Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

सरकार ! शैक्षिक सत्र के हुन्छ अब ?

विश्वमा फैलिएको कोरोना महामारीको सबै ठूलो असर शिक्षा क्षेत्रमा परेको छ । चैत्र ७ गतेदेखि हुने भनिएको एसइईको परीक्षालाई रोकेर सरकारले कोरोना संक्रमणको फैलावट रोक्नका लागि जुन लकडाउनको घोषणा ग¥यो त्यो लकडाउनले नेपालमा कोरोनाको फैलावटलाई कतिसम्म रोक्यो भनेर आंकलन गर्नु पर्ने बेला आयो ।

लक्ष्मीकुमारी खनाल

किनकी परीक्षाको सबै तयारी पूरा भइसकेपछि विद्यार्थीदेखि शिक्षकहरु सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेको अवस्थामा परीक्षा स्थगीत गरेर लकडाउन गर्नले एसइई परीक्षा दिने विद्यार्थीहरु मानसिक रुपमा निकै तनावमा परे भने शारिरीक र आर्थिक रुपमा समेत उनीहरुले क्षति व्यहोर्नु प¥यो । विद्यार्थीले लिएको परीक्षाको अंकलाई आधार मानेर जुन खालको नतिजा प्रकाशित गरियो त्यसले विद्यार्थीहरुमा हर्ष र बिस्मात दुबै ल्यायो । किनकी कतिपय विद्यार्थीहरुले आफैले लेखेर ल्याएको जस्तो ग्रेड प्राप्त गर्न नसकेको गुनासो गरिरहेका छन् । अर्कोतिर अधिकांश नीजि विद्यालयहरुले ए प्लस नै दिएर विद्यार्थीको उचित मूल्याङ्कन गरेका छैनन् । जसले गर्दा उनीहरुाको उच्च शिक्षामा के असर पर्छ भन्ने कुरालाई आंकलन नै गरिएको छैन ।

कक्षा ११ ा विद्यार्थीहरुको हालत अहिले त्यस्तै भएको छ । कहिले विद्यालयले नै परीक्षा लिने हल्ला कहिले परीक्षा नै दिनु नपर्ने हल्ला अनि कहिले परीक्षा दिनु पर्ने जस्ता हल्लाले विद्यार्थीहरुको मन, शरीर र दिमाग सबैलाई हल्लाईदिएको छ भने अभिभावकहरुको आर्थिक अवस्थालाई समेत हल्लाइदिएको छ ।

बैशाख जेठमा हुनु पर्ने १२ कक्षाको परीक्षाको कुनै टुङ्गो छैन । यसले गर्दा विद्यार्थी र अभिभावक दुबैलाई निकै असहज भइरहेको छ । कोरोना महामारी नआएको भए यतिबेला ब्याचुलर पढ्न थाल्ने समयमा १२ कक्षाको परीक्षा समेत नहुनुले एकातिर विद्यार्थीहरुलाई तनाव उत्पन्न भइरहेको छ भने अर्कोतिर परीक्षा कहिले हुने कसरी हुने र कहाँ हुने भन्ने कुराको समेत टुङ्गो नहुनु राज्यको गैर जिम्मेवारीको पराकाष्ठा हो ।

चैत्रमा हुन थालेको एसइई परीक्षा संचालन गर्ने, त्यसपछिका परीक्षालाई अगाडि सारेर भएपनि संचालन गर्ने र देशमा कोरोनाको संक्रमण बढ्न थालेपछि मात्र लकडाउन गर्नु पर्ने अवस्थालाई नबुझेर सरकारले लकडाउन नगर्ने समयमा लकडाउन गरेर र अहिले दैनिक सरदरमा १३ सय कोरोनाका विरामीहरु देखिँदाको अवस्थामा हवाई सेवादेखि लामो दुरीका यातायात समेत खुला गर्नुले विद्यार्थीको भविष्यलाई आंकलन नै नगरेको स्पष्ट हुन्छ ।

सरकारले शिक्षाको गतिलाई यस्तै अवस्थामा छोडिराख्ने हो भने विद्यार्थीको एक शैक्षिक सत्र खेर जाने निश्चित छ । विद्यार्थीको एक शैक्षिक सत्र खेर जानु भनेको सरकार कति वर्ष पछाडि पर्नु हो भन्ने आंकलन कोही कसैले गरेका छैनन् । अहिले विद्यार्थीहरु घरमा बस्दा बस्दा आत्तिएको अवस्थामा छन् । उनीहरुलाई न घरमा पढ्ने वातावरण छ न त विद्यालयमा । यसले एकातिर विद्यार्थीको मानसिक स्वास्थ्यमा समेत असर पर्ने निश्चित छ ।

सरकार वा सरोकारवालाहरुले अनलाइन शिक्षा शिक्षणको नाममा नौटंगी गरिरहेका छन् । कर्णाली प्रदेशका कतिपय गाउँहरु यस्ता छन् कि रेडियो सुन्नका लागि रुखमा र फोनमा कुरा गर्नका लागि घरको धुरीमा चढ्नु पर्ने बाध्यता छ । यस्तो अवस्थामा अनलाइन शिक्षा शिक्षणको वैकल्पिक विधि कसरी सम्भव हुनसक्छ ? यो त नीजि विद्यालयहरुले केवल शिक्षाका नाममा अभिभावकहरुको ढाड सेक्ने गरि शुल्क उठाउने र आफू मोटाउने खेलो मात्रै हो ।

वैकल्पिक शिक्षाको रुपमा टोल शिक्षकको व्यवस्थापन एउटा उपाय हुन सक्छ । तर त्यसलाई ध्यान दिनुको साटो रेडियो तथा टेलिभिजनबाट दिइने अनलाइन शिक्षा शिक्षणको कुरा गरेर अभिभावकको आँखामा छारो हाल्ने बाहेक अरु काम भएको छैन । यस्तो अवस्थामा सरकारले आफ्नो प्रभावकारी भूमिका चाल्न नसक्नु शैक्षिक क्षेत्रका लागि राम्रो होइन । यतिबेला वैकल्पिक शिक्षणका नाममा गरिएको अनलाइन शिक्षण प्रभावकारी छैन भन्ने कुरालाई सबैले बुझिसकेका छन् । यस्तो अवस्थामा अनलाइन शिक्षाका नाममा अभिभावकसँग शुल्क उठाउनु सरासर लगत छ । सरकारले सरकारी मात्र होइन नीजि क्षेत्रबाट संचालन गरिएका विद्यालयको पनि अनुगमन गरेर नाजायज शुल्क उठाउने कार्यलाई रोक्न आवश्यक छ ।

स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर अन्य मुलुकहरुले शैक्षिक संस्था संचालन गरिसकेका छन् । हाम्रो देशका शहरी क्षेत्रहरु भन्दा ग्रामीण क्षेत्रहरु धेरे छन् । जसले गर्दा हामीले पनि ग्रामीण क्षेत्रहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर विद्यालय संचालन गर्न सकिने अवस्था छ । तर त्यसका लागि कोरोनाको फैलावटलाई नियन्त्रणका लागि अभिभावकदेखि शिक्षक र स्वयम् सरकारी निकायहरु समेत तदारुपताका साथ लाग्नु पर्दछ ।


विद्यार्थीको एउटा शैक्षिक सत्र खेर जान दिनु हुँदैन । जसका लागि राज्यले अनेकन विधिहरु अपनाउनु पर्छ । जसले गर्दा एकातिर विद्यार्थीको सिकाइमा पनि ह्रास नहोस् र अर्कोतिर कोरोनाको कारण पनि विद्यार्थी, शिक्षक र अभिभावकको स्वास्थ्यलाई समेत जोगाउन सकिओस् । यदि होइन भने एसइईका विद्यार्थी जस्तै आन्तरिक रुपमा विद्यालयले गरेको मूल्याङ्कनलाई आधार मानेर अरुलाई पनि ग्रेड सिट वितरण गर्ने हो विभिन्न बहानामा अभिभावकलाई थोपरिने आर्थिक बोझबाट मुक्त गराउन जरुरी छ ।