Loading... आजः १६ आश्विन २०८३, शुक्रबार । Friday 2nd October 2026

‘दैलेखी लोकसाहित्य’ बजारमा

सुर्खेत ।
दैलेखी लोकसाहित्य नामक पुस्तक बजारमा आएको छ । लोकसाहित्यका क्षेत्रमा कलम चलाउँदै आएका लोकसाहित्य संरक्षणका अभियान्ता नारायणप्रसाद तिमिल्सेनाले दैलेख लोकसाहित्य बजारमा ल्याएका हुन् । दुल्लु नगरपालिका प्रकाशक रहेको दैलेखी लोकसाहित्य नामक पुस्तक दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा लोकसाहित्यको सिद्धान्तलाई विश्लेषण गरिएको छ भने दोस्रो खण्डमा दैलेखी लोकसाहित्य रहेको छ ।


दैलेखमा गाइने लोकगीत, सामान्य गीत, संस्कार गीत, पर्व, ब्रत वा धार्मिक गीत, कर्मगीत, नृत्यगीत, बालगीत, दैलेखी लोकगाथा, दैलेखी लोकथा, दैलेखी लोकनृत्य, दैलेखमा प्रचलित लोकोक्ति, दैलेखमा प्रचलित लोकपद्यहरु समेटिएको ५३६ पृष्ठ लामो पुस्तक बजारमा आएको हो । सुवागीत, राइसुवा गीत, जैभम्म गीत, देवगीत, झम्कलडी, चाफुल्ला, झोडा, मागल, पैसरी, चुट्का, ख्याली, ढुस्को, दरिखेलहरुका बारेमा बुझ्न र अध्ययन गर्न चाहनेहरुका लागि दैलेखी लोकसाहित्य नामक पुस्तकले निकै सहयोग गर्नेछ ।

दैलेखको लोकजीवनका बारेमा बुझ्नका लागि अब दैलेख नै गइरहन पर्दैन । यो पुस्तकको अध्ययनले सिंगो दैलेखको लोक जीवनलाई चित्रण गरेको छ । गहिरो अनुसन्धान, खोज र अध्ययनबाट तयार भएको यो पुस्तक नेपाली साहित्याकाशमा मात्र होइन नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र लोक जीवनका लागि अमूल्य उपहार हो ।