Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

देबकीका पाँच मुक्तक

एक
कसरी बदलिएछन् तिम्रा खानपिन पनि
र आलिसान महलमा बितेका छन् दिन पनि
हामीलाई लाज लाग्न थालिसक्यो तिमीलाई देख्दा
तिमीले त कसरी सजिलै पचाउन सकेको घिन पनि !
दुइ
आँखामा सपना छैनन् र मनमा रहर छैन
गाउँजस्तो गाउँ छैन र सहरजस्तो सहर छैन
हिँड्न त हिँडेका छन् हजारौं मान्छेहरु!
तर यिनीहरुले सोजेजस्तो सहज सफर छैन
तीन
अझै यी आँखाहरुको धित मरेको छैन
आज कसैको यादमा निन्द्रै परेको छैन
यो मनको आँगन अोभानो भएको छ
सायद पानी बगेको छैन शीत झरेको छैन
चार
दु: खको कहानी सुरुवात भएको छ
र चोटहरुको खातै खात भएको छ
परि आए आफ्नो ज्यानै दिन्छु भन्थ्यो
आज उसैबाट फेरि घात भएको छ!
पांच
मसँग आजकल किन मसँग टाढा भएको छ
मलाई भेट्न के कति कारण बाधा भएको छ
कसरी भुल्यो खाएका कसम र ती बाचाहरु !
कि तिम्रो मन अरु कसैसँग गाढा भएको छ?