Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

लोकतन्त्रको रक्षा गरौं

देशमा यतिबेला प्रतिनिधिसभा विघटन भएर संसद विहिन अवस्था चलिरहेको छ । यस्तो राष्ट्रपतिबाट आउँदो वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनसमेत तोकिसकेको अवस्था छ । निर्वाचन आयोग मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा जुटिसकेको अवस्थामा पनि दलहरु भने निर्वाचनको तयारीमा भन्दापनि एकले अर्कोलाई आक्षेप लगाउनमै व्यस्त देखिन्छन् । पूर्ण एकता भइ नसकेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) फुटेपछि नेकपाको आधिकारिक पार्टी कुन समूहको हुने र निर्वाचन चिन्ह के हुने भन्ने अन्यौलता छाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड–माधव समूहले आफ्नै दावी गरिरहेको बेलामा तल्लोस्तरका कार्यकर्ताहरु भने अन्यौलमा छन् । यस्तो अवस्थामा चिनियाँ राजनीतिक टोली समेत नेपालमा आइसकेको छ । एकातिर चिनियाँ टोलीको प्रभाव र अर्कोतिर भारतीय राजनीतिको प्रभाव पर्ने अवस्थाको सिर्जना भयो भने लोकतन्त्र नै खतरामा पर्न सक्छ ।

लोकतन्त्र जोगाउनका लागि पनि राजनीतिक दलहरुले संयमता अपनाउनु जरुरी छ । देशको सर्वोच्च न्यायलयले पनि छिटो भन्दा छिटो संसदसँग सम्बन्धित मुद्दाहरुलाई किनारा लगाएर अघि बढ्नु पर्ने अवस्थामा यो वा त्यो बहानामा अड्किराख्ने हो भने करिब ७० वर्षको संघर्षबाट प्राप्त भएको संविधानदेखि गणतन्त्रात्मक लोकतन्त्र समेत विफल हुनसक्छ । राजतन्त्र दोहोरिन सक्छ । जनताले प्राप्त गरेका उपलब्धहरु गुम्न सक्छन् । त्यसैले सबै पक्षले सहज वातावरणकको सिर्जना नगर्ने हो भने भोली प्रजातन्त्र नै खतरामा पर्न सक्छ ।

स्थिर सरकारको नारासँगै कम्यूनिष्टहरुले एकल निर्णय गर्न नपाएको कारणले देशले विकासमा फड्को मार्न नसकेको, आर्थिक क्रान्ति हुन नसकेको र स्थायी शान्ति समेत स्थापना हुन नसकेको भन्दै हिजोका दिनमा जनताका भोट बटुल्नेहरु फेरि भोली कुन मुद्दा लिएर जनताका सामु जाने भन्ने कुराको हेक्का समेत नराखेर जनताले दिएको मतको अपमान भएको महसुस भएको छ । त्यसैले लोकतन्त्रलाई जोगाइराख्ने हो भने जनताका अगाडि क्षमायाचना गर्नु आवश्यक छ । झण्डै दुईतिहाइको मतलाई व्यवस्थित ढंगले परिचालन गर्न नसकेपछि आजको अवस्थाको सिर्जना भएको हो । यस्तो अवस्थामा नेपाली काँग्रेसले पनि आफ्नो अहम् भूमिका निर्वाह गर्नु जरुरी छ । आफ्नो स्वार्थ पूरा हुन्छ कि भन्ने उद्देश्यकाक साथ रातोलाई कालो र कालोलाई सेतो भन्न थालियो भने त्यसको परिणाम पक्कैपनि सकारात्मक आउने छैन भन्ने विश्लेषण गर्नुपर्दछ । यदि मेरै गोरुका बाह्रै टक्का गर्न थालियो भभने लोकतन्त्र सुरक्षित हुने हो कि होइन भन्ने दोधार छ ।