Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

जनताले पनि सोच्ने कि ?

पछिल्लो समयमा नेकपा भित्रको राजनीतिक आरोप प्रत्यारोप निकै पेचिलो बन्दै गइरहेको छ । यतिबेला राजनीतिक नेता तथा कार्यकर्तादेखि सर्वसाधारण जनताका मुखमा पनि केपीले प्रचण्डलाई र प्रचण्डले केपीलाई गरिएका व्यंङ्ग्यदेखि गालीगलौजसम्मका शब्दहरु झुण्डिरहेका छन् । कम्यूनिष्टको सिद्धान्तलाई समाजमा लागु गर्दै समाजवादको बाटोमा अग्रसर हुने समयमा पार्टी भित्रको आन्तरिक विवादका कारणले एकले गरेका कार्यहरु बारे अर्काले गर्ने टिकाटिप्पणीले गर्दा यतिबेला नेता तथा कार्यकर्ताहरुमा समेत नैराश्यता छाएको छ । एउटै लक्ष्य लिएपनि फरक फरक बाटोबाट अघि बढिरहेका दुई कम्यूनिष्टहरु एक घोषणा गर्दै गर्दा नेता तथा कार्यकर्ता र आम मतदाताहरुमा जुन उत्साह र जोश जाँगर थियो त्यो यतिबेला पुरै निराशामा परिणत भएको छ ।

के कारणले पार्टी भित्र आन्तरिक विवादको उत्पन्न भयो । वास्तवमा पार्टीमा विवाद उत्पन्नको विषय के हो । त्यसलाई समाधान गर्नका लागि नेताहरु किन समक्ष भएनन् भन्ने कुराालाई निकै गम्भीरताका साथ विश्लेषण गर्न जरुरी छ । कसैलाई दोषारोपण गरेकै कारण दुबै पक्षका नेताहरुले उन्मुत्ति पाउने सम्भावना निकै कम छ । नेताहरुले उसले यो गर्न दिएन र मैले यो गर्न सकिन भन्ने भन्दा पनि वास्तविकता जनताका सामु ल्याउन जरुरी छ । अन्यथा अब हुने निर्वाचनमा दुबै पक्षले जनमत पाउन सक्ने अवस्था देखिदैन ।

जनतालाई राजनीतिक गुमराहमा राखेर होइन । आफूले गरेका कमीकमजोरीहरुको बारेमा जनता समक्ष माफी माग्नु पर्ने अवस्था आइसकेको छ । यदि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरेन भने सरकारले तोकेको समयमा निर्वाचन गर्नु पर्ने बाध्यात्मक परिस्थिति एकातिर छ भने अर्कोतिर संसद पुनस्र्थापना भएको खण्डमा फेरि भागबण्डा र आन्तरिक शक्तिको खिचातानीमा नेताहरुका दिन चर्याहरु अगाडि बढ्ने छन् । जसले गर्दा अबको राजनीतिक स्थितिले केही खतराका संकेतहरु ल्याउन सक्ने देखिन्छ । यस्तो अवस्थामा हिजोका दिनमा विभिन्न आन्दोलनबाट भएका उपलब्धीहरुको रक्षा गर्नका लागि जनता स्वयम् पनि जागरुक हुनु जरुरी छ । आफूले आस्था र विचार राख्ने तर्फका नेताहरुको पक्षमा अन्धभक्त भएर बोल्ने हो भने वर्तमान संविधानको समेत रक्षा हुन्छ कि हुँदैन भन्ने प्रश्न उठिरहेको छ । त्यसैले आफ्ना पार्टीका नेताहरुलाई आफ्ना गुटका नेताहरुलाई सही बाटोमा अगाडि बढ्नका लागि उनीहरुको सही आलोचना र खबरदारी गर्नु जरुरी छ । जसका लागि जनताले पनि बेलैमा सोच्न आवश्यक छ । आजको सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित सम्पादकीय ।