Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

अझै खुलेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तालाबन्दी

जुम्ला ।

जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक र प्रशासन फाँटमा भएको तालाबन्दी अझै खुलेको छैन । प्रतिष्ठानको काठमाडौंस्थित सम्पर्क कार्यालयबाट उपकुलपति प्रा.डा राजेन्द्रराज वाग्लेले मुनिराज क्षेत्रीलाई जनस्वास्थ्य संकायको डिन नियुक्त गरेपछि कर्मचारीले प्रतिष्ठानको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दीले प्रशासनको कामकाज ठप्प भएको छ भने शैक्षिक कार्यक्रम पनि प्रभावित भएका छन् ।

अनावश्यक रुपमा डिन नियुक्त गरिएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।  प्रतिष्ठानलाई अनावश्यक रुपमा आर्थिक भार थपेको कारण देखाउँदै २८ असोजमा उनीहरूले तालाबन्दी गरेका थिए । ३० विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानमा दुईजना डिन यसअघि नै नियुक्त भएकाले तेस्रो डिन आवश्यक नभएको कर्मचारी कल्याण समितिका संयोजक रामाकान्त उपाध्यायले बताउनुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक÷एक जना डिन मात्रै छन्,’ उहाँले भने, ‘आफ्ना मान्छेलाई काम दिन तेस्रो डिन नियुक्त गरिएको हो । यसबाट प्रतिष्ठानलाई आर्थिक भार र नोक्सानबाहेक अरु कुनै फाइदा छैन ।’

ताला लागेको ४० दिन भइसक्दा पनि ताला खुलाउने प्रयास भएको छैन । हालसम्म उपकुलपति काठमाडौंबाट नै काम गरिरहनुभएको  छ । सरकारले एक वर्षअघि नै सम्पर्क कार्यालय हटाउन निर्देशन दिँदा पनि उपकुलपतिले बेवास्ता गरेको आन्दोलनकारीको आरोप छ । उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र प्रशासनमा तालाबन्दीले शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन् । एमबिबिएस पढाइ सुरु गर्ने प्रतिष्ठानको तयारी अलपत्र परेको प्रतिष्ठानले जनाएको छ ।

उपकुपति प्रा.डा. वाग्लेलाई सो विषयमा जानकारी लिन खोज्न सम्पर्क समेत हुन सकेन । प्रशासन र लेखा शाखामा पनि तालाबन्दी गरिएका कारण स्वास्थ्यकर्मीसहित कर्मचारीले दसैँ र तिहारमा समेत तलब नपाएको गुनासो गरेका छन् । प्रतिष्ठानमा करिब ३५० जना कर्मचारी  कार्यरत रहेका प्रतिष्ठानले जनाएको छ ।