अबैध मोबाईलसहित एक युवक पक्राउ
नेपालगन्ज |
६ लाख बढिअबैध २५ थान मोबाइलसहित एक युवक पक्राउ परेका छन् । नेपालगन्ज चाडबाड नजिकिएसगैं भन्सार छली, चोरी निकासीका गतिविधि बढ्न थालेपछि बाँके प्रहरीले सक्रियता देखाएको छ ।
भन्सार छली, चोरी निकासीका गतिविधि निस्तेज पार्न सक्रियरुपमा लागेको बाँके प्रहरीले आईतबार बिहान नेपालगन्जबाट ठूलो मात्रामा अबैध मोबाईलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको नेतृत्वमा खटेको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ निवासी ३१ वर्षिय अमरनाथ सोनीलाई अबैध मोबाईलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिए ।
उनका अनुसार आईतबार बिहान अन्दाजी साढे ९ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ बाट सोनीले चलाएको भे ५ प २६८१ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा सोहि स्कुटरको डिक्की भित्र राखेर भन्सार छली चोरी निकासी गरी भारतबाट नेपाल ल्याउदै गरेको विभिन्न ब्राण्डका २५ थान मोबाईल बरामद गरिएको हो ।
प्रहरी प्रवक्ता खड्काका अनुसार अप्पो ए फाईभ एस ४ थान, रियलमी फाईभ आइ २ थान, नारजु ट्वान्टी ५ थान, रेडमी नोट एट १ थान, पोको एक्स टू १३ थान गरि २५ थान मोबाईल बरामद गरिएको हो ।
उनका अनुसार बरामद गरिएको विभिन्न ब्राण्डका मोबाईहरुको अन्दाजी मूल्य ६ लाख ६५ हजार रहेकोछ । प्रहरीले बरामद गरेको मोबाईल, स्कुटर र सोनीलाई आवशयक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज पठाएको छ ।







