Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

फ्लुु र कोरोना कसरी छुट्टयाउने ?

चिकित्सकले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका विरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

अहिले अस्पतालमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सकले आग्रह गरेका हुन्।

अहिले हरेक अस्पतालका आइसियू बेडहरु कोभिडका विरामीले भरिएका छन्। मौसम परिवर्तनसँगै फ्लुका लक्षण देखिएमा घरमै बसेर सुरक्षित रहन अल्का अस्पतालमा कार्यरत फिजिसियन डा. रक्षा गौतमले सुझाव दिइन्।

कोरोना र मौसमी फ्लुका लक्षण समेत मिल्दोजुल्दो भएकाले कतिपयलाई छुट्याउन समेत समस्या हुने गरेको छ।

सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुुख्ने र घाँटी दुःख्ने समस्या सामान्य फ्लु भएकाले डराउनुपर्ने अवस्था नभएको गौतमको भनाइ छ।

सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाह अनुसार भिटामिन बी र सीको प्रयोग गर्दा हप्ता–दश दिनभित्रमा मौसमी फ्लु निको हुने उनले बताइन्।

सामान्य रुघाखोकी लाग्दैमा हतार हतार अस्पताल आएर आफुलाई नभएको भाइरस समेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन उनले आग्रह गरिन्।

मौसमी फ्लुका लक्षण देखिएपनि स्वास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, धेरे ज्वरो आउने जस्ता समस्या देखिएमा अस्पताल आउन पनि उनले आग्रह गरिन्।

नेपालमा लकडाउन सुरु भएको सुरुआती चरणमा सरकार र नागरिकस्तरबाट कडाईका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भएपनि अहिलेको अवस्थामा त्यसो हुन नसकेको उनको भनाइ छ।

रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरुले केही हप्तामा कोरोना जिते पनि दिर्घरोगी, बालक तथा वृद्धवृद्धाहरुको ज्यान समेत जाने घटनाहरु बढिरहेको उल्लेख गर्दै उनले कोरोनालाई हल्का रुपमा नलिन पनि आग्रह गरिन्। अहिलेको अवस्थामा जटिल खालका विरामीहरु बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन्।