Loading... आजः २ बैशाख २०८१, आईतवार । Sunday 14th April 2024

मानवसेवा गर्न वडाअध्यक्षको आग्रह

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोतिप्रसाद कंडेलले मानवसेवा गर्न आग्रह गरेका छन् । मानवसेवा आश्रम कर्णाली प्रदेशलाई सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष कंडेलले यस्तो आग्रह गरेका हुन् । मानवसेवा आश्रमले सहयोगापेक्षी मानवहरुलाई एक ठाउँमा राखेर उनीहरुको लालनपालनदेखि औषधोपचारसम्म गरेकोले नगरपालिकालाई समेत सहयोग पुगेको र मानवसेवा गर्नेहरुले सच्चा धर्म आर्जन गरेको उनको भनाई थियो । उनले भने, ‘कोही कसैले पनि जात, धर्म, लिङ्ग, वर्णको आधारमा नभई मानवसेवाको भावले सहयोग गर्नुपर्दछ ।’


मानव भएर जन्म लिएपनि विभिन्न कारणले सार्थक जीवन बाँच्न नसकेकाहरुलाई सेवा गर्नु नै आफ्नो जीवनलाई सार्थक बनाउनु हो भन्दै वडाअध्यक्षा कंडेलले भने, ‘एक्लैले गरेर केहीपनि सम्भव नहुने भएकाले समाज परिवर्तनका लागि सबैले हातेमालो गर्न आवश्यक छ ।’

वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ को तर्फबाट पटक पटक सहयोग गर्दै आएका वडा अध्यक्ष कंडेलले यतिबेला ५० हजार बराबरका खाद्य सामग्री लगायत खान पकाउन प्रयोग गरिने विभिन्न भाँडाकुडा सहयोग गरेका छन् । वडा नं. ६ का कम्प्यूटर सहायक रेखा केसीका अनुसार ग्याँस चुलो १ थान, ग्याँस सिलिण्डर ३ थान, १०० जनालाई खान पकाउने ठूलो डेक्ची १ थान, फलामको कराई १ थान, स्टिलको बाटा १ थान, फिउसको बाटा १ थान, फलामको पन्यू १ थान, डाडु १ थान, बाल्टिन २ थान, चामल ५ बोरा, डिस्पेन्चर २ वटा र पानीको जार ५ वटा हस्तान्तरण गरिएको छ ।


सडकमा रहेका विभिन्न सहयोगापेक्षी मानवहरुलाई सेवा गर्ने उद्देश्यका साथ संचालनमा रहेको मानवसेवा आश्रमको मेचीकाली अभियानको टोली समेत सुर्खेतमा आइपुगेको छ । मानवसेवा आश्रम कर्णाली प्रदेशले उक्त टोलीलाई सुर्खेतमा स्वागत गरेको छ । मेचीकाली अभियानको टोलीलाई स्वागत गर्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लोकप्रसाद चालिसेले मानवसेवा आश्रमले गरेको कार्यको प्रसंशा गरे । कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलगायतको उपस्थिति रहेको थियो ।