Loading... आजः १५ बैशाख २०८३, मंगलवार । Tuesday 28th April 2026
ताजा खबर
  

उद्यम विकास सहजकर्तामा नीति विपरीत परीक्षा

सुर्खेत |

सुर्खेतको चौकुने गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकमा उद्यम विकास सहजकर्ता (इडिएफ) को परीक्षा नीति विपरीत भएको पाइएको छ ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका २०७७, स्थानीय तहको करार कर्मचारी छनोट कार्यविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट विभिन्न समयमा गरिएको परिपत्र अनुसार उद्यम विकास सहजकर्ताको सिप परीक्षण तह ३ गरेका, अनुभवी र स्थानीयबासीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भए पनि चौकुने र वीरेन्द्रनगरले नीति विपरीत परीक्षा सञ्चालन गरेर आफूले चाहेका मान्छेलाई पास गराएका छन् ।

यस कारण नीति विपरीत

चौकुने गाउँपालिकामा पाँचौ तहका लागि योग्यता पुगेका स्थानीय उम्मेदवार हुँदाहुँदै पनि दुवै जना चौथो तहको लागि विज्ञापन गरियो । परीक्षाका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकेन्द्र बुढाले विषय विज्ञकारुपमा वीरबल नेपालीलाई भनेर परीक्षाका लागि पाठ्यक्रम समेत तयार गर्न लगाई गाउँपालिकाको वेबसाइटमा प्रकाशित गरियो ।

विज्ञ वीरबल नेपालीले लिखित परीक्षा १०० पूर्णाङ्कको हुने गरी पाठ्यक्रम तयार पारेका थिए ।

परीक्षा सम्बन्धी अधिकांश काम गरिसकेपछि प्रमुख प्रशासकीय अधिकृत र कर्णाली प्रदेशमा मेडपा कार्यक्रम हेरिरहेका दीपक गर्तौलाको मिलेमत्तोमा गर्तौलालाई विषय विज्ञका रुपमा नियुक्त गरियो ।

पछि विषय विज्ञकारुपमा नियुक्त भएका गर्तौलाले वेबसाइटमा प्रकाशित पाठ्यक्रमको बेवास्ता गरी ५० पूर्णाङ्कको परीक्षा लिए ।

गर्तौलाकै मिलेमत्तोमा तह ३ भएका तथा अनुभवी स्थानीय उम्मेदवारको नाम ननिकाली तह २ गरेका चौकुनेका बिना अनुभवका १ जना र आफ्नै साझेदार संस्थामा काम गरेका पञ्चपुरीका व्यक्तिको नाम निकालियो ।

तह ३ भएका तथा अनुभवी नाम ननिस्केका स्थानीय उम्मेदवारले मिलेमताेमा भएको परीक्षाको विरोध गर्दै मुद्दा हाल्ने सम्मको धम्की दिएपछि गर्तौलाले उनलाई वीरेन्द्रनगरमा जागिर फिक्स गरिदिने भन्दै चुप लगाएको स्रोतले बतायो ।

उद्यम विकास सहजकर्ता (इडिएफ) कै मंसिर २८ गते वीरेन्द्रनगरको परीक्षामा चौकुनेका स्थानीय तह ३ भएका र चौकुनेमा असफल भएका उम्मेदवारसहित २ जना महिला र १ जना पुरुषको छोटो सूचीमा नाम निकालियो ।

जम्मा २० जनाले दरखास्त परेकोमा महिलातर्फ १२ जनाको र खुल्लामा ३ जनाको मात्रै छोटो सूची प्रकाशन गरिएकामा पनि गर्तौलाको नियतमाथि नै प्रश्न उठेकोे स्रोतको दाबी छ ।

जब कि तह ३ र १० वर्षभन्दा बढी अनुभव भएका व्यक्तिहरुलाई छोटो सूचीमा नै नाम निकालिएन । तर चौकुनेमा असफल भएका उम्मेदवारको नाम भने निस्कियो ।

यसरी नीति विपरीत गरिएको परीक्षाप्रति उम्मेदवारहरुले विरोध जनाएका छन् ।

विषयविज्ञ दीपक गर्तौलाले स्थानीय तहले आफूलाई विषय विज्ञकारुपमा नियुक्त गरेपछि प्रचलित व्यवस्था अनुसार नै स्थानीय तहसँग समन्वय गरेर परीक्षा लिइएको बताउँदै सम्बन्धी स्थानीय तहलाई नै यसको प्रश्न सोध्नुपर्ने प्रतिक्रिया दिए ।

चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकेन्द्र बुढाले नियम अनुसार नै परीक्षा भएको दाबी गरे ।

‘हामीले परीक्षा एकदमै नीति अनुसार गरेका छौं, विषयको बारेमा जानकारी लिन विभिन्न विषय विज्ञहरुबाट जानकारी  लिएपछि गर्तौला सरलाई  नै नियुक्त गरियो,’ प्रमुख प्रशासकीय अधिकृत बुढाले भने, ‘विज्ञापन खोलिसकेपछि जहाँको मान्छेले पनि परीक्षा दिन पाउँछ, परीक्षामा जसले राम्रो गर्‍यो उसको नाम आयो ।’

यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले पनि कार्यविधि र निर्देशिका अनुसार नै परीक्षा भएको बताए ।

खुला मंच बाट