तिहार नआउँदै सुके सयपत्री र मखमली
सुर्खेत ।
असोज महिनामा परेको अधिकमासका कारण यस वर्षको दशैं तिहार पछि परे । तिथि अनुसार आउने भएकाले यस वर्षका दशैं तिहार पछि सरेका हुन् । मंसिर १ गते मात्र तिहार (भाइटिका) परेको छ । यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् ।

तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ । यस वर्षको तिहार गत वर्षको भन्दा झण्डै एक महिनापछि धकेलिँदा सयपत्री फूल तिहारका लागि जोगाउन कठिन भएको वीरेन्द्रनगर १० का हरिराज शर्माले बताए ।
यसपालि तिहार अगावै बोटसहित फूलसमेत सुक्ने, ओइलाउने र कुहिने भएपछि धेरै मात्रामा फूल खपत हुने पर्व तिहारमा प्राकृतिक फूलको अभाव हुने अवस्था आएको उनले बताए । मठ मन्दिर तथा शक्तिपीठहरु समेत कोरोनाका कारण बन्द अवस्थामा रहेकाले विगतमा जस्तो अन्य समयमा समेत फूलको खपत छैन ।
घरायसी प्रयोजनका लागि तिहारलाई साँचेका फूल सुक्न थालेपछि दिदीबहिनीहरु चिन्तित छन् । सामान्यतया तीनदेखि चार महिना अवधिमात्रै रहने सयपत्री फूल यस वर्ष अत्यधिक वर्षाका कारण असर परेको भएपनि जोगिएका फूल राम्रै फुलेका थिए तर यस वर्षको तिहार ढिलो परेकाले फूल जोगाउन नसकिएको वीरेन्द्रनगर ११ का शान्ति बिसीले बताइन् । कात्तिक दोस्रो सातासम्म फक्रिएका फूल मौसम परिवर्तन भएर चिसो बढ्नुका साथै शीत पर्न थालेपछि एक सातामै कुहिएका छन् ।






