Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

आफैँले बोलाएको सर्वदलीय बैठकमा उल्टै तारो बने प्रधानमन्त्री, नेताहरू भन्छन्–सरकारको कामबाट जनता असन्तुष्ट छन्

काठमाडौं ।

गणतन्त्र र संघीयताविरोधी शक्तिहरू सडक संघर्षमा उत्रिन थालेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठकमा उल्टै नेताहरू उहाँप्रति नै खनिएका छन् । नेताहरूले सरकारको कामबाट जनता सन्तुष्ट हुन नसकेका कारण पछिल्लो गतिविधि भएको धारणा राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको बैठकमा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व–प्रधानमन्त्री तथा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रमुख र प्रतिनिधिहरूको सहभागिता थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आहृवान गर्नुभएको थियो । पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सहृय नहुने उहाँले बताइरहँदा नेताहरू भने सरकारकै कमजोरीका कारण राजावादीहरू सल्बलाउन थालेको भन्दै खनिएका थिए ।

बैठकमा राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देखि संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाको समेत उपस्थिति रहेको थियो । सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला सहभागी हुनुहुन्थ्यो ।

यस्तै, अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पनि सर्वदलीय बैठकमा सहभागी हुनुभएको थियो । बैठकमा सत्तारूढ नेकपाका तर्फबाट प्रधानमन्त्री ओलीसँगै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल सहभागी हुनुहुन्थ्यो ।

यसअघि गत आइतबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छैटौं स्थायी कमिटी बैठकमा पनि देशमा देखिएका गम्भीर समस्याका विषयमा जनआन्दोलन र संविधान निर्माणमा सहभागी दलहरूको सर्वदलीय बैठक आयोजना गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।

यता, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने कोभिड–१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको जानकारी दिनुभएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक तीन घण्टासम्म चलेको थियो ।

संविधानविरोधी विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिमा लागेका समूहको विरोधमा एकजुट हुन दलहरूलाई आग्रह गर्नुभएको छ । बैठकमा उहाँले संविधानविरोधी र हिंसात्मक गतिविधिमा लागेका समूहको विरोधमा एकजुट हुन आग्रह गर्नुभएको हो ।

बैठकमा सहभागी राजनीतिक दलका नेताहरूलाई स्वागत गर्ने क्रममा प्रधानमन्त्री ओलीले आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षाका लागि संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैलाई आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आयोजना गर्नुको कारण प्रष्ट्याउँदै विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को नियन्त्रणका लागि पनि एकजुट हुन नेताहरूलाई आग्रह गर्नुभएको थियो ।

सरकारकै कारण सडकमा असन्तुष्टि : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारकै कारण राजावादीहरूले सडकमा असन्तुष्टि पोखेको बताएको छ । सरकार संविधानको मर्मअनुसार नचल्दा असन्तुष्ट पक्ष सडकमा आएको कांग्रेसको ठहर छ ।

बैठकमा कांग्रेसले सरकारकै कारण राजावादीहरू सडकमा आएका दाबी गरेको हो । सरकार सच्चिएर अघि बढे कतिपय समस्याहरू आफैँ समाधान हुने कांग्रेसको बुझाइ छ ।

सरकारका काम–कारबाही सही रूपमा हुन नसक्नु, सरकारबाटै लोकतन्त्रविरोधी गतिविधि हुनु, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसक्नु र जनभावनाअनुरूप काम गर्न नसक्नु नै जनताको वितृष्णाको कारण भएको दाबी कांग्रेसको छ ।

सर्वदलीय बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको कार्यशैलीकै कारण देशका विभिन्न सहरहरूमा राजावादीहरू आन्दोलनमा उत्रिएका दाबी गर्नुभयो । ‘सरकारले ठीक ढंगबाट काम नगर्दा अहिलेको अवस्था आएको हो । यो सिष्टमको खराबी होइन । तर, सरकार सञ्चालन गर्नेहरू सच्चिन जरुरी छ,’ उहाँले भन्नुभयो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा. महत र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले धारणा राख्नुभएको थियो । बैठकमा वरिष्ठ नेता पौडेलले भ्रष्टाचार सम्बन्धीका आरोपमा प्रधानमन्त्री ओलीले ढाकछोप गर्ने गरेको आरोप लगाउनुभयो ।

‘आफन्त र मन्त्रीहरूका भ्रष्टाचारका आरोपहरूको ढाकछोप आफैं अगाडि सरेर गर्नुभयो । देशमा भ्रष्टाचारको बिगबिगी छ । तर, ठूला भ्रष्टाचार काण्ड चलाउन नसक्ने अवस्थामा अख्तियार पुगेको छ । अदालत पनि प्रभावमा पारिएको जस्तो देखिन्छ,’ पौडेलले भन्नुभयो ।

सडकमा भइरहेका प्रदर्शनतर्फ इंगित गर्दै उहाँले राजा फाले पनि त्यसलाई बिर्सेर राष्ट्रपतिको तामझामले आजको परिस्थिति सिर्जना भएको दाबी गर्नुभयो । नेता पौडेलले प्रधानमन्त्री ओलीलाई सुरुमै भेटेर पाँच वर्ष सरकार चलाउनुस् र पक्षपाति नदेखिनुस् भनेको स्मरण पनि बैठकमा गर्नुभयो ।

उपसभापति निधिले संघीयता कमजोर पार्ने काम सरकारबाटै भइरहेको बताउनुभयो । ‘सरकार हरेक क्षेत्रमा असफल छ । प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न दिइएको छैन । केन्द्रीकृत गर्ने काम सरकारले गरिराखेको छ,’ उहाँले बैठकमा भन्नुभयो ।

ओली नेतृत्वको सरकारले शासन गर्ने अधिकारसमेत गुमाएको निधिको भनाइ थियो । ‘यो सरकारको कामकारबाहीबारे पार्टीले मूल्यांकन गर्दा जनता, संघीयता र संविधान कार्यान्वयनका पक्षमा काम गरेको पाइएन,’ उहाँले भन्नुभयो, ‘संघीयता टिकाउने काम गरेन, उल्टो कमजोर पार्ने काम गरेको छ ।’

बैठकमा कांग्रेस सभापति देउवा भने बीचमै बाहिरिनुभएको थियो । सभापति देउवा सर्वदलीय बैठक चल्दै गर्दा बाहिरिनुको कारणका बारेमा केही नखुलाइए पनि बैठकमा पार्टीका अन्य नेताको सहभागिता भएका कारण उहाँ बाहिरिनुभएको बताइएको छ ।

राजासहितको लोकतन्त्र र हिन्दूराष्ट्र कायम गरौं : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको लोकतन्त्र र हिन्दूराष्ट्र कायम गर्न प्रस्ताव गरेको छ । सर्वदलीय बैठकमा राप्रपाले राजासहितको लोकतन्त्र र हिन्दूराष्ट्र कायम गर्न प्रस्ताव गरेको हो ।

‘संविधान बनाउँदा चौथो ठूलो दल थियो राप्रपा । यही संविधानअन्तर्गत हिन्दूराष्ट्र र राजालाई संसद्को मातहत राखेर अगाडि बढ्ने विकल्प दिएका छौं हामीले,’ बैठकपछि राप्रपाका महामन्त्री दीपक बोहराले भन्नुभयो, ‘सर्वदलीय बैठक राखेर राजासहितको लोकतन्त्र र हिन्दूराष्ट्र कायम गर्ने कुरा प्रस्ताव राख्यौं ।’

तर, बैठकमा सहभागी अन्य दलका नेताहरूले राप्रपाको प्रस्तावलाई नजरअन्दाज गर्नुभएको छ । ‘हामीले प्रस्ताव ग¥यौं । तर, कसैबाट जवाफ आएन,’ महामन्त्री बोहराले भन्नुभयो । उहाँले हिन्दूराष्ट्र र राजसंस्थाको मागसहित सडकमा भइरहेको प्रदर्शनमा राप्रपाको नैतिक समर्थन रहेको समेत बताउनुभयो ।

सरकारको गलत कार्यशैलीका कारण प्रतिगामी सक्रिय : जनमोर्चा

राष्ट्रिय जनमोर्चाले सरकारका गलत कार्यशैलीका कारण प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेका बताएको छ । सर्वदलीय बैठकमा जनमोर्चाले सरकारका गलत कार्यशैलीका कारण प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेका बताएको हो ।

जनमोर्चाका महासचिव जनकराज शर्माले बैठकमा आफूले सरकारका गलत कार्यशैलीका कारण प्रतिगामीलाई सडकमा चल्मलाउने वातावरण तयार भएको धारणा राखेको जानकारी दिनुभयो । झण्डै दुईतिहाइ बहुमत भएर पनि जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेका कारण प्रतिगामीहरू सक्रिय भएको परिस्थितिमा प्रतिगामी खतराविरुद्ध एक ढिक्का हुन दलहरूलाई आग्रह गरिएको उहाँको भनाइ छ ।

बैठकमा जनमोर्चाले कोभिड–१९ को महामारीका बेला सत्तारूढ नेकपाभित्र विवाद चर्किनु दुःखद भएको पनि बताएको छ । कोभिड–१९ नियन्त्रण गर्न सरकार असफल भएको बताउँदै जनमोर्चाले कोभिडको निःशुल्क परीक्षण र उपचारको दायरा बढाउन सरकारलाई सुझाव दिएको छ ।