सुर्खेतमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र
सुर्खेत । सुर्खेतमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन कार्यलाई तीव्रता दिइएको छ ।
चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले जिल्लाका सबै व्यापारीक केन्द्रका बजारहरुमा जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई तीव्रता दिएको हो ।
विहीबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नमूना बजार अनुगमनको शुरुवात गरिसक्नु भएको छ । सदरमुकाम वीरेन्द्रनगरस्थित न्यूरोड नजिकैको शितल जनरल स्टोरमा प्रशासकीय अधिकृत श्रीशम्शेर रानासँगै नमूना बजार अनुगमनमा निस्कनु भएका प्रजिअ रेग्मीले धेरैजसो समान म्याद गुज्रिने अवस्थामा रहेको पाइएको बताउनुभयो ।
उहाँले त्यस्ता बस्तुलाई समय अगावै विक्रीवितरण गरिसक्न बिक्रेतालाई सुझाव दिएको बताउनुभयो । ‘दशैं तिहारजस्ता चाडपर्व नजिकिएसँगै जिल्लाका प्रमुख व्यापारीक केन्द्रका बजारमा सरसामान किन्ने स्थानीयवासीको एकाएक चहलपहल बढ्न थालेको छ,’ उहाँले भन्नुभयोे, ‘कोरोनाका कारण लामो समयदेखि बन्द रहेका यहाँका बजार, उद्योग तथा होटेल अहिले पूर्णरुपमा सञ्चालनमा आएपछि व्यवसायीले झुक्याउने र उपभोक्ता ठगिन सक्ने जोखिमलाई प्रशासनले रोक्छ ।’
उहाँले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अनियमितता रोक्न प्रशासनले अनुगमनलाई तीव्रता दिएको बताउनुभयो । ‘अनुगमनलाई निकै प्राथमिकतामा राखेर प्रायः दैनिक रुपमै बजार अनुगमन गरिनेछ,’ उहाँले भन्नुभयो, ‘खाद्य वस्तुको विक्री वितरण तथा गुणस्तर र म्याद भए÷नभएको बारे अनुगमन गरिनेछ ।’ उहाँले बजारमा रहेका सप्लायर्स पसल, किराना, तरकारी तथा मिठाइ पसलमा समेत अनुगमन गरिने बताउनुभयो । बजारमा कालोबजारी, मूल्यवृद्धि, बजार, यात्रा र वितरणमा सुशासन ल्याउनका लागि अनुगमनलाई तीव्रता दिइएको उहाँको भनाइ थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जिल्ला प्रशासन कार्यालयबाट तीन वटा अनुगमन समिति समेत गठन गरिएको जानकारी दिनुभयो । उहाँले ‘खाद्यान्न, लत्ताकपडा र यात्रामा एक÷एक जनालाई जिम्मेवारी दिएर अनुगमन गर्न लागिएको बताउनुभयो ।
उहाँका अनुसार कोभिड–१९, को मौका छोपेर बजारमा गुणस्तरहीन औषधि विक्री वितरण गर्ने, तोकेको भन्दा बढी मूल्य लिने, प्रतिवन्धित औषधि विक्री वितरण गर्ने, अरुको नाममा मेडिकल पसल चलाउने, दर्ता विना औषधि पसल सञ्चालन गर्ने पसललाई कारवाहीको दायरामा ल्याइने छ ।
‘चाडपर्वका लागि लक्षित गरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास मौज्जात समेतको विवरण संकलन गरिनेछ,’ उहाँले भन्नुभयो, ‘पर्याप्त मात्रामा पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास मौजातलगायतको विवरण राखिने छ ।’
उहाँले वीरेन्द्रनगरमा सञ्चालित चाडपर्व लक्षित सहुलियत दरका पसलहरुको समेत अनुगमन गरिने बताउनुभयो । ‘सुर्खेतमा विगतको भन्दा शान्ति सुरक्षासँगै बजारमा केही सुधारका लक्षण देखिएका छन,’ उहाँले भन्नुभयोे, ‘प्रहरीलाई सूचना आउनासाथ कालोबजारी गर्ने व्यापारीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही गरिने छ ।’ उहाँले स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा समेत जिल्लाका सबै बजारको अनुगमन गरिने बताउनुभयो ।
यस्तै राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य कुमारी भुसालले दशैं तिहारजस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामान बिक्री वितरणका लागि आएको हुन सक्ने भएकाले अनुगमनलाई कडाई गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले दैनिक उपभोग्य वस्तुमा देखिने अनियमितता, मिसावट एवं म्याद गुज्रेका वस्तुले उपभोक्ताहरुको स्वास्थ्यमा नराम्रो असर पार्ने भएकाले प्रशासनका सबै निकाय परिचालन गरिनु पर्ने बताउनुभयो ।







