कोरोनाको खोप लगाएपछि देखिने लक्षण सामान्य हुन्ः वाग्ले
सुर्खेत ।
कोरोनाको खोप अभियान नेपालमा पनि सुरु भइसकेको छ । खोप लगाएपछि के होला कस्तो होला भन्ने शंका उपशंकाहरु आइरहेका बेला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका कार्यालय प्रमुख चेतनिधी वाग्लेले कोरोनाको खोप लगाएपछि देखिने लक्षणहरु सामान्य भएको बताएका छन् । कोभिड १९ रोग हालसम्मको प्रगती समिक्षा तथा कोभिड खोप सम्बन्धी संचारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा वाग्लेले यस्तो बताएका हुन् । खोप लगाएमा देखिने लक्षणहरुमा सुई लगाएको ठाँउमा दुख्ने, सुन्निने, रातो हुन सक्ने, थकाई र आलस्य महसुस हुने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, माशंपेसी वा जोर्नी दुखाई, वान्ता आउने आदि र फ्लुको जस्तो लक्षण देख्नु जस्तै ज्वरो आउने, घाटि दुख्नु, खोकि लाग्नु आदि लक्षणहरु देखिन सक्छन् ।

वाग्लेका अनुसार सार्क राष्ट्रहरुमा भएको कोभिड १९ को जम्मा रोगीहरु मध्ये नेपालमा निको हुने दर सवैभन्दा धेरै रहेको छ भने मृत्युदर सार्क देशहरु मध्य पाँंचौ स्थानमा रहेको देखिएको छ । सबै भन्दा बढी नयाँ रोगीका संख्या बागमती प्रदेशमा र कम नयाँ रोगीका संख्या प्रदेश नं २ मा क्रमशः २२३४ र ३३२ प्रति लाखमा रहेका छन् । कर्णाली प्रदेशमा ३५८ जना कोरोना रोगीहरु रहेको तथ्याँक छ । कोभिड–१९ को संक्रमण दर तथा रोग लागेपछि मृत्यु हुने दर विशेष गरि ५५ वर्षमाथि उमेर समुहका नागरिकहरुमा धेरै रहेको छ ।
यसैगरि डा. नवराज केसीले भने, त्यस्ता लक्षणहरु देखिएमा आत्तिनु पर्दैन । आफूले पनि उक्त खोप लगाएको र आफूमा पनि त्यस्ता लक्षणहरु देखिएको तर विस्तारै ठीक भएर गएको डा. केसीको भनाई थियो ।
विश्व तथा नेपालमा भएको संक्रमणको संख्या, दर र जटिलता हेर्दा कोभिड रोग रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा संलग्न व्यक्तिहरु, बृद्धबृद्ध, दिर्घ रोग भएका व्यक्तिहरु (मुटु, फोक्सोका रोगी, मधुमेह आदी) रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु (जस्तै ः क्यान्सरका उपचार गराईरहेका व्यक्ति) बढि जोखिममा रहेका छन् ।
वाग्लेका अनुसार यस खोपको पहिलो डोज पछि गम्भीर एलर्जी (एनाफाइलेक्सिस्) भएमा, यस भन्दा अघि अरु कुनै कारणले गम्भिर एलर्जी वा एनाफाइलेक्सिस् भएमा कोरोनाको खोप दिन मिल्दैन तर पहिला कोभिड—१९ संक्रमण भएका व्यक्ति, दिर्घ रोग जस्तै मुटु, मस्तिस्क, फोक्सो, मृगौला रोग र क्यान्सर रोग भएका, रोग प्रतिरक्षा कमी वा एच. आई. भि भएका, रोग प्रतिराधात्मक औषधि सेवन गरिरहेका विरामीहरुलाई भने कोरोनाको खोप दिन सकिन्छ ।
कोरोनाको खोप ३ महिनादेखि ६ महिनाभित्रमा सबै नागरिकलाई लगाइने भएपनि प्राथामिकताका आधारमा सबैभन्दा पहिले स्वास्थ्यकर्मी–सरकारी, गै्रह्रसरकारी तथा निजि क्षेत्रमा कार्यरतहरु, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु, महिला स्वास्थ्य स्वयम् सेविकाहरु, सार्वजनिक फोहोर संकलक सरसफाई कर्मी (पालिकाद्वारा नियुक्त¬), एम्बुलेन्स तथा शव वाहान चालक तथा सहचालकहरु, कोभिड–१९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरु, ७५ वर्ष र माथिका जेष्ठ नागरिकहरु, जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरु, वृद्ध आश्रममा आश्रित नागरिक र हेरालु कर्मचारीहरु रहेको बताइएको छ ।






