Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

आज आठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस

सुर्खेत ।
अंग्रेजी महिनाको जनवरी १ तारिख (पुस १७ गते ) को अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको छ । ‘नेवार भाषामा कांचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ । म्हपुजा र भाईटिका गर्दा लगाउने काँचोधागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ । जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो, ।’


नेपाली टोपी प्रतिष्ठानका अनुसार, ‘ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ । जून एउटा अपभ्रम र मिथ्या मात्रा भएको हो ।’

नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली नागरिक एवं नेपाली मूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको प्रतिष्ठानले बताएको छ ।

यो अभियानलाई थप ब्यापक र ब्यबस्थित बनाउने उद्देश्यले यस अभियानका संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेको पहलमा गैरनाफामुलक ‘नेपाली टोपी प्रतिष्ठान’ नामक संस्था पनि गठन भइसकेको छ । साथै नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा, हाल सम्ममा ३९ देशमा समेत नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भइसकेका छन् ।

नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ–आफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ । विश्वभर छरिएर बसेका सम्पुर्ण नेपाली तथा नेपालीमूलका सबै नागरिकहलाई जनवरी १ तारिखका दिन आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई व्यापकरुपमा स्थापित गराउन सहयोग गर्न विशेष अपिल गरिएको छ ।