Loading... आजः १७ मंसिर २०७७, बुधबार । Wednesday 2nd December 2020

साझा र विवेकशील एकीकरण हुँदै

काठमाडौं ।

२०७५ साल पुस २७ मा अलग भएका विवेकशील साझा पार्टी फेरि एकीकरण हुने भएका छन् । अलग भएको झण्डै दुई वर्षमा फेरि पार्टी एकीकरण हुने भएको हो । दुवै दलले मंगलबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेर पार्टी एकीकरण हुन लागेको जानकारी गराएका छन् ।

दुवै दलले गठन गरेका संवाद समितिले एकीकरणका लागि तयार पारेको संयुक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय र संघीय समितिमा छलफल र अनुमोदन गरेर आ–आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि एकीकरण प्रक्रियाले पूर्णता पाउने जनाइएको छ ।

‘सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, समतामूलक सम्मृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा हेरेका यी दुई पार्टी एक भएको देख्न चाहेको सर्वविदित नै छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

विवेकशीलले निर्देश सिलवाल र साझा पार्टीले समीक्षा बाँस्कोटाको संयोजकत्वमा संवाद समिति गठन गरेर एकीकरण प्रक्रियाको थालनी गरेका थिए । गत असार ३१ गतेदेखि संवाद समितिहरूले एकीकरणका लागि वार्ता सुरु गरेका थिए ।

वार्ता समितिले असोज २९ गते साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई ‘संयुक्त प्रतिवेदन’ बुझाएका थिए । उक्त प्रतिवेदनलाई मंगलबार मिश्र र पाण्डेले आ–आफ्नो पार्टीको संघीय र केन्द्रीय समितिमा प्रस्तुत गर्नुभएको छ ।