नागरिक आन्दोलनमा भएको प्रहरी दमन निन्दनीय : प्रकाशमान
काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिक आन्दोलनमाथि बालुवाटारमा भएको प्रहरी दमन निन्दनीय भएको बताएका छन् । शान्तिपूर्ण आन्दोलन दबाउन गरिएको हस्तक्षेपले वर्तमान सरकारको तानाशाही चरित्र उदांगिएको नेता सिंहको भनाइ छ ।
लोकतन्त्रमा सबैले आफ्ना मतहरू राख्न पाउने बताउँदै नेता सिंहले फरक मतलाई सुन्न सक्ने चरित्रको विकास गर्न सरकारलाई भनेका छन् । उनले नागरिकमाथि दमन गरेर असंवैधानिक कदमको ढाकछोप गर्ने कुचेष्टाविरूद्ध सबै नागरिकलाई एकताबद्ध हुन र संविधान रक्षाको पक्षमा उभिन आग्रहसमेत गरेका छन् ।
नागरिक मार्चमा पानीको फोहोरा र प्रहरीको लाठी
प्रतिनिधिसभा विघटनको विरोधमा निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गर्दा १२ जना भन्दा धेरै घाइते भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटाबार बाहिर भएको भेलामा सहभागी नागरिकमाथि प्रहरीले प्रहार गरेको लाठी, पानीको फोहोरा हानेको थियो । वृहत् नागरिक आन्दोलनका अनुसार घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पिङ ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार गरिएको छ ।
गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत छन् । सोमबार साँझसम्म जैसीको होस नआएको वृहत नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गरी युग पाठकले जानकारी दिएका छन् ।
प्रधानमन्त्री निवासबाट करीब पाँच सय मिटरवरै भाटभटेनी पीपलबोटमा प्रहरीले ब्यारिकेड राखेर नागरिक आन्दोलनकारीलाई रोकेको थियो । पीपलबोटमा आयोजना गरिएको कोणसभालाई डा. गोविन्द केसी, खगेन्द्र सङ्ग्रौला, मोहना अन्सारी र नारायण वाग्लेले सम्बोधन गरेका थिए । कोणसभापछि शान्तिपूर्ण रुपमा अघि बढेको जुलुसलाई प्रहरीले एक्कासी लाठी र पानीको फोहोरा प्रहार गरेको वृहत नागरिक आन्दोलनका नारायण वाग्लेले । उनले भने, ‘शान्तिपूर्ण रुपमा धर्ना दिन गइरहेको थियौं । हामीमाथि जुन बर्बर दमन भयो, अब तेस्रो जनआन्दोलन सुरु भयो ।’
काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले भने नागरिक समाजको विरोध र्याली सकिने क्रममा बालुवाटारमा निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि रोकिएको अनलाइनखबरलाई बताए । ‘निषेधित क्षेत्र तोड्न खोजेपछि सामान्य बल प्रयोग गरेका हौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले भने ।
वृहत नागरिक आन्दोलनका युग पाठकले शान्तिपूर्ण भेला र मार्चमा भएको प्रहरी दमनले केपी शर्मा ओली नेतृत्वको हताश मनोदशा र दमनकारी चरित्र उजागर गरेको बताएका छन् । ‘नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको थियो । यस सरकारी रवैयाको वृहत् नागरिक आन्दोलन घोर भत्र्सना गर्दछ’ पाठकले विज्ञप्तिमा भनेका छन् । स्रोत : आनलाइन खबर








