Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

दाम्पत्य जीवन र रोमाञ्चकता

दिनाँनुदिन मानिस व्यस्त बन्दै गएको छ । व्यस्तताकाबीच उनीहरुको पारिवारिक जीवन भने अशान्ति बन्दै गएको यर्थाथ लुकाएर लुक्दैन । यसर्थ हामीले व्यस्तताकाबीच पनि पारिवारिक सम्बन्ध सुमधुर राख्न समय तथा विचारको व्यवस्थापन जरुरी छ ।

 श्रीमान श्रीमतीले आफ्नो व्यावहारिक विचारधारालाई एक–आपसमा आदान–प्रदान गरेमा सफलता प्राप्त हुने गर्दछ । हरेक सानातिजा नै किन नहुन् सबै प्रकारका निर्णयलाई दुबैको सरसल्लाहले निर्णय गरे एक आपसको सम्बन्धमा पनि सुधार आउनुका साथै गरेको निर्णय पनि गलत नहुन सक्छ । त्यतिमात्र होइन दुई विचको सम्बन्धलाई गाडा बनाउन एक–अर्कामा सद्भाव र सद्व्यवहार गर्न सिक्नुपर्छ ।  जसले गर्दा दाम्पत्य जीवन सफल हुनुका साथै सुख–शान्ति पनि मिल्छ ।

उमेर जसरी बढ्दै जान्छ, जिम्मेवारीको बोझ पनि त्यसरी नै बढ्दै जान्छ । एक–अर्कामा विश्वास गर्ने दम्पतीले जस्तोसुकै बोझ पनि सहजै सामना गर्न सक्छन् जसले गर्दा उनीहरूले कहिल्यै एक्लोपन महसुस हुँदैन । कुनै पनि कामकारबाही गर्दा तेरो–मेरो नभनी आपसी समझदारीमा गर्नु राम्रो हुन्छ । जसले गर्दा श्रीमान–श्रीमतीबीचको सम्बन्ध प्रगाढ बन्नसक्छ ।

दाम्पत्य जीवनमा स्थायित्व वा सुख–समृद्धिका लागि आफ्नो व्यक्तिगत सम्बन्धको पनि ख्याल गर्नुपर्छ अन्यथा, व्यर्थमा अशान्ति, क्रोध एवं विद्रोह उत्पन्न हुन्छ । यसबाट टाठा रहने एकअर्का प्रति सदैव समर्पित तथा उत्तरदायी हुन सक्नुपर्दछ ।

जो मानिस खुसी रहन र हाँस्न जान्छन् उनीहरु अक्सर समस्याहरुबाट लड्ने मामिलामा पनि धेरै सकारात्मक हुन्छन् । अधिकांश महिलाहरुलाई यस्तो पुरुष मन पर्छ जसको सेन्स अफ ह्युमर राम्रो छ, किनभने यस्ता मानिसहरु समस्यामा पनि दुःखी र उदास देखिँदैनन् ।

श्रीमानसँग घुम्न जाँदा पहिरनको पनि ख्याल राख्नुपर्छ र साथमा मोबाइल भए अनावश्यक कल आए लामो कुरा नगर्नु नै राम्रो हो । यी कुरा श्रीमतीमा मात्र लागू नभई श्रीमानमा पनि लागू हुन्छ । श्रीमतीलाई मन नपर्ने कुरा गर्नु पनि हुँदैन ।

धेरैजसो पुरुषहरुमा भान्छा पत्नीको मात्रै जिम्मेवारी हो भन्ने सोचाई हुन्छ । मिलेर काम गर्नाले एकजनालाई मात्रै बोझ पनि पर्दैन र दुईजना कुरा गर्दै काम गर्दा छिटो पनि हुन्छ । अझ श्रीमतीले श्रीमानले काममा सघाएको हेर्न र साथीसँग सेयर गर्न चाहान्छन् । उनीहरुलाई त्यस कुराको अपेक्षा हुन्छ ।

कति नयाँ युवा पिडीले पारिवारिक जिम्मेवारीलाई कसरी बहन गर्ने भन्ने योजना तय गरेका हुँदैनन् । जब त्यस्ता अभिभारा आइलाग्छ, उनीहरु हतास हुन्छन् । हच्किन्छन् । यसले दम्पतीको सम्बन्धमा केही न केही असर पार्छ । हामीले देखेका छौं, जीवनभर नछुट्ने बाचा गरेर बाँधिएका जोडीहरु पनि अलग हुन पुग्छन् । सायद यस्तै कुराको हेक्का नभएरै त्यसो हुन गएको हुन सक्छ ।

हामीले अर्काको कुरालाई पनि सम्मान गर्नुपर्छ । एकअर्काको कामलाई महत्व दिनुपर्छ । त्यस्तै एक अर्काप्रति सम्मान गर्न सक्नु पर्दछ । आफ्ना जीवनसाथीको इच्छा चाहनालाई ख्यालमा राखेर व्यवहार गर्न सक्नुपर्दछ । उनीहरुको मर्मलाई बुझेर दुखसुख साझेदार गर्नुपर्छ ।  नव दाम्पत्य जोडीले केवल सानातिना जिम्मेवारी निर्वाह गर्दैमा बिवाह सफल हुन्छ नी भन्ने पनि छैन । एकअर्कासँग रमाइलो गर्नु, उत्साहित हुनु, रोमाञ्चक क्षणहरु बिताउनुपर्छ । जसले प्रेम बढाउँछ । अझ भनौं एकअर्कालाई कदर तथा सम्मान गर्नु उत्तिकै महत्व हुन्छ । शारीरिक सुखले सम्बन्धमा घनिष्ठता ल्याउने कुरामा दुइमत छैन । तर, हरक्षण यौन सुखकै बारेमा चिन्तन गर्नुपनि उचित होइन । कहिले काहिँ शारीरिक सुखभन्दा इमोशनल अट्यामेन्ट पनि जरुरी हुन्छ । यस कुरालाई मध्यनजर भने राख्नु पर्दछ ।

त्यस्तै आजकल मानिस दैनिक जीवनयापनका लागि व्यस्त हुने गरेका छन् । व्यस्त हुनु राम्रो पनि हो तर, व्यस्त दिनचर्यासँगै एक अर्काको लागि समय निकाल्न पर्छ । जसले गर्दा दाम्पत्य जीवनलाई सुखमय बनाउन सहयोग पुर्याउँछ ।