Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

कर्णाली, कोरोना र कटुसत्य

कुनै समयमा निकै बलवान ठहरिएको कर्णाली विस्तारै कमजोर हुँदै गयो । कर्णालीलाई कमजोर बनाउनेहरु अरु कोही नभएर देशका शासकहरु नै हुन् । शासकहरुले भौगोलिक विकटताको दोष देखाउँदै कर्णालीलाई जहिले पनि अध्यारोमै राखिराखे । कर्णाली विकट भौगोलिक रुपमा होला तर प्राकृतिक रुपमा धनि छ र यसलाई उपयोग गर्नुपर्छ भन्ने भावनाको विकास कहिल्यै भएन । कर्णालीले जहिले पनि सिंहदरबारलाई हेरि रहयो विकासका खातिर । तर सिंहदरबारले कहिल्यै कर्णालीलाई देख्न सकेन । यो नै कर्णाली पछि पर्नुको प्रमुख कारक हो ।

त्रिलोक अधिकारी

अर्कोतिर कर्णालीको नाम भजाएर आफ्नो दुनो सोझ्याउनेहरुले पनि कर्णालीलाई माथि उठ्न दिएनन् । काठमाडौमा बसेर कर्णालीको प्रतिवेदन तयार गर्ने र डलरको खेती गर्नेहरुका कारण पनि कर्णालीले पछौटेपनको सामना गर्नु परेको हो । कर्णालीमा भएका प्राकृतिक स्रोत साधनको व्याख्या गर्ने र कर्णालीको गरिबीको वर्णन गरेर डलरको खेती गर्नेहरुले काठमाडौंमै घर बनाएर उतै बसे तर हामी कर्णालीवासी हौ भन्ने छोडेनन् । जसका कारण पनि कर्णालीले गरिबीको रेखा मेट्न सकेन ।

देशमा आएको संघीयताले कर्णालीलाई नराम्रो झड्का दियो । कुनै दिन डोटी गएर रोटीको जोहो गर्नु पर्ने अवस्थामा फर्काउनका लागि संघीयताको दिएको झट्काको सामना गर्नका लागि कर्णालीका ४ जना सपुतहरुले आफ्नो ज्यानको बलिदानी दिनु प¥यो । जसको उपलब्धीका रुपमा कर्णाली छुट्टै प्रदेशको रुपमा स्थापित त भयो त्यो रगतको खोलो बगाउनेहरुले केही पाउन सकेनन् । उनीहरुलाई शहिदको पगरी गुथाइयो तर उनीहरुका परिवारहरु अहिलेपनि विभिन्न अभावमा पिल्सिरहेका छन् ।

संघीयताको अभ्याससँगै कर्णालीको मुहार फेरिएला भन्ने आशा पलायो । कर्णालीका जनताको जीवनस्तरमा परिवर्तन आउला भन्ने लाग्यो । अब त सिंहदरबारले नजर लगाएन भने पनि आपत्ति मान्नु पर्ने अवस्थाबाट मुक्ति पाइयो भन्ने लाग्यो तर यो सब देखाउने दाँतको रुपमा मात्र देखिएको छ । फेरिन सकेको छैन अझैंपनि कर्णालीको मुहार । अहिलेपनि भारत र तेस्रो मुलुकको भरमा परेर बाँच्नु परेको छ कर्णालीवासीले । दैनिक आवश्यकताहरु परिपूर्ति गर्नका लागि आत्मनिर्भर बन्न सकेको छैन । कर्णाली आत्मनिर्भर बन्नका लागि सरकार र सरोकारवालाहरुले माखो मार्न सकेका छैनन् ।

स्थानीय तहको निर्वाचन भएपछि अब त आफ्नै जनप्रतिनिधिहरुबाट काम हुने भए भन्ने आशा गरेकाहरु जनप्रतिनिधि नै मुठाका मुठा नगदसहित पक्राउ पर्न थालेपछि तिनीहरुबाट आशा गर्नेहरुको मन नराम्रोसँग पोलेको छ । नातावाद, कृपावादको कारणले राम्रालाई भन्दा हाम्रालाई अवसर दिन थालेपछि कर्णालीको मुहार फेरिन्छ भन्नेमा शंका उत्पन्न हुन थालेको छ । प्रदेश सरकारले गरेका निर्णयहरु समेत कार्यान्वयन हुन नसक्नु भन्दा दुःखद अरु के हुन सक्छ । नागरिक समाजले अगुवाई गरेको आन्दोलनमा घाइते भएकाहरुले राहतको महसुस गर्न सकेका छैनन् । कर्णाली स्थापनाका लागि रगत बगाउनेहरुका नाममा एउटा चोकको नामाकरण हुन सकेको छैन । तर शक्ति र सत्ताको आडमा व्यापारिक घरानालाई नगरपालिकाले जग्गा वितरण गर्नुले कर्णाली फेरिन्छ भन्ने सोच्नु पनि आकाशको फल झँै भयो भन्दा अतियुक्ति नहोला ।

अर्गानिक प्रदेशको निर्माण गर्ने योजना ल्याउने सरकारले विषादी र रसायनिक मलको भरमा जनतालाई सान्त्वना दिनु हाँस्यास्पद मात्र होइन लज्जास्पद पनि हो । घण्टाघर पार्कको आडमा रहेको जग्गा नातावाद र कृपावाद अनि शक्ति र सत्ताको आडमा एउटा प्रतिष्ठानलाई दिइएको हो । एउटा बाटोलाई सही ढंगले सर्भे गर्न सक्ने क्षमता नराख्नेहरुबाट कर्णालीको काँचुली फेरिन सक्दैन भन्ने कुरालाई जनताले राम्रोसँग आंकलन गरिरहेका छन् । जनप्रतिनिधिहरुले यो बुझे हुन्छ कि निर्वाचन पाँच–पाँच वर्षमा हुने गर्दछ । विश्वमा फैलिएको कोरोना निकै ढिला गरि आएको हो कर्णालीमा । कर्णालीमा कोरोना भित्रिनै नदिने अनेकन उपायहरु हुँदाहुँदै पनि नेताहरुको अकर्मण्यताका कारण कर्णालीमा कोरोना भित्रिएको हो भन्दा उनीहरुको चित्त दुख्छ होला ।

तर अदूरदृष्टिताको कारणले कर्णालीमा कोरोना भित्रिएको हो । स्रोत साधनको कमी छ भन्दैमा बुद्धि र बरकतमा समेत कमी हुनु हुँदैनथ्यो । भारतबाट आफ्नो घर फर्कन चाहनेहरुलाई घर फर्काउन बाध्य थियो कर्णाली सरकार । त्यो जनताले पनि बुझेका छन् । तर तिनीहरुलाई उचित व्यवस्थापन गर्न नसक्नु नै कर्णाली सरकारको कमजोरी हो । हामीले क्वारेन्टाइनको निर्माण ग¥यौ, पिसिआर जाँच ग¥यौ भनेर उम्कन पाइनेवाला छैन ।


तर पनि कर्णालीवासीले देखाएको सदासयताका कारण अझ कोरोना फैलिनबाट रोकियो भन्ने ठान्नु पर्दछ । लकडाउनको नाममा जनताको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई छैन । तर यहाँ जनताले पनि कोरोनालाई सामान्य रुपमा हेर्नु र सरकारले पनि आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्न नसक्नु नै यसको जड हो । कर्णालीलाई विकासको क्षेत्रमा पछाडि धकेल्ने भनेको कोरोना हो भनेर नेताहरुले पन्छिन पाउने अवस्था छँदै छैन । भोलिका दिनमा जनताले एक एक हिसाव माग्ने छन् त्यतिबेला तिमीहरुले उत्तर दिनु पर्नेछ । किन बन्न सकेन कर्णाली ? किन समृद्धिको दिशातर्फ अगाडि बढेन कर्णाली ? पाँच वर्षको अवधिमा के ग¥यौ कर्णालीमा ? यावत प्रश्नहरुको उत्तर तयार पारेर राखे हुन्छ ।