घ्वाच्च घोच्यो – व्यङ्ग्य
गरे हजुर गरे कसैले बन्द गरे । कोही उग्र भएर बन्द गरे कोही मन्द भएर बन्द गरे । आखिर जसरी भएपनि बन्द त गरे । कसै गाडि जलाएको कुराले चर्चा पाएको छ । कतै साडी लगाएको कुराले चर्चा पाएको छ । आसे पासे गासेहरु मोटर साइकल चलाएको कुराले चर्चा पाएको छ । उता गरिबको छोराले गैटी बेल्चा चलाएर खाडी बनाएको कुराले भने चर्चा पाउँदैन । चर्चा पाउनका लागि त सरकारी खर्चमा मोटरसाइकलमा तेल हाल्नु पर्छ । रेल ल्याउने कुरा गर्नुपर्छ । कपालमा जेल लगाएर जुल्फी कोर्नुपर्छ । गतिलो होस् नहोस् जनतालाई पररर तालि पिट्ने भाषण गर्नुपर्छ । बलिया बाँङ्गाहरु त कसरी हो कसरी बचि पो हाल्छन् भोका नाङ्गाहरुको दुर्दशा जे सुकै होस् उनीहरु माथि शाषण गर्नुपर्छ । त्यसपछि चाहियो के खोजेको अनुसार पाइहालिन्छ । लु खतम ।

भाँडे भाँडे यिनीहरुले देश भाँडे । यिनका अगाडि त फ्लप भए कलाकार पाँडे । माग्ने बुढाको स्वर नै सुनिन छाड्यो । मनोज त कता हराए कता । कुनै बेला हरिवंशका प्रहसनमा रमाउनेहरु यसो दिमाग चंगा बनाउ भनेर सिनेमा हलमा छिर्ने दिन गएछन् । नेता पनि कलाकार भएपछि यस्तै हुँदोरहेछ । राजनीतिका नाममा आफ्ना आन्द्रा भूँडि खोलेको पत्तो नपाउनेहरु पनि देश चलाउने रे । यिनीहरुले त बयलगाढा चलाए हुने । अमेरिकातिर लागे हुने । त्यो पनि गर्न नसके बन्दुक समाउनु पर्ने जंगलतिरै रमाउनु पर्ने कुम्लाका कुम्ला बोराका बोरा बिटाका बिटा पैसा कमाउनु पर्ने गाउँका सोझा सिधाहरु माथि शासन जमाउनु पर्ने तर खै कसरी पुगे सिंहदरबार । हिजोको याद नै निकाल्दैनन् त बरै । हातमा तरबार लिएर हिड्दा कतिका घरबार बिर्गे कतिका खरबार बिर्गे । लु खतम ।
होइन नेताहरुले त भागबण्डा नपाएर झगडा गरे । जनताले के पाएनन् र झगडा गर्छन । बुझ्नै गारो यो हरिलठ्ठकलाई । स्कुलमा पढ्नै छोडेर आन्दोलनमा । अगाडि बढ्नै छोडे आन्दोलनमा । बा सँग झगडा गरेर आन्दोलनमा । आमासँग लफडा गरेर आन्दोलन । वल्लो घरको र पल्लो घरको पानी बाराबार हुन थालिसक्यिो । देश फेरि अशान्तिले रुन थालिसक्यो । उता म्यानमार के के भइसक्यो यता आन्दोलन मात्रै जारी छ । त्यो पनि पदका लागि । देशको लागि मर्नेहरुको शालिक बनाउन नसक्नेहरु आफ्नो कद बनाउने योजनामा लागिरहेका छन् । कति अचम्म हो यो देशमा । हुन त कहिँ नभएको जात्रा हाँडि गाउँमा हुन्छ भन्थे । आजभोली गाउँमा भन्दा पनि शहरमै रमाइलो छ । लु खतम ।
यस्ती एउटा पक्षले सडकमा उतारेका लाखौ मान्छेलाई अर्को पक्षले १० ÷ १२ हजा देखेपछि आफूले फेरि लाखौ उतार्ने धम्की । तिमीहरुको लाखौ उतार्ने योजना ल खा त भन्द अघिल्लो दिन आन्दोलन । पूर्वका पूर्वमै रोकिए । पश्चिमका पश्चिमै रोकिए । उत्तरका उत्तरमै रोकिए । दक्षिणका दक्षिणमै रोकिए । नसकिने भो हजुर नसकिने भो । सबै भन्दा ठूलो नैतिकवान मान्छे नेता हुनु पर्नेमा नैतिकता नै नभएकाहरु नेता भएपछि यस्तै हुँदोरहेछ । कठै ! मेरो देशले कहिले शान्तिको सास फेर्ने होला भन्दै यो माघे जाडोमा एक जना बाजेले सुरुप सुरुप चियाको चुस्की लिदै देशकै चिन्ता गरेको देख्दा यो हरिलठ्ठकलाई फेरि एक पटक घ्वाच्च घोच्यो ऐया ऽऽऽऽऽऽऽ






