कन्डम प्रयोग गर्ने सही तरिका
- 1.9Kshares
- Viber
- Facebook Messenger
डा. सुमनराज ताम्राकार
सही तरिकाले कन्डम प्रयोग गर्ने तरिका के हो ?
बी, बुटवल
प्रायः नवविवाहितमा चाँडै बच्चा पाइहाल्ने इच्छा हुँदैन। त्यसैले परिवार नियोजनको कुन चाहिँ साधन सुरक्षित हुनुका साथै भरपर्दो हुन्छ भन्ने खुल्दुली उनीहरूमा हुने गर्छ। कतिपय जोडीले ‘परिवार नियोजनका साधन अपनाउने क्रममा यी साधनले भविष्यमा बच्चा पाउन समस्या गराउने हो कि ?’ भनेर चिन्ता प्रकट गर्ने गरेको पाइन्छ। यस्तोमा नवविवाहित जोडीले ढुक्कसाथ प्रयोग गर्न मिल्ने साधनमध्ये कन्डम एक हो।
पुरुष र महिलाले प्रयोग गर्न मिल्ने दुई प्रकारको कन्डम भए पनि पुरुषले प्रयोग गर्ने कन्डम बढी प्रचलनमा छ। महिलाले प्रयोग गर्ने कन्डम पोलियुरिथिनबाट बनेको हुन्छ। गर्भनिरोध प्रयोजनका साथै यौन रोग तथा एचआईभी÷एड्स रोग हुनबाट बचाउन पनि कन्डम महत्त्वपूर्ण छ। एचआईभीको महामारीसँगै यसको महत्त्व पुनः बढेको छ। एचआईभी तथा यौन रोगबाट बचाउने हुनाले यौन रोग सर्ला कि भन्ने डर हट्ने हुनाले यौन सम्पर्कका क्रममा बढ्ता यौनसुख प्राप्त गर्न सकिन्छ। तर, कन्डम चाहिँ सही तरिकाले लगाउनुपर्छ। कतिपयले यौन रोग र एचआईभी सर्ने, गर्भ रहने भनेर यसमाथि अझै शंका गर्ने गर्छन् तर कन्डम बनाइसकेपछि त्यसको गुणस्तरीयता परीक्षण गरेर मात्र बिक्री–वितरणमा पठाइन्छ।
अविवाहित युवायुवतीबीच सुरक्षित सेक्सका लागि निकै महत्त्वपूर्ण हुन्छ, कन्डम। तर, यो सदा आलोचनाको विषय बनिरह्यो। यौनका मामिलामा खुल्ला नभएको नेपाली समाजमा कन्डम प्रयोग त्यति सहज रूपमा लिएको पाइँदैन। यसले यौन सम्पर्कलाई सुरक्षित बनाउन सहयोग गर्छ भन्ने कुरा अहिलेका अभिभावकले बुझ्न जरुरी छ।
सन् १५०० तिर भिरंगीको महामारी पैmलिँदा कपडाको खोल प्रयोगमा ल्याइएको थियो। अनैतिक सन्तान नजन्माऊन् भनेर अठारौँ शताब्दीमा राजा चाल्र्स द्वितीयका चिकित्सकले यसको निर्माण गरेको पनि भनिन्छ। उन्नाइसौँ शताब्दीमा रबरबाट बन्नुअगाडि जनावरको आन्द्राबाट बनेको कन्डम प्रचलनमा थियो। बीसौँ शताब्दीमा ल्याटेक्सबाट निर्माण हुन थाल्यो। ल्याटिन भाषामा कुनै सामान राख्न मिल्ने भाँडोलाई कन्डोस भनिन्छ। यसैबाट अपभ्रंश भई कन्डमको नामाकरण रहन गएको मानिन्छ।
प्रयोग गर्ने सही तरिका
कन्डमको प्याकेटको एक छेउमा समातेर खुँडे भएको ठाउँतिरबाट नङको प्रयोग नगरी बिस्तारै प्याकेट च्यात्नुपर्छ। योनिमा पुरुष लिंग छिराउनुअगाडि नै कन्डम सुल्टो पारी राख्नुपर्छ। खतना नगरेको भए अग्रचर्म (पुरुष लिंग ढाक्ने छाला) लाई पछाडितिर तान्नुपर्छ। लिंगको टुप्पोमा नफुकाइएको कन्डम राखेपछि कन्डमको टुप्पातिर रहेको हावा बूढीऔँला र चोरऔँलाले च्यापेर निकाल्नुपर्छ। कन्डम बिस्तारै फुकाउँदै उत्तेजित लिंगको टुप्पाबाट फेदतिर लगाउँदै जानुपर्छ। यसरी कन्डम सुल्टो लगाएमा फुकाउँदै लैजान अप्ठ्यारो हुँदैन। यसको सट्टा कन्डम लगाउनुपूर्व नै फुकाएर लगाएमा लगाउन पनि गाह्रो हुन्छ र प्रभावकारी पनि हुँदैन। यसरी सही तरिकाले कन्डम लगाइसकेपछि यौन सम्पर्क राख्नु ठीक हुन्छ।
कन्डममा चिप्लो पदार्थ राखिएको हुँदा थप चिल्लो पदार्थ राख्नुपर्ने आवश्यकता पर्दैन। थप चिल्लो पदार्थले कन्डम फुट्ने सम्भावना बढ्न सक्छ। वीर्य स्खलन भएपछि लिंग शिथिल नहुँदै कन्डम नफुस्किने गरी राम्ररी समातेर योनिबाट बाहिर निकाल्नुपर्छ। कन्डमलाई विसर्जन गर्नुअघि फुटे-नफुटेको जाँच्नुपर्छ। कन्डम फुटेमा वा योनिभित्र नै अड्केमा आकस्मिक परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ। योनि क्षेत्रमा वीर्य नपोखिने गरी, बिस्तारै कन्डमलाई लिंगबाट फुकाल्नुपर्छ। अनि प्रयोग गरिसकेको कन्डमको फेदलाई गाँठो बनाउनुपर्छ। प्रयोग गरिसकेको कन्डमलाई उचित स्थानमा विसर्जन गर्नुपर्छ।
कन्डमबारे भ्रम
कन्डम यौन सम्पर्कका क्रममा योनिमा अड्किन सक्छ भन्ने भ्रम छ। सही तरिकाले कन्डम लगाइए वा पुरुष लिंगभन्दा कन्डमको आकार ठूलो भयो वा वीर्य स्खलनपश्चात् लामो समयसम्म लिंग बाहिर निकालेन भने कन्डम अस्थायी तवरले अड्किन सक्छ। यस्तो बेला त्यसलाई औँलाले सजिलैसँग निकाल्न सकिन्छ। त्यसै गरी, यौन सम्पर्कको बेला कन्डम फुट्न सक्छ भनिन्छ। सही तरिकाले भण्डारण गरी नबिग्रिएको र म्याद नगुज्रिएको कन्डम ठीक तरिकाले लगाइएको छ भने कन्डम फुट्ने सम्भावना हुँदैन। पहिलो पटक आएका सेवाग्रही तथा कन्डम फुटेको अनुभव सँगालेका सेवाग्रहीलाई सही तरिकाले कन्डम लगाउने विधिबारे परामर्श दिनुपर्छ।
कन्डम प्रयोगले लामो समय स्खलन हुन नदिने हुनाले कतिपयले भने लामो समयसम्म यौन सम्पर्क प्रक्रियाको आनन्द लिन पाएको धारणा व्यक्त गरेका छन्। त्यसैले शीघ्र स्खलन समस्या भएका एवं योनि सुक्खा समस्या भएकामा कन्डमको प्रयोगले फाइदै पुर्याउँछ। यसका साथै व्यावसायिक तवरमा किन्न पाइने डटेड वा बारयुक्त पातलो कन्डमले यौन आनन्द बढाउन मद्दत गर्छ।
त्यसै गरी, व्यावसायिक यौनकर्मी-देहव्यापारीसँग यौन सम्पर्क राख्दा मात्र कन्डमको प्रयोग गर्नुपर्छ भन्ने गलत धारणा छ। विवाहित, अविवाहित जोसुकैले नियोजित वा आकस्मिक रूपमा कन्डम प्रयोग गर्न सकिन्छ।
यौन सम्पर्कका क्रममा कन्डमले यौन आनन्दमा कमी गराउँछ भन्ने भ्रम पनि छ। यो व्यक्ति विशेषको अनुभूति हो। यसको प्रयोगका उद्देश्य एवं फाइदालाई विचार गर्ने हो भने यौन आनन्द मात्र त्यति महत्त्वपूर्ण होइन। कतिपय पुरुषले साधनबिना जति आनन्दको महसुस गर्छन्, प्रयोग गर्दा तुलनात्मक रूपमा कम आनन्द महसुस गर्न सक्छन्।
सम्पूर्णबाट
- Total: 1.9K
- Viber
- Facebook Messenger