Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

घ्वाच्च घोच्यो – व्यङ्ग्य

नसकिने भो नसकिकने भो । यो राजनीति गर्नेहरुसँग नसकिने भो । यि त सुल्टो पनि बोल्दा रहेछन् । उल्टो पनि बोल्दा रहेछन् । कुनै समयमा देशमा केपी बा भन्दा अर्को बा नै छैन भन्नेहरु अहिले केपीलाई बा को नभई का को संज्ञा दिइरहेछन् । केपीले निर्वाचन जित्न आफ्नै बा ले जितेको सम्झने बच्चाहरु त्यति बेला झसंग भए जब तिनै केपी बा ले प्रतिनिधि सभालाई भुतुक्कै पारेर मारिदिए र राष्ट्रपतिलाई मलामी पठाइदिए । त्यसको विरोधमा कतै बैठक, कतै आफैलाई ठग कतै अरुलाई ठग हुन थालेको पनि धेरै भइसक्यो । कुन दिन निर्वाचन आयोगले सूर्य चिन्ह पनि काँउरेसीलाई दिन्छ अनि थाह पाउँछन् । अहिले उक पक्षले अर्कोलाई सडकबाट कम्ता गरेका छन् र । हुन त उहिले उहिले बामदेवले पनि रामदेवलाई नै दंग पार्ने गरि ५२ बुँदे अपराध नल्याएका कहाँ हुन् र । फेरि ती त त्यति बेलाका समय परिस्थितिका कारण आएका हुन् । आज त हामी भनेका हामी हौं भन्दै कुममा कुम जोडेका छन् । लु खतम ।


भन्न पनि कसरी सकेका हो । कामै गर्न दिएनन् रे । फेरि माधव र प्रचण्डले काम गर्न पनि दिएनन् क्या । कुरो त साँचो हो नि । खतिवडा जस्तै गरि आफ्ना मान्छेलाई कसैलाई राजदूत, कसैलाई सम्पत्ति अकूत बनाउने योजनामा लागेका बेला त्यस्तो कामै गर्न नदिएपछि चलेछ झोक अझैं मेटिएको छैन कर्सीको भोक त्यसपछि हातमा शक्ति भएपछि उता विद्या भएपछि बुद्धि लगा पासा बुद्धि भन्दे विधालाई अनुरोध गर्न साथ प्रतिनिधि सभा भंग । यता माकुनेदेखि प्रचण्ड, अखण्ड, चुण्ड मुण्ड सबै दंग । ए बा हो । गिरिजा र शेर बहादुर भन्दा पनि यिनी त खतरा देखिए । गिरिजाले झिनो बहुमतको मात्र प्रतिनिधिसभा विघटन गरेका थिए । देउवाका त कुरै नगरौं उनले त राजालाई नै बुझाए । त्यसपछि असक्षमको विल्ला भिरेर जिल्ला फर्केका थिए । तर यिनले झण्डै दुई तिहाइ नजिकको प्रतिनिधि सभा नै भंग गरिदिए । लु खतम ।

काँउरेसीहरु पनि अब चुनाव हुने भयो भनेर दंग नपरे हुन्छ । नेकपा कोही कता कोही कता भएर ए अब कता भन्ने स्थितिमा पुगेको बेलामा यही हो बहुमत ल्याउने समय भन्ने ठानेका हौला । त्यो पनि खासै माखो मर्ला जस्तो छैन । काँउरेसलाई पनि हिजो जनताले बहुमत नदिएका हुन् र । तिमीहरुले पनि आफ्नै स्वार्थ पूरा गर्ने अवसर नमिल्दा संसद भंग पारेर सबैलाई दंग बनाएका होइनौ र ? अहिले प्रतिपक्षमा हुँदा त हुनु नहुनुु गर्दैछौ । सत्तामा पुग्यौ भने त देउवा र पौडेल मात्र होइन हो थापा र सिटौलासम्मले भाग खोज्ने अनि फेरि उही त फुट्ने र फुटाउने खेल खेल्छौ । त्यो सबै थाह छ जनतालाई । तर चुनाव भए पो । धेरै कच कच कच कच गरेपछि ओलीले संसद होइन संकट ल्याउछन् । अनि देख्छौ ओलीको तागत । भोलि राष्ट्रपति शासन लगाएर प्रचण्डको जस्तो कासनमा बाँधेर सबलाई चुपचाप लाग्न बाधय बनाउँछन् अनि ल्याउला बहुमत । लु खतम ।

प्रतिनिधिसभा मात्र होइन प्रदेश सभा पनि डगमगायो रे । कतै अविश्वास दर्ता भइसके । कतै हुनेवाला छन् । कसैले मन्त्री वर्षात गरिसके कोही गर्ने तयारीमा छन् । उता प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्रीले त मन्त्री नियुक्त गरिदिए भने प्रदेशमा मन्त्री फाल्नु र ल्याउनुमा के समस्या । पालो एकै पटक आउँछ लौ जे जे गर्न सकिन्छ गरौं । मन्त्री भएकालाई फालौं । कोही सडकमा टायर बालौं । कसैले आन्दोलन थालौ । के थाह चुनाव भइजाने हो कि कसैले चुल्ठेमुन्द्रे पनि पालौ । भोलि निर्वाचन भयो भने धोका नदिनेलाई होइन मनले जितेकोलाई भोट हालौं । लौ नेताहरु आ आफ्नो मोर्चा सम्हालौ नत्र तिम्रा गणतन्त्र लोकतन्त्र सबै अरु कसैले झोक चलाएर ठोकतन्त्र लगाउँदै लैजान्छ भन्ने अनुमान गर्दा यो हरिलठ्ठकलाई फेरि एक पटक घ्वाच्च घोच्यो ऐया ऽऽऽऽऽऽऽ