Loading... आजः ५ बैशाख २०८१, बुधबार । Wednesday 17th April 2024

१५ गतेदेखि सञ्चालनमा आउँदै सिटी बसपार्क

सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगरमा बनेको सिटी बसपार्क मंसिर १५ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नगरपालिकाले बनाएको सिटी बसपार्क सञ्चालनसम्बन्धी कार्यविधि अनुसार बसपार्क सञ्चालन गर्ने तयारी गरिएको वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहमाया ढकालले जानकारी दिईन् ।


निजी कम्पनीलाई बसपार्क सञ्चालनको जिम्मा दिईएको र अबको केही दिनभित्र ‘सुर्खेत सिटी बसपार्क’ सञ्चालनमा ल्याउने तयारी गरिएको ढकालले बताईन् । ‘हामीले यातायात व्यवसायी संगठनका प्रमुखहरुसँग छलफल गरिसकेका छौं, त्यस अनुसार अबको केही दिनभित्र बाहिर राखिएका काउन्टरभित्र ल्याईन्छ,’ ढकालले भनिन्, ‘त्यो काम सकिएको एक/दुई दिनभित्रै सञ्चालन हुन्छ ।’

शनिवार बसपार्क सञ्चालका विषयमा शनिबार सञ्चालनको जिम्मा पाएको कम्पनी र सरोकारवाला निकायबीच छलफल गरिएको छ । ‘हामीले तोकेको समय १५ गतेभित्र सञ्चालनको लागि तयार अगाडि बढाउने, समितिहरुलाई काउण्टरहरु सिटी बसपार्कभित्र राखिसक्ने भन्ने निर्णय भएको छ ।’ उनले भनिन् ।

यस्तै सिटी बसपार्कभित्र ट्राफिक संकेतहरु राख्ने, ट्राफिक, नगरपालिकाले बसपार्क सञ्चालको लागि आवश्यक व्यवस्थापन गर्ने र १५ गतेदेखि नै सिटी बसपार्कबाट गाडी सञ्चालनमा आउनेगरी काम गर्ने निर्णय शनिवारको छलफलमा निर्णय भएको उपमेयर ढकालले बताईन् ।

वीरेन्द्रनगरमा बनेको सिटी बसपार्क दुई बर्ष अघि नै निर्माण भईसकेको थियो । निर्माण सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण गरिएको दुई बर्षपछि बल्ल सञ्चालनको तयारी भएको छ ।

२०७४ माघ १४ गते चाङ्गमिला नरसिङ्ग जेभीसँग सिटी बसपार्क निर्माणको लागि सम्झौता भएको थियो । म्याद थप गरि २०७५ असोज ३१ गतेभित्र निर्माण गरिसक्नुपर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीले त्यस अगावै निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरिसकेको वीरेन्द्रनगर नगरपालिकाका ईञ्जिनियर विशाल अधिकारीले जानकारी दिए ।

उनका अनुसार ६ करोड ८२ लाख ७५ हजार ८७९ रुपैयाँमा सम्झौता भएपनि पछि मुल्य समायोजनसहित सिटी बसपार्क निर्माणको कुल लाग ७ करोड ४४ लाख रुपैयाँ पुगेको छ । करिब ४ हजार ५०० वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको सिटी बसपार्कमा साना, ठूलासहित १२० वटा बस अट्न सक्ने क्षमता रहेको छ ।

यसकारण भयो ढिलाई
निर्माण कम्पनीले बसपार्क बनाएर हस्तान्तरण गरिसकेपछि २०७६ मंसिर १६ गते वीरेन्द्रनगर नगरपालिकाले सञ्चालनका लागि ठेक्का आह्वान गर्यो । तर त्यही ठाउँमा बसपार्क हुँदा व्यवसाय गरी बसेको ४१ जना व्यवासायीहरुले नगर प्रमुखसहितका पदाधिकारीविरुद्ध अदालतमा रिट दर्ता गरे । आफूहरुले बसपार्कभित्र गर्दै आएको व्यवसायमा धक्का लागेको भन्दै व्यवसायीले हालेको मुद्दाका कारण उक्त ठेक्का प्रक्रिया नै स्थगित गर्नुपर्यो ।

सिटी बसपार्क बन्नुअघि सोही ठाउँमा बसपार्क सञ्चालनमा थियो । उक्त बसपार्कलाई ‘सिटी बसपार्क’को रुपमा परिणत गर्नुअघि नै वीरेन्द्रनगर नगरपालिका र व्यवसायीसहितको सर्वदलीय बैठकमा पुरोना बसपार्क हुँदा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई सिटी बसपार्क बनेपछि पनि व्यापार व्यवसाय गर्न दिने निर्णय गरिएको थियो ।

उक्त निर्णयविपरित २०७६ मा वीरेन्द्रनगर नगरपालिकाले बनाएको बसपार्क सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत गरी ठेक्का आह्वान गरिएपछि व्यवसायीले रिट निवेदन दिएका थिए । सोही रिटका आधारमा अदालतले ठेक्का रद्द गर्न आदेश दियो । अदालतको उक्त आदेशपछि निर्माण सम्पन्न भईसकेको भए पनि सिटी बसपार्क सञ्चालनमा भने आउन सकेन ।

केही समयपछि उच्च अदालत सुर्खेतले व्यवसायीको निवेदनका आधारमा निवेदक व्यवसायीलाई प्राथमिकतामा राख्न आदेश दियो । पछि नगरपालिकाले बनाएको कार्यविधि अनुसार बसपार्क सञ्चालनका लागि प्रक्रिया अगाडि बढ्यो । त्यसपछि बसपार्क सञ्चालनको प्रक्रिया अगाडि बढाउन सहज भएको नगरपालिकाका उपमेयर मोहनमाया ढकालले बताईन् ।

‘निवेदन दिनुभएको पुराना व्यवसायीलाई व्यवसाय गर्दा तोकिएको पछिल्लो दरमा राजी हुनुभयो भने प्राथमिकतामा राख्न अदालतले आदेश दिएको थियो,’ उनले भनिन्, ‘त्यसपछि हामीले आफ्नो कार्यविधि अनुसार सिटी बसपार्क सञ्चालनको प्रक्रिया अगाडि बढायौं ।

३१ लाख आम्दानी नगरपालिकालाई
सिटी बसपार्क सञ्चालनसम्बन्धी वीरेन्द्रनगर नगरपालिकाले बनाएको कार्यविधि अनुसार सञ्चालनको जिम्मा पाएको कम्पनीले मासिक ३१ लाख १५ हजार रुपैयाँ नगरपालिकालाई तिर्नुपर्ने छ । जसअनुसार ३१ लाख रुपैयाँ सिटी बसपार्कबाट मात्र गरपालिकाको मासिक आम्दानी हुनेछ ।

भक्तपुरको पिआर कन्स्ट्रक्सनले बसपार्क सञ्चालनको जिम्मा पाएको उपमेयर ढकालले बताईन् । ‘कन्स्ट्रक्सनले मासिक ३१ लाख रुपैयाँ नगरपालिकालाई तिनुपर्ने हुन्छ, बाँकी कतिमा सटरहरु भाडामा दिने जिम्मा उसैको हो ।’ उनले भनिन् ।

कार्यविधि अनुसार बसपार्क भाडामा सञ्चालन गर्नेले ५४ वटा सटरहरुसँगै त्यहाँका ग्यारेज, रेष्टुरेष्ट तथा प्रवेश र पार्किङ शुल्क उठाउन पाउने ढकालले बताईन् ।

अहिलेको बसपार्क पार्किङ स्थल बन्ने ।
सुर्खेतमा सञ्चालन हुँदै आएको पुरानो बसपार्कलाई सिटी बसपार्कका रुपमा निर्माण गर्ने समयसम्म सोही ठाउँको पश्चिमतर्फको केही जग्गालाई अस्थायी बसपार्कका रुपमा प्रयोग गरिएको थियो । सिटी बसपार्कको निर्माणको काम सुरु भएदेखि हालसम्म बसपार्कका रुपमा रहेको उक्त जग्गालाई अब पार्किङ स्थल बनाईने भएको छ ।

उपमेयर ढकालका अनुसार उक्त पार्किङ स्थलका लागि कम्पाउण्ड बनाउन ठेक्का भईसकेको छ । ‘प्रदेशको राजधानी भएपछि अहिलेको सिटी बसपार्कमा मात्र सार्वजनिक सवारी साधन अट्दैनन् होला भनेर त्यो ठाउँलाई पार्किङ स्थल बनाउने निर्णय भएको छ,’ उनले भनिन्, ‘यसका लागि ठेक्का भईसकेको छ, यो आर्थिक बर्षभित्रै त्यो पनि बन्छ ।’

ढकालका अनुसार १ करोड ५० लाख रुपैयाँमा ठेक्का आह्वान गरिएपनि निर्माण कम्पनीले घटेर ९५ लाख रुपैयाँमा सम्झौता गरेको छ । ‘सम्झौता अनुसार यो आर्थिक बर्षभित्र त्यो ठाउँमा पार्किङ स्थल निर्माण भईसक्छ ।’ उनले भनिन् ।