Loading... आजः ५ बैशाख २०८१, बुधबार । Wednesday 17th April 2024

‘२५ क्वीन्टल केराउ तस्करी गर्न नदिँदा असई र जवान मारिए’

अभियुक्तको बयान - मिल्ने प्रस्ताव अस्वीकार गरेपछि मार्‍यौं

काठमाडौं ।

कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकलाई शनिबार राति मोहना नदी आसपासको क्षेत्रबाट तस्करी हुन लागेको सूचना आएको थियो । त्यसकै आधारमा बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा प्रहरी जवान रामबहादुर साउदलाई समेत साथमा लिएर उनी त्यस क्षेत्रतिर गएका थिए ।

प्रहरीलाई देखे तस्कर समूह सुरुमै सचेत हुने भएकाले उनी झाडीमा लुकेर बसेका रहेछन् । ‘मोटरसाइकल एकठाउँमा राख्नु र झडप अर्के ठाउँमा हुनुसँगै अभियुक्तको बयानले पनि यसको संकेत गरेको छ’, प्रहरी अधिकृतहरु शंका गर्छन् ।

लुकेर सबै दृश्य नियालिरहेका असई विकले नभन्दै तस्कर समूहका व्यक्ति रेकी गर्न आएको देखेको अनुमान गरिएको छ । फर्किएको केहीवेरमा चार जना व्यक्ति गोरुगाडा लिएर आइपुगेपछि विक र साउद दृश्यमा देखिएको पाइएको छ ।

‘प्रहरीले टर्च बालेपछि तस्करहरु झसंग भएको बयानका क्रममा खुलेको छ’, सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदी पनि भन्छन्, ‘त्यसपछि नै विवाद भएको देखिन्छ ।’

गोरुगाडमा ५० बोरा (अन्दाजी २५ क्वीन्टल) केराउ बोकेका उनीहरुले विकलाई कुरा मिलाउन प्रस्ताव गरेको पनि पाइएको छ । तर, विक अडानबाट पछि हटेनन् ।

विवाद लामै भएपछि पहिले रेकी गर्न आएका व्यक्तिहरु पनि त्यहाँ पुग्छन् । त्यसक्रममा एक जना व्यक्तिले जवान साउदको टाउकोमा लाठी बजार्छन् । त्यसपछि विकले साथमा भएको पेस्तोल निकाल्न खोजेको पक्राउ गरेका व्यक्तिको बयान छ । तर, हतियार निकाल्न नपाउँदै तस्करको समूहले उनलाई लडाइदिएको पाइएको छ ।

त्यसक्रममा सबैले लाठी, फरुवा र कोदालोले हानेको पाइएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट दुवै जनाको मृत्यु भएपछि मोहना नदीमा घिसार्दै लगेर शव फ्यालेको पाइएको डीआईजी सुवेदी बताउँछन् । शव फ्यालेपछि चार जनाले केराउलाई पारिपट्टी रहेका भारतीय तस्करको जिम्मा लगाएको देखिएको अधिकृतहरु बताउँछन् ।

डीआईजी सुवेदीका अनुसार जवान साउदको शव खाल्डोमा फ्यालिएकाले बालुवाले पुरिँदा फेला पार्न कठिनाइ भएको थियो भने असई विकको शव पानीमा तैरिरहेको अवस्थामा आइतबार भेटिएको थियो ।

विकको पेस्तोल र मोबाइल भने भेटिएको थिएन । तर, मंगलबार साउदको शव भेटिएसँगै हतियार र मोबाइल पनि प्रहरीले फेला पारेको छ ।

आइतबार घटना सार्वजनिक भएलगत्तै प्रहरीले १३ जना स्थानीय तस्कर समूहका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो भने मंगलबार तीमध्ये ७ जनाले कसुर स्वीकारेका थिए ।

दुई जना अझै फरार

जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनामा संलग्नता पुष्टि भएको भन्दै ७ जनालाई मंगलबार सार्वजनिक गरेको छ ।

यसरी सार्वजनिक गरिएका व्यक्तिमा धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल राना छन् ।

उनीहरुलाई प्रहरी सीमा क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरुले असई विकले मटर तस्करीमा अवरोध गर्न खोजेपछि हत्या गरेको बयान दिएको पत्रकार सम्मेलनमार्फत पनि जानकारी गराइएको छ ।

घटनामा संलग्न दुई जना अझै फरार रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् । उनीहरुका अनुसार फरारको खोजी कार्य जारी छ भने अभियुक्तको म्याद थप गरेर बयान लिने र थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ । अनलाइन खबर बाट साभार