Loading... आजः १४ माघ २०७७, बुधबार । Wednesday 27th January 2021

नेकपाको लडाई के का लागि ?

पछिल्लो समय नेपालको राजनीतिक गर्मागर्मी निकै तातिएको छ । मौसम हेर्ने हो भने चिसो बढ्दै जाने क्रममा तातिएको राजनीतिक परिवेश छिटै सेलाउन सकेन भने पग्लिने सम्भावना पनि छ । कुनै समयमा निकै चर्चित उखान थियो, ‘राजाको कान्छो नहुनु, रैतिको जेठो नहुनु’ । राजाको कान्छो छोराको रुपमा जन्म लिनेले न राजगद्दी पाउने र जेठो जत्तिकै मान र सम्मान । अनि रैतिको जेठोले भाइबहिनी, इष्टमित्र, गाउँघर, समाजदेखि बुढेशकालका आमाबाबु समेतलाई हेर्नु पर्ने भएकोले निकै दुःख पाइने । अर्कोतिर अंश दाबी गर्ने क्रममा पनि कान्छोले रोजेको र जेठोले छोडेको भन्ने चलन थियो । अब त हाम्रो देशमा न राजा छन् न रैति नै । राजा पनि नागरिक रैति पनि नागरिक भइसकेपछि यो उखानले काम गर्ने कुरै भएन । सबै समान भए । तर पनि नेपालको राजनीतिलाई तताउने काम भने कान्छो प्रदेशको रुपमा स्थापित भएको कर्णाली प्रदेशले ग¥यो ।

खगेन्द्र अधिकारी ‘अमृत’

कर्णाली प्रदेश सभामा ४० जना सांसदहरु छन् । ती मध्ये तत्कालिन एमाले र माओवादीको तर्फबाट ३३ जना रहेका छन् । तत्कालिन एमाले र माओवादी पार्टी एकिकरण भइसकेपछि अब देशमा तत्कालिन एमाले तथा माओवादी भन्ने छैन । यी दुई पार्टीको एकिकरण पछि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भइसक्यो । त्यसैले यी दुई पार्टीलाई छुट्टाछुट्टै कित्तामा राखेर विश्लेषण गर्नुको औचित्य छैन ।

पछिल्लो पटकको निर्वाचनमा कम्यूनिष्ट विचारलाई अवलम्बन गर्ने दुई पार्टी एक हुने कुराले नेपाली जनतामा एउटा उत्साह छाएको थियो त्यो हो नेपालमा स्थायी सरकार बन्ने कुरा पक्कापक्की जस्तै थियो । अब देशमा नौ–नौ महिनामा प्रधानमन्त्री फेरिने छैनन् । सत्ताका लागि रुप, रंग र ढंग नमिल्नेहरु एक हुन पाउने छैनन् र देशले विकासको क्षेत्रमा अग्रगामी छलाङ मार्नेछ । विभिन्न क्षेत्रमा हुने राजनीतिक नियुक्तीमा किचलो हुनेछैन । सरकारी कर्मचारीहरु समेत भ्रष्टाचार गर्न डराउने छन् । किनकी पूर्ण बहुमतको सरकार भएमा भ्रष्टाचार गर्नेलाई कानून बमोजिम कडा कारवाही हुनेछ । जसका कारण भ्रष्टाचारको पाटो घट्ने छ जसले विकासको पाटोलाई स्वतः बढाउने छ । मिलिजुली सरकारहरुले गर्न नसकेका निर्णयहरु बहुमतको सरकारले गर्नेछ । कसैको रोकावट हुने छैन । देशमा औद्योगिक क्रान्तिको सुरुवात हुनेछ । जसले गर्दा नेपाली युवाहरु रोगजारीको लागि विदेशिनु पर्ने दिनको अन्त्य हुनेछ । तर समयले यी र यस्ता यावत कुराहरु जनतालाई दिन सकेन ।

हिजोका दिनमा फरक फरक विचारबाट अघि बढेकाहरु एक भएपनि उनीहरुको मन एक हुन नसकेको कुरा पक्का रहेछ । यदि मन एक हुँदो हो त कर्णालीको प्रदेश सरकारमा अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक रडाको किन हुन्थ्यो र । अर्कोतिर केन्द्रमा बसेर शासन सत्ता चलाउनेहरुले कर्णालीमा शासनको बागडोर समातेकाहरुलाई एउटै निर्देशन दिनुको साटो फरक फरक निर्देशन दिनु पर्ने कारण के ? यसले गर्दा केन्द्रमा बसेकाहरु समेत एक हुन सकेका रहेनछन् भन्ने कुरा स्पष्ट भयो । यति बेला नेकपा गम्भीर अवस्थामा छ । पार्टीको एकता महाधिवेशन नै नभईसकेको अवस्थामा फुटको संघारमा पुगेको कुरा बाहिर आउँदा नेकपा प्रति आशा, भरोसा र विश्वास गर्नेहरु निराश हुनु स्वभाविक हो ।

अब यो राजनीतिक गर्मीसँगै एउटा बहस उठिरहेको छ । नेकपा फुटे के हुन्छ ? यस विषयमा अहिले स्थानीय तहका नेता कार्यकर्ताहरु देखि संघीय तहका नेता कार्यकर्ताहरु आ–आफ्नै धारणाहरु राख्दैछन् । नेकपालाई भोट दिनेहरु आफ्नै धारणा बलियो बनाउँदै छन् । प्रतिपक्षहरु पनि आफ्ना धारणाहरु प्रस्तुत गर्दैछन् । राजनीतिक विश्लेषकहरु पनि एक खालको विश्लेषण गर्दैछन् । यही प्रश्नमा रहेर यो पंक्तिकार पनि आफ्ना धारणाहरु प्रस्तुत गर्ने अनुमति चाहान्छ ।

मौका एक पटक आउँछ । त्यो मौकालाई छोपेर अगाडि बढ्नेहरु सफलताको शिखरमा पुग्छन् तर त्यही मौकालाई समात्न नसक्नेहरु रुमलिन्छन् जीवनभर । वर्तमान अवस्थामा नेकपालाई नेपाली जनताले मौका दिएका छन् । जनताले दिएको अभिमतलाई कदर गर्न नसक्ने हो भने यस्तो मौका बारम्बार नआउन पनि सक्छ । त्यसैले एकताको नाम दिएर जुन जनमत संकलन गरियो पहिलो नम्बरमा त्यसको सम्मान गरौं र एकता जोगाऔं । यदि एकता जोगाउन सकिएन भने पार्टी फुट्यो भने त्यसले अब आउने निर्वाचनमा जनमत प्राप्त गर्न सक्दैन । अनि देशमा फेरि कम्यूनिष्टहरुको यति बलियो सरकार बन्न सक्दैन । अहिले केपी ओलीले जुन ढंगले जुन मनोमानीले राजदूतदेखि स–साना नियुक्ती गर्न भ्याएका छन् नि त्यो अवसर प्राप्त हुँदैन । जसले गर्दा जनतालाई होइन नेतालाई घाटा लाग्छ । यो हेक्का रहोस् ।

अर्को तिर अहिले जुन तरिकाले डाडु पन्यू चाट्दै रमाउने अवसर प्राप्त भएको छ त्यो फुत्किन्छ । यसले त नेताहरुलाई घाटा होला तर जनतालाई समेत घाटा हुने थुप्रै स्थानहरु छन् । फेरि बारम्बार चुनाव होलान् त्यसमा जनताले तिरेको करबाट उठेको राजश्व खर्च हुन्छ । त्यसले गर्दा देशको ढुकुटी रित्तिन्छ अनि अरु विदेशी ऋणको भार बढ्छ । त्यसैले पनि नेकपा फुट्नुको साटो एक भएर अगाडि बढ्न जरुरी छ ।

नेकपाको फुटले राजनीतिक प्रतिस्पर्धामा रहेको नेपाली काँग्रेसलगायत अन्य साना दलहरुलाई केही फाइदा होला । त्यो पनि अंकगणितीय हिसावमा मात्र । आज एउटा पदको लागि रुवाबासी गर्नेहरु हिजो कसरी मिलेछन् ? यो जनताले सोधिरहेका छन् । आज फुट्नु थियो भने हिजो एकताको नाटक गरेर जनतालाई झुक्याएको किन ? देशका लागि, जनताका लागि, आर्थिक क्रान्तिका लागि, भौतिक निर्माणका लागि नेकपालाई फुट्ने अधिकार होला । तर पदका लागि, सत्ताका लागि, शक्तिका लागि नेकपा फुट्नु हुँदैन । यसले न नेताको भलो गर्नेछ । न जनताको भलो हुनेछ । न नेताले सुख पाउँने छन् न जनताले सुख पाउने छन् । बाँकी जिम्मा तिमीहरु जनता जर्नादनको पालो अब आउने निर्वाचनमा ।