Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

वर्षको सर्वोत्कृष्ट करदाता विजयकुमार शाह

जसले जोगाएका छन्, देशको अर्थतन्त्र

काठमाडौं ।

कर सरकारको आम्दानीको मेरुदण्ड हो । तिर्न सक्ने क्षमता भएका व्यक्ति वा संस्थाले सरकारी खर्चको व्यवस्थापनका लागि सरकारलाई तोकिएको रकम अनिवार्य रूपमा उपलब्ध गराउनुपर्छ । देशको ढुकुटीको अधिकांश हिस्सा त्यसमार्फत नै संकलन जम्मा हुन्छ । राज्यले पनि करदातालाई सधैँ नै प्रोत्साहित गरिरहेको हुन्छ । करको दायरा जति बढाउन सक्यो त्यति नै देशको अर्थतन्त्र मजबुत हुने गर्दछ । सोही कारण ठूला करदातालाई राज्यको तर्फबाट हरेक वर्ष सम्मानसमेत गरिएको हुन्छ ।

वर्षको सर्वोत्कृष्ट करदाता विजयकुमार शाह : जसले जोगाएका छन्, देशको अर्थतन्त्र

व्यक्तिगत आयकरतर्फ व्यवसायी विजयकुमार शाह यस वर्षको सर्वोत्कृष्ट करदाता बन्नुभएको छ । सरकारी ढुकुटीका लागि सबैभन्दा बढी कर तिरेबापत उहाँलाई आन्तरिक राजस्व विभागले सम्मान गर्न लागेको हो । गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्नेमा व्यक्तिगततर्फ जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका अध्यक्ष विजयकुमार शाह हुनुभएको हो भने कम्पनीतर्फ सूर्य नेपाल रहेको छ ।

मदिरा व्यवसायी शाहले यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी आयकर बुझाएर यो सम्मान पाउनुहुने भएको हो । यसअघि लगातार चार वर्षसम्म तारा म्यानेजमेन्टका सिद्धार्थ राणाले पाउँदै आएको उत्कृष्ट करदाता सम्मान यस वर्ष शाहले पाउने आन्तरिक राजस्व विभागले आइतबार जनाएको हो ।

नेपालको ‘लिकर किङ’को रूपमा चिनिनुभएका शाहका जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन, विजय डिष्टिलरीलगायत कम्पनी छन् । ती कम्पनीमा रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन हुन्छ ।

शाहसहित सरकारले यो वर्षका उत्कृष्ट करदाताहरूको नाम सार्वजनिक गरेको छ । विभागले नवौं राष्ट्रिय कर दिवसको समापन समारोहको अवसर पारेर उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको हो ।

विभागका अनुसार सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा निर्यातकर्तातर्फ डाबर नेपाल प्रालि, उद्योगतर्फ हिमाल पावर लिमिटेड र कृषि एवं पशुपन्छी उद्योगतर्फ अन्नपूर्ण एग्रो सम्मानित हुने भएका छन् । डाबर नेपाल र अन्नपूर्ण गत वर्ष पनि सोही विधाबाटै सम्मानित भएका थिए । बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, बिमा व्यवसायतर्फ नेपाल पुनर्बिमा कम्पनी, सहकारी तथा लघुवित्त संस्थातर्फ छिमेक लघुवित्त कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवातर्फ मणिपाल मेडिकल कलेज, व्यापार व्यवसायतर्फ अग्नि इन्कर्पोरेट प्रालि, रेमिट्यान्सतर्फ आइएमई लिमिटेड र पर्यटनतर्फ तारागाउँ रिजेन्सी (हायात होटल) सम्मानित हुने भएका छन् ।

यस्तै, मध्यस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने सबैभन्दा धेरै आयकर तिर्ने करदातामा कामना सेवा विकास बैंक परेको छ । विभागले आइतबार सार्वजनिक गरेको उत्कृष्ट करदाताहरूलाई पछि विशेष समारोहबीच सम्मान गर्ने जनाएको छ ।