नेकपा कर्णालीको विवादले लियो अर्को मोड
सुर्खेत ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको विवादले अर्को मोड लिएको छ । दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुवै पक्ष सतहमै उत्रिएका हुन् । मुख्यमन्त्री शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई प्रमुख सचेतकमा नियुक्ती गरेसँगै विवादले झन चर्को रुप लिएको हो ।

मुखयमन्त्री शाहीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार प्रमुख सचेतक गुलाबजङ शाहले मंगलबार १ बजेका लागि दलको बैठक बोलाएका थिए । तर, शाहले बोलाएको बैठक बस्न नपाउँदै प्रमुख सचेतकलाई मुख्यमन्त्री शाहीले जिम्मेवारीबाट हटाएपछि विवादले झनै नयाँ मोड लिएको हो ।
तर आज सोमबार मात्र जिम्मेवारी पाएकी प्रमुख सचेतक नेपालीले पनि मंगलबारकै लागि बैठक बोलाइसकेको जानकारी दिएकी छन् । शाहले बोलाएको भन्दा अगाडिको समयमा नेपालीले बैठक बोलाएकी छन् । शाहले दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । नेपालीले बिहान ११ बजेका लागि बैठक बोलाएकी छन् ।
तर प्रमुख सचेतकबाट हटाइएका गुलावजंग शाहले भने मुख्यमन्त्रीले आफूलाई पदमुक्त गर्ने अधिकार गुमाइसकेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘कोमामा गएको नेतालाई जिम्मेवारीबाट हटाउने अधिकार छैन, ।’ ‘आइतबार १८ जना सदस्यले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अब दलको नेताले कुनैपनि निर्णय गर्न पाउँदैन ।’ शाहले मंगलबार दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेसमेत प्रष्ट पार्नुभयो । ‘मंगलबार मेरै नेतृत्वमा दलको बैठक बस्छ र निर्णय पनि हुन्छ,’ शाहको टिप्पणी छ ।






