Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

ट्रकको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्युपछि आफन्तले गरे सडक अवरूद्ध

सुर्खेत |

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौर बजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले सडक अवरूद्ध पारेका छन् । बिहीबार बेलुका साढे ७ बजे भएको दुर्घटनामा स्थानीय ४८ वर्षीय धनबहादुर भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा दुई जना बालक घाइते छन् ।  बाँकेको कोहलपुर नगरपालिका–२ का ८ वर्षीय भीमबहादुर खड्का र १ बर्षीय भुवन खड्का घाइते छन् ।

उनीहरूको नेपालगञ्जमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

घर्तीका अनुसार भीम र भुवन दाजुभाइ हुन्। उनीहरू गुर्भाकोट नगरपालिका–९ स्थित मामाघरमा बस्दै आएका थिए ।  बिहीबारका पैदल हिँडिरहेका भण्डारीको ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो भने नजिकै रहेका भीम र भुवन घाइते भएका थिए । सल्यानको सल्लीबजारबाट सुर्खेतको मालारानी आउँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले उनीहरूलाई ठक्कर दिएको डिएसपी घर्तीले बताए । मानिसलाई ठक्कर दिएपछि ट्रक धनी र चालक फरार भएपछि पीडित आफन्त आन्दोलनमा उत्रिएका थिए ।

शुक्रबार बिहानैदेखि आफन्तको आन्दोलन जारी रहेको घर्तीले बताए। आन्दोलनका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरूद्ध छ । अहिले पनि अत्यावश्यक बाहेकका सवारी साधन सडकमा चल्न पाएका छैनन्, आफन्तको आन्दोलन जारी छ,’ घटनास्थलमा खटिएका डिएसपी घर्तीले भने ।

आफन्तले ट्रक चालक र धनीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका छन् ।  चालक भने प्रहरीको नियन्त्रणमा आइसकेको जानकारी आएको डिएसपी घर्तीले बताए।  ‘चालक भर्खरै नियन्त्रणमा आएको भन्ने खबर आएको छ, उसको बारेमा बाँकी खुलेको छैन,’ उनले भने ।