटपिट गर्न थालिएको थियो। मरणासन्न हुने गरी कुटपिट हुन थालेपछि गाउँलेले नै प्रहरीलाई खबर गरिदिएका थिए। त्यसपछि धारापोरी चौकीबाट पुगेको प्रहरीले उनीहरुलाई उद्धार गरेको जिल्ला प्रहरी प्रमुख डीएपी सूर्यप्रकाश सुवेदीले बताए।

उनीहरुलाई बाँधेको डोरी प्रहरीले नै फुकाइदिएको थियो। तर, युवकलाई भने घाइते अवस्थामा हत्कडी लगाएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो। त्यसपछि मात्र उनको हतकडी खोलिदिएको थियो।

डीएसपी सुवेदीले कुटपिट र अभद्र व्यवहारमा संलग्नलाई कारबाही गर्ने बताए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमानसहित आठ जनालाई पक्राउ गरेको छ। सुवेदीले भने, “पीडितलाई संरक्षण गर्ने नीति अनुसार दुवै जनालाई प्रहरी निगरानीमा संरक्षण दिएका छौँ। पक्राउ परेकालाई भोलि म्याद थपका लागि अदालत लैजान्छौँ।”

महिलाका दुई वर्षका छोरी र ४ वर्षका छोरा छन्। उनको १७ वर्षकै उमेरमा विवाह भएको थियो।

यसरी भयो घटना

वर्षाको समयमा गाउँका अधिकांश वासिन्दा लेकतिर बसाइँ सर्छन्। त्यसकारण डाँडाफया गाउँका अधिकांश बासिन्दा ओख्रेना गएका थिए। बेसीमा कोदो पाकेको हुनाले पीडित महिला शुक्रबार कोदो टिप्न गाउँभन्दा तलको औल भन्ने ठाउँमा गएकी थिइन्। फर्किँदा साँझ साढे ६ बजे बाटामा उनीहरुको भेट भयो।

उनीहरुले करीब १० मिनेट कुराकानी गरेर छुट्टिए। छुट्टिँदा उनीहरुको फोन साटिएछ। महिलाले घर पुगेपछि मात्र फोन साटिएको थाहा पाइन्। उनले अर्को घर पुगेर दिदी नाता पर्नेलाई फोन राख्न दिइन्। उनी घरमा खाना खाएर गाउँकै अर्को घरमा सुत्न गइन्।

उनी र ती पुरुषको सम्बन्धलाई लिएर यसअघि नै श्रीमान्ले शंका गर्ने गरेका थिए। त्यो दिन भएको भेटबारे उनले लेकमै थाहा पाएपछि राति नै बहिनीलाई लिएर बेसी झरे। तर, डाँडाफया पुग्दा घरको ढोकामा ताल्चा लगाएको देखे।

छिमेकको घरमा सुतेको थाहा पाएपछि श्रीमतीलाई घरै बोलाए। केही कुरा नगरी सुतेका उनले भोलिपल्ट बिहान ७ बजेबाट केरकार शुरु गरे। कुटपिट पनि थाले। चर्को स्वरमा कुटपिट गर्न थालेपछि ८ बजेसम्ममा गाउँले पनि जम्मा भए। त्यसपछि गाउँलेले आरोपित पुरुषलाई पनि त्यहीँ लिएर आए।

दुवैलाई हातखुट्टा बाँध्न गाउँलेले सहयोग गरेका थिए। त्यसपछि काठमा दिसा ल्याएर श्रीमान्ले श्रीमती र ती पुरुष दुवैलाई खुवाएका थिए। लगत्तै उनले आफ्नी श्रीमतीको कपाल काटिदिए। अनि दुवै जनाको मुखमा मोसो दलेर जुत्ताको माला लगाइएको थियो। उनीहरुलाई गाउँलेले निर्घात कुटपिट गरेपछि दिउसो स्थानीय कसैले प्रहरीलाई खबर गरेको थियो।

हिमालखबरबाट