Loading... आजः २ जेष्ठ २०८१, बुधबार । Wednesday 15th May 2024

प्रधानमन्त्री हटाउने प्रचण्ड प्रस्ताव थापाद्धारा अस्वीकार

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई गृहमन्त्री रामबहादुर थापाले अस्वीकार गरेका छन्। आइतबार बिहान प्रचण्डनिवास खुमलटारमा बोलाइएको भेलामा पुगेका नेकपा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापाले प्रचण्डको प्रस्ताव अस्वीकार गरेका हुन्।

आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीसँग बसिरहेका बेला खुमलटार आउन निम्तो पाएपछि भेट्न पुगेका बादलसमक्ष प्रचण्डद्वारा सो प्रस्ताव गरिएको थियो। ‘‘हामी तत्काल २५ प्रतिशत सांसदको हस्ताक्षर संकलन गरेर संसदको विशेष अधिवेशन बोलाउन दबाब दिँदैछौं, संसदको अधिवेशन बोलाएपछि कांग्रेसको समर्थनमा त्यहीँ अविश्वासको प्रस्ताव लैजाने छौं,’’ प्रचण्डको गृहमन्त्री थापासँग प्रस्ताव थियो, ‘‘त्यसमा अब तपाईंले सहयोग गर्नुपर्‍यो।’’ तर, थापाले भने प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै आफ्नो समर्थन नहुने भन्दै हिँडेका थिए।

आइतबार बिहान प्रचण्डनिवास खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताको उपस्थिति रहेको बेला थापालाई उक्त प्रस्ताव गरिएको हो।

‘‘तपाईंहरूको यो योजनामा मेरो कुनै पनि सहमति हुँदैन, यसरी कुनै पनि निर्णय लिनु हुन्न, यो विधिसम्मत छैन,’’ थापाले प्रचण्डको प्रस्तावमा जवाफ दिँदै भने, ‘‘कुनै पनि निर्णय स्थायी कमिटी र सचिवालय बैठकमा छलफल गरेर मात्रै लिनुपर्छ।’’

उक्त भेलामा वरिष्ठ नेता नेपाललाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने योजना बनाएको पनि थापालाई ‘बिफ्रिङ’ गरिएको थियो। ‘प्रधानमन्त्री हटाउने कुरा विधिसम्मत पनि छैन, स्थायी कमिटीको म्यान्डेट पनि होइन,’’ थापाको थप प्रश्न थियो, ‘‘स्थायी कमिटीले नै निर्णय गरेर प्रतिनिधिसभाको यस कार्यकालभर ओलीजीले सरकार चलाउने निर्णय गरेको हो, त्यो निर्णयको खिलाफमा कसरी जाने आँट गर्नुभयो त?’’

प्रचण्ड–नेपाल समूहले बनाएको योजना स्थायी कमिटी बैठकको निर्णयविपरीत भएको भन्दै थापाले ठाडै अस्वीकार गर्दै सो बारेमा निर्णय गर्न सचिवालय वा स्थायी कमिटी बैठकमा छलफल गर्नुपर्ने सर्त राखेका थिए।

सरकारको नेतृत्त्वका बारे सचिवालय र स्थायी कमिटी बैठकबाट मात्रै महत्त्वपूर्ण निर्णय लिनुपर्नेमा थापाले जोड दिएपछि पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ एक्कासी थापामाथि बर्सिन पुगेको स्रोतले बतायो।

‘‘अब कुनै सचिवालय र स्थायी कमिटी बैठक बस्न जरूरी छैन। अब ओलीजीलाई सीधै संसदबाट हटाउने हो, यो बाहेक अब अर्को विकल्प हामीसँग छैन’’ भन्दै थापासँग श्रेष्ठ झर्किएपछि एक छिन माहोल तनावग्रस्त भएको थियो। प्रवक्ता श्रेष्ठले अब पार्टीका कुनै पनि बैठक नबस्ने र सीधै संसदमा विषय लैजाने भन्दै स्पष्ट धारणा राखेपछि आफ्नो असहमति रहेको भन्दै थापा खुमलटारबाट फर्केका थिए।

खासमा प्रचण्डले खुमलटार बोलाउँदा थापा भने बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको छलफलमा थिए।

‘एक्लै भए मात्रै भेटन आउँछु नत्र आउँदिन’ भनेर थापाले सर्त राखेकामा प्रचण्डले ‘एक्लै भेटवार्ता गर्ने हो’ भन्दै बोलाएपछि उनी खुमलटार पुगेका थिए। तर, खुमलटार पुग्दा प्रचण्डसँग वरिष्ठ नेताद्वय खनाल र नेपालसहित प्रवक्ता श्रेष्ठसमेत देखेपछि थापाले आफूलाई झुक्याएर बोलाइएको भन्दै प्रचण्डसँग असहमति जाहेरसमेत गरेका थिए।